close

अनलाइनबाट यसरी लिनुहोस् सिंहदरबार छिर्न आवश्यक पर्ने गेट पास

टेकपाना टेकपाना

बैशाख १६, २०८१ १६:२०

अनलाइनबाट यसरी लिनुहोस् सिंहदरबार छिर्न आवश्यक पर्ने गेट पास

काठमाडौं । सिंहदरबार देशको मुख्य प्रशासनिक कार्यालय हो । त्यहाँ प्रवेश गर्न सम्बन्धित निकायले अनुमति दिनुपर्ने हुन्छ । अर्थात् गेट पास आवश्यक पर्ने हुन्छ । केही समय अगाडिसम्म गेट पासका लागि सम्बन्धित निकायमा कल गर्नुपर्ने बाध्यता थियो । 

अब भने त्यसरी कल गर्नुपर्ने बाध्यता हटेको छ । किनकी सरकारले क्यूआर कोडसहितको गेट पासको व्यवस्था गरेको छ, जुन अनलाइनबाट सजिलैसँग लिन सकिन्छ । आज हामी अनलाइनबाट गेट पास लिने तरिकाबारे जानकारी दिनेछौं: 

-तपाईं ‘सिंहदरबार पास’ नामक वेबसाइटमा जानुपर्ने हुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् । 

-त्यहाँ लगइनको विकल्प देखिन्छ । यदि तपाईंसँग अकाउन्ट छ भने युजर आईडी र पासवर्ड राख्नुहोस् । यदि छैन भने यसमा अकाउन्ट बनाउनुपर्ने हुन्छ । त्यसका लागि 'रजिस्टर'मा क्लिक गर्नुहोस् । 

-यहाँ देखिने नयाँ पेजमा फोन नम्बर राख्नुपर्ने हुन्छ । त्यसमा आफ्नो फोन नम्बर राखेर 'रजिस्टर'मा क्लिक गर्नुहोस् । त्यसपछि डिफल्ट ओटीपी अनुसार 1234 राख्नुहोस् । र, 'भेरिफाई ओटीपी'मा क्लिक गर्नुहोस् ।

-अब तपाईं फाराम दर्ता गर्ने नयाँ पेजमा पुग्नुहुन्छ । त्यहाँ तपाईंले आफ्नो पूरा नाम, ईमेल ठेगाना, मोबाइल नम्बर, ठेगाना, कागजपत्र (नागरिकता/पासपोर्ट आदि), पासपोर्ट आकारको फोटो र पासपोर्ट राख्नुपर्ने हुन्छ । फोटोको आकार भने ५१२ किलोबाइटभन्दा ठूलो हुनु हुँदैन ।

 

-अब तपाईं आफ्नो ड्यासबोर्ड भएको पेजमा पुग्नुहुन्छ । त्यहाँ बायाँ भागमा 'रिक्वेस्ट फर्म' भन्ने विकल्प देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गर्नुहोस् ।

-अब तपाईंले गेट पास पाउन आधारभूत विवरण भर्नुपर्ने हुन्छ । जस्तो; निकायको नाम, मिति, समय आदि । त्यति विवरण भरिसकेपछि 'सब्मिट'मा क्लिक गर्नुहोस् । तपाईंले एक दिन, तीन महिना वा अस्थायी पास अनुरोध गर्न सक्नुहुन्छ ।

 

-यदि ड्यासबोर्डमा क्लिक गरे तपाईंले आफ्नो पासको अवस्थाबारे जानकारी पाउन सक्नुहुन्छ । जस्तै; स्वीकृत पास, अस्वीकृत पास आदिबारे हेर्न सक्नुहुन्छ ।

-सम्बन्धित मन्त्रालयले तपाईंको अनुरोध स्वीकृत गरेपछि यही प्रणालीमा तपाईंले क्यूआर कोड पाउनु हुनेछ । यसका लागि केही समय लाग्न सक्छ । सोही क्यूआर कोड सिंहदरबार गेटमा प्रवेशको लागि देखाउनुपर्ने हुन्छ । 

यसरी तपाईंले अनलाइनबाट सजिलो तरिकाले सिंहदरबार छिर्न गेट पास पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८१ १६:२८