close

आईटी पढ्न विदेश जाने कि नेपालमै बस्ने ?

सञ्जीवन राई सञ्जीवन राई

बैशाख ९, २०८१ १४:३

आईटी पढ्न विदेश जाने कि नेपालमै बस्ने ?

 

अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रेसिडेन्सियल ग्राजुएट कलेज, काठमाडौंले स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापनसँगै आईटी कोर्स सञ्चालन गरिरहेको छ । डा. सुरेश पोखरेल सोही कलेजका आईटी प्रोग्राम प्रमुख हुन् । उनी लामो समय विदेशमा अध्ययन गरेर नेपाल फर्किएका हुन् । उनीसँग सरकारी जागिरदेखि विभिन्न क्षेत्रमा आईटीसँग सम्बन्धित काम गरेको अनुभव छ । हाल उनी आफ्नै कम्पनी 'फासेट टेक्नोलोजी प्रालि'को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा समेत छन् । उनै डा. पोखरेलसँग टेकपानाका लागि सञ्जीवन राईले आईटी पढ्न नेपाली विद्यार्थी विदेश जानुको कारण, विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज र स्थानीय विश्वविद्यालय अन्तर्गत आईटी पढ्दाका भिन्नता, आईटी अध्ययनपछिको भविष्य लगायतका विषयमा गरेको कुराकानीको सम्पादित अंश:

अहिले नेपालबाट शिक्षाको नाममा ठूलो रकम बाहिरिने क्रम चलिरहेको छ । के नेपालमा पढाइ नराम्रो भएकैले अध्ययन गर्न विदेश जाने प्रवृत्ति बढेको हो ?

नेपालमा पढाइ राम्रो नभएर विदेशमा पढ्न गएको भन्ने सोच्नु गलत छ । ‍यसलाई विभिन्न पाटोबाट विश्लेषण गर्न सकिन्छ । कतिपयले विदेश जानुलाई गौरवको विषय मान्ने गर्छन् । यसले पनि भूमिका खेलेको छ । राजनीतिक परिस्थिति पनि अर्को कारण हो ।

नेपालमा नकारात्मक खबरहरू चाँडै फैलिन्छन् । यसले गर्दा ‘नेपालमा भविष्य छैन’ भन्ने भाष्य सिर्जना हुन्छ । जसले गर्दा धेरैलाई त्यस्तै लाग्छ । अनि उनीहरू विदेश जाने बाटोमा लाग्छन् । अर्थात् नकारात्मक प्रभाव भएर पनि यो प्रवृत्ति बढिरहेको हो ।

मैले स्नातक तह नेपालमै पढेर स्नातकोत्तर थाइल्यान्डबाट पूरा गरेको हुँ । अनि त्यसपछिको अध्ययन जर्मनीमा गरें । विद्यावारिधि अस्ट्रेलियाबाट गरें । म जस्तै नेपालबाट स्नातक तह सकेर बाहिर पढ्न गएका धेरै छन् । यदि नेपालको पढाइ नराम्रो हुन्थ्यो भने त हामी कसैलाई पनि त्यहाँका विश्वविद्यालय तथा कलेजमा भर्ना नमिल्नु पर्ने थियो ।

नेपालको पढाइ नराम्रो भएर विदेश जाने प्रवृत्ति बढेको भन्ने कुरालाई म मान्दिनँ । बरु के हो भने, विदेश जान सबैभन्दा सजिलो माध्यम स्टुडेन्ट भिसा बनेको छ । सायद यो चाहिं कारण हुन सक्छ । 

छिमेकी देश भारतमा पनि आईटी पढ्न भनेर उल्लेख्य विद्यार्थी गइरहेका छन् । तपाईंको विचारमा के यो विषयलाई पनि त्यसै अर्थमा लिन मिल्छ र ?

पहिले पहिले नेपालबाट वेद पढ्न काँसी जाने चलन थियो । क्रमश: पछि त्यो नेपालमै पढाइ हुन थाल्यो । अहिले फेरि आईटी पढ्न उल्लेख सङ्ख्यामा विद्यार्थीहरू भारत गइरहेको कुरा सत्य हो । यसका कारणबारे बहस गर्न सकिन्छ । तर भारतले जुन तरिकाले ब्रान्डिङ गरिरहेको छ, त्यसले पनि प्रभाव पारेको हुन सक्छ ।

भारतले बैङ्लोरलाई आईटी हब अथवा अर्को सिलिकन भ्याली भनेर ब्रान्डिङ गरिरहेको छ । त्यसले नेपाली विद्यार्थीलाई आकर्षित नगर्ने भन्ने कुरै हुँदैन । त्यस्तै त्यहाँ शैक्षिक क्यालेन्डर नियमित रूपमा लागु हुन्छ । चार वर्षको कोर्स चार वर्षमै सकिन्छ । यहाँ भने विभिन्न कारणले गर्दा चार वर्षको कोर्स पाँच/छ वर्षमा मात्र सकिन्छ ।

यसका साथै भौगोलिक बनावट पनि कारण हुन सक्छ । कसैलाई धनगढीबाट काठमाडौं आएर पढ्नुभन्दा भारतको कुनै ठाउँमा गएर पढ्न सजिलो हुन सक्छ । तर पछिल्लो समय नेपालभर आईटी कलेज विस्तार भइरहेका छन् । यसले गर्दा पढ्नका लागि विकल्प पनि थपिँदै गइरहेका छन् । यसले क्रमशः त्यस्तो समस्या कम गर्न सक्छ ।

त्यस्तै स्थानीय कलेजहरूले आईटी लगायतका विषय पढाउन विदेशी विश्वविद्यालयको सम्बन्धन लिने प्रवृत्ति पनि नेपालमा बढिरहेको छ नि !

हो, पहिलेको तुलनामा विदेशी विश्वविद्यालयको सम्बन्धन लिने क्रम नेपालमा बढिरहेको छ । यसका केही कारण छन् । जस्तै: विदेशका विश्वविद्यालयले नयाँ-नयाँ विषय ल्याइरहेका हुन्छन् । जुन उद्योगको माग अनुसारका जनशक्ति उत्पादन गर्नेमा केन्द्रित हुन्छन् । तर नेपालका विश्वविद्यालयहरूमा नयाँ कोर्स ल्याउनु पर्‍यो भने गाह्रो छ । विद्यार्थी र बजारले जहिल्यै नयाँनयाँ विषय खोजिरहेका हुन्छन् । अनि जहाँ माग हुन्छ, त्यहाँ आपूर्ति पनि हुन्छ । यसै कारण नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धन बढेको हुनुपर्छ ।

तपाईं आबद्ध कलेजले पनि विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । के त्यस्ता कलेजहरूले आफ्नो विश्वविद्यालय अनुसारको मापदण्ड पूरा गरेका छन् ?

व्यक्तिगत रूपमा मलाई सबै कलेजबारे थाहा छैन । प्रेसिडेन्सियल कलेजबारे कुरा गर्नु पर्दा मापदण्ड पूरा गर्ने मामिलामा हामी कतै पनि चुकेका छैनौं । हामी अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छौं ।

विश्वविद्यालयको मापदण्डको अर्थ पनि फरक फरक हुन्छ । सायद त्यो मापदण्ड फ्याकल्टी (शिक्षक शिक्षिका), पाठ्यक्रम, विद्यार्थी मूल्याङ्कन, पढाउने शैली आदिका आधारमा मापन गर्न सकिएला । हामीले विश्वविद्यालय अनुसारका फ्याकल्टी खोजेका छौं कि छैनौं ? विश्वविद्यालयको पाठ्यक्रम पढाउँछौं कि पढाउँदैनौं ? विद्यार्थी मूल्याङ्कन गर्ने तरिका विश्वविद्यालय अनुसार छ कि छैन ? विद्यार्थीलाई पढाउने तरिका उस्तै कि छैन ? 

यी सबैको उत्तर यहाँबाट उत्तीर्ण विद्यार्थी राम्रा स्थानमा पुग्नुले दिएको छ । शिक्षा सेवा प्रदान विशिष्ट व्यापार हो । हामी सबैको लक्ष्य नेपालको शिक्षा क्षेत्रलाई माथि उकास्नु हो । यसका लागि हामीले विभिन्न शैक्षिक संस्थाहरूसँग सहकार्य गर्ने काम पनि गर्छौं । हाम्रा विद्यार्थीलाई अरू कलेजमा हुने कार्यक्रममा जान र अरू कलेजका विद्यार्थीलाई यहाँ आउन प्रोत्साहित गरिरहेका हुन्छौं । यी सबै कार्य गर्नुको अर्थ कतै न कतै विश्वविद्यालयको मापदण्ड पूरा गर्नु पनि त हो ।

तपाईंको विचारमा विदेशी विश्वविद्यालयको सम्बन्धन लिएको कलेजमा आईटी पढ्नु र यहाँकै स्थानीय विश्वविद्यालयमा पढ्नुमा केकति फरक पर्न सक्छ ?

यो विषयलाई पनि म प्रेसिडेन्सियल कलेजकै आधारमा बुझाउने कोसिस गर्छु । कुनै शिक्षकले पढाउँदा विद्यार्थीहरू निकै रुचिका साथ पढ्छन् त कुनै शिक्षकले पढाउँदा उनीहरूले कत्ति पनि बुझ्दैनन् ।  भन्नुको मतलब अध्ययन अध्यापनमा शिक्षकको विशेष अर्थ हुन्छ । विद्यार्थीलाई पढ्न प्रेरित गरिरहने, भविष्य देखाइ दिने लगायतका क्षमता भएका फ्याकल्टी राख्ने हाम्रो प्रयास सधैं हुन्छ । 

अर्को महत्त्वपूर्ण पाटो पढाउने पाठ्यक्रम हो । हामीले सकेसम्म तीन वर्षभन्दा पुराना कोर्स पढाउदैनौं । अपडेट गरिएका कोर्स मात्र पढाउँछौं । कुनै कोर्स थप्न विद्यार्थीले अनुरोध गरे त्यो पनि अर्को सेसनमा थपिरहेका हुन्छौं । विद्यार्थीले जति धेरै मेहेनेत गर्छन्, उनीहरूले उति नै सिक्न पाउँछन् । यसका लागि त्यस्ता विषय राख्न हामी रहेका हुन्छौं । जस्तै: हामीले मेटाभर्स नामक विषय पढाउँछौं । यसका लागि हामीले भारतबाट शिक्षक झिकाउनु परेको थियो । 

शिक्षक र पाठ्यक्रम जति नै राम्रो भए पनि विद्यार्थी प्रोत्साहित भएनन् भने उनीहरूले धेरै सिक्न सक्दैनन् । यसकारण हामीले विद्यार्थीलाई सक्रिय बनाउन खोजिरहेका हुन्छौं । हामी हाम्रा विद्यार्थी आईटी कम्पनीमा प्रोग्रामर मात्र होऊन् भन्ने चाहदैनौं । भविष्यमा ऊ उद्यमी भएको, अनुसन्धानकर्ता भएको, नीति बनाउने ठाउँमा पुगेको देख्न चाहन्छौं । कुनै पनि शैक्षिक संस्थाको भूमिका विद्यार्थीलाई धारिलो तरबार जस्तै बनाउनु हो । सोहीकारण हामी वृहत् सिकाइमा विश्वास गर्छौं । 

यसकारण हामी फ्याकल्टी, पाठ्यक्रम र विद्यार्थीलाई विशेष ध्यान दिन्छौं । अर्थात् यहाँ पढ्ने विद्यार्थीले यस्ता मामिलामा भिन्नता महसुस गर्छन् ।

के कोर्स अनुसार पनि त्यस्तो भिन्नता छ ?

नेपालमा धेरै विद्यार्थीले गर्ने गुनासो कोर्समा हो । उनीहरू कोर्स सैद्धान्तिक मात्र छ, प्रयोगात्मक छैन भनिरहेका हुन्छन् । तर आईटीमा त सिद्धान्त मात्र हुनु भएन । यो त प्रयोगात्मक शिक्षा हो ।

नेपाल र विश्वमै आईटी क्षेत्र आक्रामक तरिकाले वृद्धि भइरहेको छ । पहिले सेवाका रूपमा मात्र रहेको यो क्षेत्र अहिले उद्योगको रूपमा स्थापित भइसकेको छ । नेपाली आईटी जनशक्तिले विश्वभरका कम्पनीहरूका लागि काम गरिरहेका छन् । यस अर्थमा नेपाल बाहिरका इन्जिनियरले गर्ने काम र यहाँकाले गर्नेमा कुनै भिन्नता छैन । 

विद्यार्थीमा त्यो क्षमता विकास गर्ने कोर्स सञ्चालन गर्नु भने यहाँको चुनौती हो । हामीले त्यसमा कुनै पनि सम्झौता गरेका छैनौं । जस्तैं: हाम्रोमा वेब प्रोग्रामिङ विषय पढाइ हुन्छ । त्यसमा वेब प्रोग्रामिङका लागि चाहिने आधारभूत सिद्धान्त हुने गर्छ । त्यसपछि भने अहिलेको बजारमा चाहिने विषय हुन्छन् । जसलाई विद्यार्थीले हातैले सिक्ने गर्छन । जसका आधारमा उसको मूल्याङ्कन पनि हुने गर्छ ।  । राम्रो अङ्क पाउने भएपछि विद्यार्थीले पढ्छन् पनि । यसरी हामीले विद्यार्थीलाई पढ्न प्रेरित गरेका हुन्छौं । 

‘मैले के पढिरहेको छु ? यो कहाँकहाँ प्रयोग हुन्छ ? कसरी गर्नु पर्छ ?’ जस्ता प्रश्नको उत्तर पढ्ने क्रममा नै विद्यार्थीले थाहा पाउँछन् । यसरी हामीले अहिले बजारको आवश्यकता कहाँकहाँ छ, तिनलाई पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ जस्ता विषयमा काम गरिरहेका छौं । त्यसो गर्दा ऊ प्रोग्रामर पनि बन्ने भयो, सिद्धान्त पनि बुझ्ने भयो । अनि विद्यार्थीले असाइनमेन्ट पनि छोड्न सक्दैन ।

तर, विदेशी विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीले सरकारी सेवाको क्षेत्रमा जान अप्ठेरो छ भन्छन् नि !

यदि त्यस्तो समस्या छ भने सम्बन्धित निकायले जवाफ दिनु पर्छ । अहिलेसम्म हाम्रोमा त्यस्तो समस्या आएको छैन । हामीले पढाउनु अघि त्रिभुवन विश्वविद्यालयबाट समकक्षता लिन्छौं । शिक्षा मन्त्रालय र सम्बन्धित अन्य निकायहरूबाट अनुमति लिएका हुन्छौं । त्यसो भएपछि जागिर खान कुनै समस्या हुँदैन ।

तर कहिलेकाहीँ समस्या आउन सक्छ । त्यस्तो अवस्था सिर्जना हुन नदिन विज्ञापन गर्ने निकायले पहिल्यै स्पष्ट पार्नु पर्छ । जस्तै: कामको प्रवृत्ति कस्तो हो, त्यो अनुसार विद्यार्थीले पढेको छ/छैन आदि । यदि विद्यार्थीले कामका लागि आवश्यक पर्ने सबै विषय पढेको छ भने विभेद हुनुहुँदैन ।

‍अहिले तपाईंहरूको कलेजमा के-कस्ता आईटी कोर्स पढाइ भइरहेका छन् ? 

हामीले बीएससी आईटी र एमएससी आईटी गरी दुवै तहमा आईटी कोर्स पढाइरहेका छौं । यी दुवै कोर्सको अन्तिम वर्षमा विद्यार्थीले कुनै पनि क्षेत्रमा विशेष कोर्स पढ्न सक्छन् । जस्तै: बीएससी पढेका विद्यार्थीले एआई, सफ्टवेयर इन्जिनियरिङ, साइबर सेक्युरिटी र मल्टिमिडिया एन्ड एनिमेसन मध्ये कुनै पनि एक क्षेत्रमा विशेषज्ञता हासिल गर्न सक्छन् । 

हामी कोही पनि विद्यार्थीलाई यो यो विषयमा स्पेसलाइजेसन गर भनेर भन्दैनौं । त्यस पछाडिका कारण पनि छन् । सामान्यतया: प्लस टु दिएर स्नातक तहमा जोडिन आएका विद्यार्थी केमा जाने भनेर अन्योलमै हुन्छन् । कोही फिल्म हेरेर साइबर सेक्युरिटी तिर जान आएका हुन्छन् त कोही कसैको राम्रो कमाइ देखेर आकर्षित भएका हुन्छन् ।

उनीहरू आफ्ना लागि कुन विषय उपयुक्त हुन्छ भन्ने कुरामा निश्चित भइसकेका हुँदैनन् । यदि कोही विद्यार्थी त्यसरी आउँछ भने ड्रप आउट अर्थात् बीचैमा पढाई छोड्न सक्ने सम्भावना बढी हुन्छ अथवा मन नलागी पढ्न विवश भइरहेको हुन सक्छ । 

स्नातक अनुभव लिने तह हो । सुरुमै विशेष क्षेत्र हो भनेर छिराइयो भने विद्यार्थी अलमलमा पर्न सक्छ । यसकारण विद्यार्थीले केही समय नेटवर्किङ, प्रोग्रामिङ, गणित, एल्गोरिदम, वेब साइट आदि बारेमा अनुभव लिन आवश्यक छ । त्यसो गरेपछि कुन क्षेत्र मन पर्छ, कुनमा जानु पर्छ भन्ने निर्क्योल गर्न सक्छ । 

जस्तो: नेटवर्कबारेमा बढी ज्ञान भएको विद्यार्थी राम्रो प्रोग्रामर बन्न सक्छ । साइबर सेक्युरिटी आफैंमा विशिष्ट विषय हो । तर सफ्टवेयर कसरी बन्छ भन्ने कुरा थाहा नभएपछि उसले कसरी साइबर सुरक्षामा राम्रो गर्नसक्छ ? अपरेटिङ सिस्टमबारे थाहा नभएकाले कसरी साइबर सुरक्षामा राम्रो गर्न सक्छ ? भनाइको अर्थ आधार राम्रो बनाएपछि मात्र स्पेसलाइजेसन गर्दा राम्रो हुन्छ । 

तपाईंहरूले त आईटी र अन्य कोर्सलाई ब्लेन्ड गरेर पनि पढाइरहनु भएको छ नि होइन ?

हो । अहिले स्नातकोत्तर तहमा त्यस्ता दुई ओटा कोर्स सञ्चालनमा छन्; एमबीए इन आईटी र एमबीए इन डेटा एनालिटिक्स । आईटीमा सफ्टवेयर बनाएर मात्र हुँदैन । त्यसरी बनाइने सफ्टवेयर बैंकमा प्रयोग हुन सक्छ । स्वास्थ्य क्षेत्रमा प्रयोग हुन्छ । सरकारी क्षेत्रमा प्रयोग हुन सक्छ । भन्नुको अर्थ आईटी प्रयोग नहुने क्षेत्र छैन । यसरी अन्य क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न ती कोर्स उपयोगी हुन्छन्। 

उदाहरणका लागि: कसैलाई बैंकिङमा राम्रो ज्ञान छ । अब उसलाई डेटा एनालिटिक्स गर्नु पर्‍यो । त्यस अवस्थामा डोमेनबारे ज्ञान भएपनि आईटी नजान्दा उसले राम्रोसँग काम गर्न सक्दैन । यदि उसले डेटा एनालिटिक्स पनि जानेको छ भने उसको करियरले अर्कै स्वरूप लिन्छ ।

त्यस्तै कसैले स्नातक तहमा आईटी पढेको छ भने स्नातकोत्तरमा पनि कोर आईटी नै पढ्छ भन्ने छैन । त्यस अवस्थामा उनले एमबीए इन आईटी पढ्न सक्छ । त्यसमा केही विषय आईटीको हुन्छ भने केही एमबीएको हुन्छ । यस खालका कोर्स भविष्यमा थपिंदै जान्छन् । 

आईटी पढ्न खोजिरहेका विद्यार्थीका लागि प्रेसिडेन्सियल कलेज किन रोज्ने ?

कतिपय कुरा माथि नै आइसकेका छन् । हाम्रो लक्ष्य विद्यार्थीलाई प्रोग्रामर मात्र बनाउनु होइन । अहिले दिगो विकासका कुरा छन् । जलवायु परिवर्तनका कुरा छन् । हामीलाई तीबारे पनि सहज भएको जिम्मेवार विद्यार्थी उत्पादन गर्नु छ ।

प्रोग्रामर नै बने पनि उसले समूहमा काम गर्नुपर्छ । त्यहाँ घुलमिल भएर उसले कसरी राम्रो गर्न सक्छ, हामी ती कुरा सिकाउन लागि परेका छौं । त्यस्तै आईटी पढेको विद्यार्थी भविष्यमा उद्यमी बन्न सक्छ । त्यसबेला उसलाई कानूनी कुरा पनि आवश्यक पर्छ । हामी ती विषय पनि सिकाउने कोसिसमा हुन्छौं । यो सबै गर्नुको कारण अहिलेको समयमा आवश्यक पर्ने सीप भएको विद्यार्थी मात्र नभएर उसलाई असल मानव पनि बनाउनु हो । 

विद्यार्थीहरूलाई हामी यस्तै वातावरण दिने भएकाले उसका लागि यो कलेज विशेष हुन सक्छ ।

तपाईंले उल्लेख गरेका विद्यार्थीका यस्ता सम्पूर्ण आवश्यकता पूरा गर्न कलेजले केके गरिरहेको छ नि ? 

यसका लागि कलेजले विभिन्न काम गरिरहेको छ । त्यस मध्ये एक हो, कलेजको इनोभेसन ल्याब । यसमा कुनै पनि विद्यार्थीले राम्रो विचार ल्याएर प्रस्तुत गर्न सक्छन् । यदि त्यो विचार व्यावसायिक रूपमा राम्रो हुन सक्छ भने कलेजले बाहिरबाट मेन्टर ल्याएर थप काम गर्न सहयोग गर्छौं ।

त्यसलाई मूर्त रूप दिन आर्थिक स्रोत जुटाउन पहल हुन्छ । यो संस्कारले उनीहरूलाई उद्यमी बनाउन सहयोग गर्छ भन्ने हाम्रो विश्वास हो । त्यस्तै विद्यार्थीलाई इन्टर्नशिप तथा जागिरको अवसरका लागि लिफफ्रग, वर्ल्डलिङ्क लगायतका कम्पनीहरूसँग सहकार्य गरिरहेका छौं । 

प्राज्ञिक क्षेत्र र उद्योगको अन्तरबारे खुबै चर्चा गरिन्छ । कुनै पनि उद्योगका आआफ्नै विशेषता हुन्छन् । यदि त्यस अनुसार अनुकूल विद्यार्थी तयार भएनन् भने स्वतः अन्तर हुन्छ । त्यसो नहोस् भनेर विद्यार्थीलाई आफ्नो सीप सही तरिकाले कसरी प्रयोग गर्ने भन्नेबारे सिकाउँछौं । 

कतिपय विषय चाहेर पनि कोर्समा समावेश गर्न सकिँदैन । तर ती उद्योगका लागि महत्त्वपूर्ण हुन्छन् । त्यसलाई हल गर्न नन् क्रेडिट कोर्स पनि अफर गरिरहेका हुन्छौं । यसो गर्दा विद्यार्थीले उद्योगका लागि चाहिने सीप सिक्न सक्छन् । 

त्यस्तै नियमित रूपमा सम्बन्धित विषयसँग सम्बन्धित तालिम दिने काम पनि गर्छौं । उद्योगमा काम गरिरहेका व्यक्तिहरूलाई नै गेस्ट लेक्चररका रूपमा ल्याएर सेसन सञ्चालन गर्छौं । उहाँहरूले उद्योगमा के भइरहेको छ, त्यसबारे विद्यार्थीहरूलाई जानकारी दिनुहुन्छ । अनि विद्यार्थीले पनि उद्योगमा के भइरहेको छ भनेर थाहा पाउन सक्छन् । 

त्यस्तै प्रत्येक वर्ष ‘प्रेसिडेन्सियल आईटी कन्क्लेभ’ आयोजना गर्छौं । यसले शैक्षिक संस्था, उद्योग र सरकारी निकायलाई एउटै मञ्चमा ल्याएर छलफल गर्ने प्लेटफर्मको काम गरिरहेको हुन्छ । समग्रमा एउटा विद्यार्थीलाई राम्रो उत्पादन बनाउन यस्ता विभिन्न कामहरू गरिरहेका छौं ।

तपाईं आफैं लामो समयदेखि आईटी क्षेत्रमा कार्यरत हुनुहुन्छ । कलेजमा आबद्ध हुने बाहेक आफ्नै आईटी कम्पनी पनि चलाइरहनु भएको छ क्यारे । यहाँका विद्यार्थीले तपाईंबाट केकस्ता लाभ लिन सक्छन् ?

तपाईंले भने जस्तै सन् २००१ देखि म आईटी उद्योगमा छु । यो लामो समयको अनुभवबारे म विद्यार्थीलाई बताउन सक्छु । जुन उनीहरूका लागि निकै उपयोगी हुन्छ । त्यस्तै विद्यार्थीमा आईटीबारे प्यास छ भने उसलाई अवसर नदिने भन्ने त हुँदै हुँदैन ।

विद्यार्थीले कुनै पनि नयाँ विचार ल्याएको खण्डमा उसलाई सहयोग गर्न सक्छु । कतिपय यहाँका विद्यार्थी मेरो कम्पनी समेत कार्यरत छन् । उनीहरूको  कामबाट म निकै प्रभावित छु । मसँग जे जति स्रोत साधन छ, त्यसका आधारमा म विद्यार्थीलाई सहयोग गर्दै आएको छु । यो क्रम चलिरहन्छ । 

अन्त्यमा, आईटीमै भविष्य बनाउन खोजिरहेका विद्यार्थीलाई तपाईंको कुनै सल्लाह सुझाव छ ?

आईटी शिक्षा विश्वभर वृद्धि भइरहेको छ । यसको अध्ययनपछि काम नपाउने अवस्था नगण्य छ । यस क्षेत्रमा लाग्नेहरूले तलब पनि राम्रै थाप्छन् । तर त्यति भन्दै गर्दा आईटी नै पढ्नु पर्छ भन्ने चाहिं होइन । मुख्य विषय रुचिको कुरा हो । किनकी पैसाका लागि पढ्नु हुँदैन । तर वास्तविक कुरा के हो भने, आईटी क्षेत्रको भविष्य उज्ज्वल छ । अबको युग आईटीमैत्री हुने छ । यसको जहाँ पनि प्रयोग हुन्छ । 

यदि कुनै विद्यार्थी आईटीमा आउन चाहन्छ भने उसले सिक्ने कुरामा कुनै सम्झौता गर्नु हुँदैन । यसका लागि सिक्ने स्रोत पनि अनलाइनमा सजिलैसँग भेट्न सकिन्छ । चार वर्षको स्नातक तहमा मात्र राम्रो गरे पछाडि फर्किनु पर्दैन । तर यदि राम्रो गरेन भने पढ्दासम्म त कलेजलाई गाली गर्ला । त्यसपछि कसलाई गाली गर्ने ? यसकारण सीपयुक्त छ भने आईटी विद्यार्थीलाई जहाँ पनि अवसर हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८१ १४:३