close

पैसा तिरेर युट्युब हेर्ने प्रयोगकर्ता १० करोड नाघे

टेकपाना टेकपाना

माघ १९, २०८० १३:२७

पैसा तिरेर युट्युब हेर्ने प्रयोगकर्ता १० करोड नाघे

काठमाडौं । शुल्क तिरेर युट्युबको भिडिओ हेर्ने तथा म्युजिक सुन्ने प्रयोगकर्ताको सङ्ख्या १० करोड नाघेको छ । विहीवार एक ब्लग राख्दै कम्पनीले १० करोड प्रिमियम प्रयोगकर्ताको आँकडा पार भएको जानकारी दिएको हो ।

विश्वका १०० ओटा देशहरूमा युट्युबको यो सेवा उपलब्ध छ । कम्पनीले दुई तरिकाले प्रिमियम सेवा दिंदै आएको छ । जसमा एउटा युट्युब प्रिमियम र अर्को युट्युब म्युजिक प्रिमियम रहेका छन् । युट्युब म्युजिक कम्पनीको म्युजिक स्ट्रिमिङ प्लेटफर्म हो । यसको मोडेल स्पोटीफाई जस्तै छ ।

हाल कम्पनीले पार गरेको आँकडामा ट्रायलका रूपमा प्रयोग गर्ने प्रयोगकर्ता पनि समावेश छन् । ट्रायल सेवा लिंदा शुल्क तिर्नु पर्दैन । त्यसैले शुल्क तिरेरै यो सेवा लिने प्रयोगकर्ताको सङ्ख्या भने कम भएको बताइएको छ । 

युट्युब सब्क्रिप्सन गुगलका लागि आम्दानी गर्ने प्रमुख माध्यममध्येको एक हो । कम्पनीका अनुसार २०२३ मा कम्पनीले यस (युट्युब टीभी र गुगल वन) बाट १५ अर्ब डलर आम्दानी गरेको थियो । कम्पनीले युट्युबका लागि पेड एड फ्रि सब्स्क्रिप्सन सेवा (शुल्क तिर्ने प्रयोगकर्ताले विज्ञापन हेर्नु नपर्ने सुविधा) ल्याएको झन्डै नौ वर्ष भएको छ ।

त्यसबेला ‘युट्युब रेड’ नामबाट ल्याइएको उक्त सेवालाई युट्युब प्रिमियम र युट्युब म्युजिक प्रिमियम नाम दिइएको थियो । युट्युब म्युजिकको सब्स्क्रिप्सको शुल्क मासिक १०.९९ डलर (करिब १४५५ रुपैयाँ) र युट्युब प्रिमियमको शुल्क मासिक १३.९९ डलर (करिब १८५२ रुपैयाँ) कायम गरिएको छ । यो सुविधा लिएपछि प्रयोगकर्ताले विज्ञापन रहित भिडियो हेर्न र म्युजिक सुन्न सक्छन् ।

त्यस्तै ब्याकग्राउन्डमा भिडिओ तथा म्युजिक प्ले गर्ने, हाइ क्वालिटीको भिडिओ हेर्न पाउने र अफलाइनमा हाइ क्वालिटीमा भिडिओ डाउनलोड गर्न सकिन्छ । युट्युब म्युजिक प्रिमियम र युट्युब प्रिमियममा अधिकांश उही फिचरहरू दिइएको छ । त्यसैले स्पोटिफाई र एप्पल म्युजिकको तुलनामा कति प्रयोगकर्ताले युट्युब म्युजिक प्रयोग गर्छन् भन्न सकिने अवस्था छैन ।

युट्युब म्युजिक प्रिमियम र युट्युब प्रिमियम सेवा लिइरहेका प्रयोगकर्ताको तुलनामा नेटफ्लिक्स (२६ करोड आठ लाख) र स्पोटिफाई (२२ करोड ६० लाख) को सेवा लिने प्रयोगकर्ताको सङ्ख्या बढी छ । प्रिमियम स्ट्रिमिङ सेवाको भिडमा युट्युब प्रिमियमलाई प्रतिद्वन्द्वीका रूपमा देखा परेको छैन । 

अहिलेसम्म पनि युट्युबको आम्दानीको मुख्य स्रोत सब्स्क्रिप्सन नभई विज्ञापन हो । ट्रायलका रूपमा यी सेवा प्रयोग गर्दै आएका प्रयोगकर्ताले शुल्क तिरेको खण्डमा भने युट्युबले राम्रै आम्दानी गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: माघ १९, २०८० १३:२७