close

आईफोनलाई यसरी बनाउनुहोस् कम्प्युटरको वायरलेस माउस

टेकपाना टेकपाना

माघ १३, २०८० १२:२

आईफोनलाई यसरी बनाउनुहोस् कम्प्युटरको वायरलेस माउस

काठमाडौं । यदि तपाईंसँग ल्यापटप छ भने पक्कै पनि ट्रयाकप्याडको साटो माउस प्रयोग गर्न रुचाउनुहुन्छ होला । यदि तपाईं यात्राका क्रममा हुनु हुन्छ भने माउस प्याक गर्न बोझिलो महसुस हुन्छ र यत्तिकै छोडेर जान बेस लाग्छ ।

तर यदि तपाईंसँग आईफोन छ भने त्यसलाई सहजै वायरलेस माउसको रूपमा प्रयोग गर्न पनि सक्नुहुन्छ । तपाईंले यस्ता केही एपहरू फेला पार्न सक्नुहुन्छ, जसको सहयोगमा तपाईं म्याक, विन्डोज अथवा लिनक्स कम्प्युटरमा आईफोनलाई वायरलेस माउसको रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

आज हामी तपाईंलाई आईफोनलाई कसरी वायरलेस माउसको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा बताउँदै छौं । 

१. आईफोनलाई वायरलेस माउसको रूपमा प्रयोग गर्न एप इन्स्टल गर्नुहोस्

आफ्नो आईफोनलाई कम्प्युटरको वायरलेस माउस बनाउन सबैभन्दा पहिला तपाईंले एउटा उपयुक्त एप इन्स्टल गर्नुपर्ने हुन्छ । यस प्रकारको विकल्प दिने केही एपहरू तपाईंले फेला पार्न सक्नुहुन्छ ।

यस प्रकारको कुनै एउटा एप आफ्नो आईफोन र कम्प्युटरमा इन्स्टल गर्नुपर्ने हुन्छ । साथै यसका लागि तपाईंको कम्प्युटर र आईफोन एउटै वाईफाई नेटवर्कमा कनेक्ट भएको हुनु पर्छ ।

यहाँ पहिलो चरणमा यस्ता केही उत्कृष्ट एपहरूको कुरा गरौं, जसले आईफोनलाई माउसको रूपमा प्रयोग गर्न सकिने सुविधा दिने गरेका छन् ।

रिमोट माउस

तपाईंको आईफोनलाई वायरलेस माउस बनाउने सन्दर्भमा रिमोट माउस नामक एपले निकै राम्रो काम गर्छ । यति मात्र होइन, यसले तपाईंको आईफोनलाई ट्रयाकप्याडमा परिवर्तन गरिदिन पनि सक्छ ।

जसमा तपाईंले स्क्रोल, जुम लगायतका काम गर्न मल्टी-टच जेस्चर (म्याकको ट्रयाकप्याड जेस्चर जस्तै) को सुविधा पनि पाउन सक्नुहुन्छ । त्यसैले यस्तो एप म्याकका लागि आईफोनलाई वायरलेस माउसको रूपमा प्रयोग गर्न बढी रुचाउने गरिन्छ अर्थात् यो म्याक प्रयोगकर्ताका लागि बढी सहज हुन्छ ।

यसले तपाईंलाई कम्प्युटरमा आफ्नो आईफोन किबोर्ड प्रयोग गर्ने सुविधा पनि दिन्छ । यसमा तपाईंले फंसन कि र नम्बर प्याड समेत पाउन सक्नुहुन्छ, जुन तपाईंको कम्प्युटरको किबोर्डमा नहुन सक्छन् ।

यस अतिरिक्त रिमोट माउसमा कन्ट्रोल प्यानलको विशेषता पनि रहेको छ, जसले तपाईंलाई तुरुन्तै कम्प्युटरमा एप खोल्ने र ब्राउजरमा बुकमार्क गर्ने जस्ता कामहरू सहज बनाउँछ । यसका साथै यो एपले तपाईंलाई आईफोनको माइक्रोफोन प्रयोग गरी कम्प्युटरमा शब्द टाइप गर्ने जस्तो सुविधा पनि दिन्छ ।

मिडिया प्लेयर र रिमोट भोलुम कन्ट्रोल जस्ता फंसन किका लागि भने तपाईंलाई सब्सक्रिप्सन नै आवश्यक पर्छ, अन्यथा रिमोट माउस प्रयोगका लागि निःशुल्क छ र यो सेटअप गर्न पनि निकै सरल छ ।

यो एप तपाईंले आईफोनका साथै एन्ड्रोइडमा समेत पाउन सक्नुहुन्छ, जुन म्याक, विन्डोज र लिनक्स कम्प्युटरमा राम्रोसँग काम गर्छ । यस हिसाबले यसलाई युनिभर्सल एप समेत मान्न सकिन्छ । 

रिमोट माउस एप डाउनलोड गर्नका लागिः आईओएस एन्ड्रोइडम्याकओएसविन्डोजलिनक्स

मोबाइल माउस रिमोट

रिमोट माउस जस्तै मोबाइल माउस रिमोटले तपाईंको कम्प्युटरका लागि आईफोनलाई मल्टिटच ट्रयाकप्याडका साथै वायरलेस माउसको रूपमा प्रयोग गर्ने सुविधा दिन्छ । यसले क्विक एक्सनका लागि प्रोग्रामेबल हटकिसँगै तपाईंको आईफोनको किबोर्डलाई कम्प्युटरको किबोर्डको रूपमा प्रयोग गर्न समेत दिन्छ ।

यति मात्र नभएर यो एपले स्क्रिन टचका साथै कम्प्युटर कन्ट्रोल गर्न आईफोनको जाइरोस्कोपलाई उपयोग गर्ने सुविधा पनि दिन्छ । मोबाइल माउस रिमोटले छिटो छरितो रूपमा एप्लिकेसनहरू खोल्न, बन्द गर्न र एक अर्काबीच ओहोरदोहोर गर्न पनि दिन्छ ।

यसको सहयोगमा तपाईं आवश्यकता अनुसार कम्प्युटरका फाइलमा रिमोट्ली पुग्न पनि सक्नुहुन्छ । यो एप आईफोन, आईप्याड, म्याक र विन्डोजमा काम गर्छ ।

आईफ्नो आईफोनलाई म्याकको वायरलेस माउसको रूपमा प्रयोग गर्न चाहने प्रयोगकर्ताले यहाँनिर विचार गर्नुपर्ने कुरा के छ भने यसले हाललाई एप्पल सिलिकन म्याकमा मात्रै काम गर्छ । यो एप प्रयोग गर्न भने तपाईंले निश्चित शुल्क तिरेर सब्सक्रिप्सन लिनु पर्ने हुन्छ ।

२. आईफोन र कम्प्युटरमा रहेको वायरलेस माउस एपलाई जोड्नु होस्

एप छनोट गरिसकेपछि आईफोन र कम्प्युटरमा यसले काम गर्नका लागि केही चरणहरू पूरा गर्नुपर्ने हुन्छ । सुरुमा आफ्नो आईफोनमा एप इन्स्टल गर्न एप स्टोरमा जानुहोस् र चाहेको एप सर्च गर्नुहोस् ।

त्यहाँ तपाईंले रिमोट माउस र रिमोट मोबाइल माउस दुवै पाउन सक्नु हुनेछ, यद्यपि तपाईंले यसका लागि अन्य एप समेत फेला पार्न सक्नु हुनेछ । एपका लागि गेट अथवा बाई बटनमा ट्याप गर्नुहोस् र इन्स्टल निश्चित गर्नका लागि आफ्नो पासकोड अथवा फेसआईडी प्रयोग गर्न स्क्रिनमा दिइएको निर्देशन पच्छ्याउनु होस् ।

डाउनलोड भइसकेपछि एप खोल्नुहोस् । अब आफ्नो कम्प्युटरमा समेत तपाईंले सोही एपको सर्भर डाउनलोड गर्नुपर्ने हुन्छ । यो चाहिं तपाईंले सामान्यतया एपको वेबसाइटबाट गर्नुपर्ने हुन्छ, तर यदि तपाईं आफ्नो आईफोनलाई म्याकको माउसको रूपमा प्रयोग गर्न खोज्दै हुनु हुन्छ भने म्याक एप स्टोरमा जान पनि सक्नुहुन्छ ।

यदि तपाईं एपको वेबसाइटमा जानु भयो भने त्यहाँ आफ्नो कम्प्युटरको अपरेटिङ सिस्टम छनोट गर्नुहोस् र इन्स्टलेसन फाइल डाउनलोड गर्नुहोस् । अधिकांश म्याकका लागि तपाईंले डीएमजी फाइल पाउनु हुनेछ । विन्डोजका ईएक्सई फाइल र र लिनक्सका लागि टीएआर फाइल हुन सक्छ ।

अब डाउनलोड भएको फाइलमा डबल क्लिक गर्नुहोस् र आफ्नो कम्प्युटरमा सर्भर प्राप्त गर्न इन्स्टलरलाई रन गर्नुहोस् । तर यदि तपाईं म्याक एप स्टोरमार्फत जानु भयो भने गेट बटनमा क्लिक गर्नुहोस् र म्याकमा सर्भर प्राप्त गर्न इन्स्टल बटन दबाउनु होस् ।

यति गरिसकेपछि तपाईंले आफ्नो आईफोन र कम्प्युटर एउटै वाईफाई नेटवर्कमा रहेको कुरा निश्चित गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो आईफोन र कम्प्युटरमा रहेको एप खोल्नुहोस् ।

तपाईंको आईफोन र कम्प्युटरले यहाँनिर ब्लुटुथ एक्सेसका साथै कनेक्ट हुने लोकल डिभाइस सर्च गर्ने अनुमति माग्न सक्छ । दुवैमा ओके बटन थिच्नुहोस्, यसरी इनेबल नगरी एपले काम गर्ने छैन ।

म्याकमा तपाईंले एप प्रयोग गर्न सेक्युरिटी पर्मिसन समेत अन गर्नुपर्ने हुन सक्छ । अब निम्न पर्मिसन अन गर्नुहोस्;

१. सिस्टम प्रिफरेन्सेस हुँदै सेक्युरिटी एन्ड प्राइभेसीमा जानुहोस् । त्यहाँ रहेको प्राइभेसी ट्याबमा क्लिक गर्नुहोस् र एक्सेसिबिलिटी मेनु छनोट गर्नुहोस् ।

२. लक आइकनमा क्लिक गर्नुहोस् र सेटिङ परिवर्तन गर्नका लागि आफ्नो पासवर्ड अथवा टच आईडी राख्नुहोस् ।

३. माउस एपलाई स्क्रोल गर्नुहोस् र सँगै रहेको बक्समा चेक गरी उक्त एपलाई आफ्नो कम्प्युटर नियन्त्रण गर्ने अनुमति दिनुहोस् । त्यसपछि सेटिङको परिवर्तन सेभ गर्न लकमा पुनः क्लिक गर्नुहोस् ।

यो सबै गरिसकेपछि तपाईंले आफ्नो आईफोन एपमा कुन कम्प्युटर अथवा डिभाइसमा माउसको रूपमा कनेक्ट गर्ने भन्ने विकल्प देख्नु हुनेछ । सर्भर इन्स्टल गरेको कम्प्युटर छान्नुहोस् ।

यति गरिसकेपछि अब तपाईं यहाँबाट आफ्नो आईफोनको स्क्रिनलाई माउसको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । यद्यपि एपअनुसार वायरलेस माउसका लागि दिइएका वास्तविक निर्देशन यहाँ उल्लेख गरिएभन्दा केही फरक हुन सक्छन् ।

तर तपाईंले सामान्यतया सजिलै सेटअप गर्न सक्नु हुनेछ । वायरलेस माउसको रूपमा प्रयोग गरिसकेपछि त्यसलाई बन्द गर्न आफ्नो आईफोन र कम्प्युटरमा रहेको एप बन्द गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: माघ १३, २०८० १२:२