close

गायिका मेनुका पौडेलले पाइन् एआई जडित स्मार्ट चस्मा, केके छन् विशेषता ?

टेकपाना टेकपाना

माघ १५, २०८० ९:३०

गायिका मेनुका पौडेलले पाइन् एआई जडित स्मार्ट चस्मा,  केके छन् विशेषता ?

 

काठमाडौँ । गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा उपहार पाएकी छन् । इण्डियन आइडलकी प्रतियोगी मेनुकालाई भारतीय नेत्र चिकित्सकले स्मार्ट भिजन ग्लास उपलब्ध गराएका हुन् ।

‘गिफ्ट अफ साइट’का रूपमा मेनुकालाई उक्त चस्मा डाक्टर नितिन देधियाले एआई जडित विशेष चस्मा (Smart Vision Sensor Glasses powered by Artificial Intelligence (AI).)प्रदान गरेका छन् ।

डाक्टरका अनुसार अब मेनुकालाई रियाज गर्न, पढ्न, हिँडेर कतै जान, नजिक भएको मान्छे वा वस्तु पहिचान गर्न चस्मा लगाए पुग्छ । स्टेजमा डाक्टरले उपलब्धद गराएको चस्माको एउटा फ्रेममा क्यामेरा जडान गरिएको छ ।

आइतवार प्रसारित इण्डियन आइडलको एपिसोडमा मेनुकाले सो चस्मा लगाएर डेमो प्रदर्शन गरेकी थिइन् । क्यामेराले फोटो खिच्न सक्छ, र त्यसमा भएको सेन्सरले एआई प्रयोग गरी उक्त तस्वीरबारे विस्तृत जानकारी दिन्छ ।

यसले गुगल वा अन्य प्लेटफर्ममार्फत सटीक सूचना उपलब्ध गराउने डाक्टरको दाबी छ । डेमोमा चस्माले सटीक रूपमा आइडलका जज पहिचान गरेर उनीहरूको नाम र उनीहरू कस्तो अवस्थामा छन् भन्ने कुरा वास्तविक समयमा बताइएकाे थियाे ।

चस्माको साइडमा ब्रेल लिपीका केही अक्षर पनि राखिएका छन् । जसलाई थिचेर मेनुकाले अन्य काम पनि गर्न सक्छिन् । यो कुन कम्पनीको हो र यसका अन्य विशेषताहरू के के छन् भन्नेबारे खुलाइएको छैन ।

सामान्यतः एआईद्वारा सञ्चालित चस्मामा अन्य विभिन्न सेन्सरहरू समावेश गरिएको हुन्छ । जसले गर्दा चस्माले सटीक लोकेसन, कुनै खतरा देखा परे अलर्ट गराउने गर्छन् ।

मेनुकाले आफूले पाएको यस्तै उपहार भविष्यमा आफूलाई जस्तै आवश्यक परेका व्यक्तिलाई उपलब्ध गराउने प्रतिवद्धता बताएकी छन् । यसअघि डाक्टर नितिनले मेनुकाको आँखा परीक्षण गर्दा उनको अप्टिक नर्भ सुख्खा भएकाले उनको दृष्टि फिर्ता गर्न नसकिने बताएका थिए ।

पछिल्लो अध्यावधिक: माघ १५, २०८० ९:३०