close

विमानमा सुरक्षाका लागि फोन एयरप्लेन मोडमा राख्नु भ्रम मात्रै !

टेकपाना टेकपाना

फागुन १६, २०८० १८:४८

विमानमा सुरक्षाका लागि फोन एयरप्लेन मोडमा राख्नु भ्रम मात्रै !

काठमाडौं । जहाज चढ्दा आफ्नो फोनलाई एयरप्लेन मोडमा राख्नु तपाईँहामीका लागि सामान्य ज्ञानजस्तै भइसकेको छ । फोनको सिग्नलले जहाजको नेभिगेसन सिस्टममा अवरोध गर्ने र दुर्घटना निम्ति सक्ने भन्दै यात्रुलाई फोन एयरप्लेन मोडमा राख्न अनुरोध गरिन्छ । तर यो तर्क पूर्णतः गलत भएको विभिन्न अध्ययनले पुष्टि गरेका छन् ।

एयरप्लेन मोडबारेको भ्रम मोबाइल प्रविधिको प्रारम्भिक दिनबाटै सुरु भएको हो । त्यतिबेला सेल फोन सिग्नल र हवाइजहाज इलेक्ट्रोनिक्सबीच अवरोध हुने सम्भावनालाई लिएर चिन्ता गरिन्थ्यो । तर व्यापक अनुसन्धान र अनुभवले यी डरलाई हटाइदिएका छन् । यस्ता अध्ययनले एयरप्लेन मोडमा नराखिएका फोनले हवाईजहाजको सुरक्षामा कुनै अवरोध नपुर्‍याउने दाबी गर्छन् ।​ 

यात्रुले बोकेको विद्युतीय उपकरणले उत्सर्जन गर्ने सिग्नलले विमानका उपकरणहरूलाई बाधा पुर्‍याउने र उडानको समयमा सुरक्षा जोखिम खडा गर्ने प्रमाण अहिलेसम्म फेला परेको छैन । यसर्थ पछिल्ला वर्षहरूमा युरोपसहित विभिन्न क्षेत्रमा नियामक निकायहरूले उडानमा विद्युतीय उपकरण प्रयोगमा लगाएका प्रतिबन्ध हटाएका छन् ।

सन् २०२२ युरोपियन युनियन (ईयू)ले उडानहरूमा फोनकल र डेटा प्रयोगलाई अनुमति दिने घोषणा गरेको थियो । सँगै, ईयूभित्रका राष्ट्रलाई विमानमा फाइभजी फ्रिक्वेन्सी ब्यान्ड उपलब्ध गराउन निर्देशन दिइएको थियो ।

यसपछि यात्रुले उडिरहेको जहाजमै फोनकल र इन्टरनेट सेवा लिनसक्ने छन् । कतिपय विमान कम्पनीले उडानका क्रममा इन्टरनेट सेवाको परीक्षण गरिरहेका छन् । तर, अन्य अवस्थामा भन्दा विमानमा इन्टरनेट सुस्त गतिमा चल्ने बताइएको छ ।

फोनको सिग्नल विमानको सञ्चार प्रणालीमा नपुग्ने सुनिश्चित गर्न विमानमा ट्राफिक कन्ट्रोलर 'पिको-सेल' (pico-cell) अनिवार्य राख्न समेत ईयूले निर्देशन दिएको छ । योसँगै इयूले इन(फ्लाइट फोनकल र डेटा प्रयोगलाई सफलतापूर्वक कार्यान्वयन गरेको छ ।

ईयूको कदमले जहाजहरूमा इलेक्ट्रोनिक उपकरणहरूबाट उत्पन्न हुने जोखिमबारेको अन्धविश्वास हटाइदिएको छ । साथै अप्रमाणित डरहरूमा आधारित पुराना नियमहरूबाट मानिसहरूलाई टाढा राख्न खोजेको छ ।

त्यस्तै अमेरिकास्थित फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले सन् २०१२ मा गरेको एक अध्ययनले मोबाइल फोन प्रयोगबाट विमानमा आउने समस्या शून्य भएको फेला पारेको थियो । अन्य अध्ययनहरूले पनि समस्या निम्तिने प्रमाणहरू देखाउन सकेका छैनन् ।

विमान कम्पनीहरूले फोन एयरप्लेन मोडमा राख्न लगाउनुको वास्तविक कारण भने 'एयर रेज' (Air Rage) लाई मान्छन् ।​ जहाजमा यात्रुहरू विभिन्न कारणले क्रोधित हुनसक्ने परिस्थितिलाई मध्यनजर गर्दै एयरलाइन्सहरूले एयरप्लेन मोडमा फोन राख्न अनुरोध गरेका हुन् ।

उडानका क्रममा हुने फोनकलले क्याबिन-यात्रुहरूबीच द्वन्द्व र अवरोधहरू निम्तिन सक्ने तथा अन्यलाई रिस उठाउन सक्ने उनीहरूकाे मत छ । तर फोनकललाई अनुमति दिँदा त्यस्ता घटना बढ्छन् भन्ने तर्कको कुनै ठोस प्रमाण भने छैन । 

यसकारण नियामकहरूले पनि यही कुरालाई ख्याल गर्दै विमानमा फोनकल र डेटा प्रयोगमा प्रतिबन्ध लगाउने गरेका छन् । तर एयरप्लेन मोड अन राख्ने कुरा विमान सुरक्षाका हिसाबले नभएकाे, यात्रु शिष्टाचारको बारेमा बढी केन्द्रित रहेको स्पष्ट हुन जरुरी छ । बरु उडानका क्रममा सशुल्क फोनकल तथा इन्टरनेटको सुविधा दिँदा एयरलाइन्स कम्पनीका लागि थप आम्दानीको बाटो खुल्न सक्छ । 

उडानका क्रममा चालक दलका निर्देशनहरू पालना गर्नु तपाईँको कर्तव्य हो । तैपनि सुरक्षाको नाममा एयरप्लेन मोडबारे फैलिएको भ्रमबारे भने तपाईँ सचेत भएको राम्रो हुन्छ ।

आधुनिक विमानहरू उन्नत सञ्चार र नेभिगेसन प्रणालीहरूले सुसज्जित छन् । प्रविधिमा भएको प्रगति र केही देशहरूमा विमानभित्रै फोन प्रयोगको सफल कार्यान्वयनका कारण लामो समयदेखि चलिरहेको गलत धारणाबाट बाहिर निस्कने समय आएको छ । यसर्थ अब तपाईं विमानमा चढ्दा डरको कारण नभई शिष्टाचार तथा विमानभित्रको अनुशासन पालना गर्न मात्रै आफ्नो फोनलाई एयरप्लेन मोडमा राख्नेबारे विचार गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: फागुन १६, २०८० १९:१८