close

डिजिटल संसारमा सुरक्षित रहन अपनाउनुहोस् यी पाँच उपाय

टेकपाना टेकपाना

बैशाख २४, २०८१ १६:२६

डिजिटल संसारमा सुरक्षित रहन अपनाउनुहोस् यी पाँच उपाय

काठमाडौं । पछिल्लाे समय जसरी डिजिटल पहुँच बढ्दै गएको छ, त्यसरी नै सुरक्षा खतरा पनि बढ्दै गएकाे छ । जसको परिणाम इन्टरनेटमा जति सतर्कता अपनाउँदा पनि ह्याकरको पासोमा पर्न सकिन्छ ।

यसमा तपाईंको मात्रै दोष भने नहुन सक्छ । कहिलेकाहीँ अरूको गल्तीका कारण पनि तपाईं ह्याकर सिकार हुन सक्नुहुन्छ । त्यसैले आज यहाँ  हामी तपाईं आफूले पालना गर्न सक्ने केही साइबर सुरक्षा नियमबारे जानकारी दिने छौं ।

घटना भए नआत्तिनु 

कतिपय अवस्थामा तपाईं अतालिदाँ ह्याकिङको जन्जालमा फँस्दै जान सक्नुहुन्छ । मानौं, केही भइहाल्यो । अब डराउँदा अथवा अत्तालिँदा तपाईंले थप गल्ती गर्न सक्ने सम्भावना झन् बढी हुन्छ । यता ह्याकरले तपाईं अत्तालिएको अवस्थाको फाइदा लिन खोजिरहेका हुन्छन् ।

किनकी डराएको बेलामा तपाईंले गल्ती गर्न सक्ने सम्भावना बढी हुन्छ । यस्तो अवस्था सिर्जना भए सबैभन्दा सुरुमा आफ्नो मनलाई शान्त राख्न प्रयास गर्नुपर्छ । त्यसपछि शान्त मनले तपाईंले कहाँ गल्ती भयो? यसको सही समाधान के हो ? जस्ता कुरामा सोच्न सक्नुहुन्छ ।

अपरिचितले पठाएको शङ्कास्पद फाइल नखोल्नु 

धेरै जसो साइबर अपराधका समस्या ईमेल, मेसेजबाट आउन सक्छ । त्यस्ता मेसेजमा निकै लोभ लाग्दा कुराहरू गरिएका हुन्छन् । अनि ती हेर्दा सामान्य वर्ड डकुमेन्ट जस्तै देखिन सक्छ । तर त्यस भित्र खतरनाक भाइरस राखिएको हुनसक्छ । जसले तपाईंको बैंक अकाउन्ट रित्याउनेदेखि डिभाइसलाई नै क्षति पुर्‍याउनेसम्मको हानी गर्न सक्छ । 

यसकारण अपरिचित व्यक्तिबाट आएका ईमेल अथवा मेसेज तपाईंले सकभर खोल्नु हुँदैन । खोलिहाले पनि त्यसमा पठाएको लिङ्क अथवा फाइल डाउनलोड गर्नु हुँदैन । बरु तपाईंले ती लिङ्क वा फाइल नखोलिकन नै सुरक्षित छन्/छैनन् जाँच गर्न सक्नुहुन्छ । यसका लागि यहाँ क्लिक गर्नु होस् ।

लिङ्कमा क्लिक अघि सोच्नु

ह्याकरले प्रयोगकर्ताको विश्वासमाथि खेलबाड गर्न सोसल इन्जिनियरिङ प्रयोग गर्ने गर्छन् । तपाईंले नियमित प्रयोग गरिरहेको साइटको नक्कल गरी ह्ययाकरले तपाईंलाई फसाउन सक्छ । त्यस्ता साइटमा तपाईंले आफ्नो लगइन विवरण राख्दा ह्याकरले तपाईंको जानकारी सङ्कलन गर्छ । यसलाई फिसिङ आक्रमण पनि भन्ने गरिन्छ । 

सोही कारण कसैले तपाईंलाई लिङ्क खोल्न लगाउँदा सतर्क हुनुपर्छ । अथवा तपाईं आफैंको केही नसोचि लिङ्क क्लिक गर्ने बानी छ भने त्यसलाई सुधार गर्नुपर्छ ।

सेक्युरिटी सफ्टवेयरमा खर्च नगर्नु  

कतिपय सेक्युरिटी सफ्टवेयर कम्पनीले आफ्नो उत्पादन तथा सेवा बेच्नका लागि मात्र पनि ह्याकको डर देखाउने वा भ्रामक विज्ञापन गर्ने गर्छन् । उनीहरूले कम्प्युटरमा हुने बिल्ट इन प्रोटेक्सन राम्रो नभएको दाबी गर्छन् । आजभन्दा केही वर्ष अगाडिसम्म उनीहरूले भनेका करिब सत्य जस्तै थियो । तर अहिले अवस्था उही छैन । 

अहिलेका धेरै जसो कम्पनीले आफ्नो बिल्ट इन प्रोटेक्सनलाई बलियो बनाउँदै लगिरहेका छन् । अहिले त त्यस्ता एन्टिभाइरस सफ्टवेयरले कम्प्युटरलाई नै ढिलो बनाउने विज्ञहरूकै भनाइ छ । यो अर्थमा तपाईंले सेक्युरिटी सफ्टवेयरमा खर्च गर्नु पर्दैन । तर तपाईंको डिभाइस भने अपडेडेट हुनु जरुरी छ ।

अनधिकृत तरिकाले एप डाउनलोड नगर्नु 

ह्याकरको हातमा पुग्ने यो निकै सम्भावित माध्यम हो । पैसा जोगाउने नाममा कतिपयले अनधिकृत ठाउँबाट क्र्याक्ड प्रोग्राम डाउनलोड गर्ने गर्छन् । ती सबै सधैं राम्रै सोचेर राखिएका हुन्छन् भन्ने हुँदैन । ती मध्ये कुनै एकमा मालवेयर भाइरस राखिएको हुनसक्छ । 

यसबाहेक इन्टरनेटमा विज्ञापन गरिएका लिङ्क पछ्याउँदै जाँदा आउने प्रोग्राम डाउनलोड गर्दा पनि तपाईं ह्याकरको पासोमा पर्न सक्नुहुन्छ । यसकारण अनधिकृत तरिकाले एप डाउनलोड नगर्नु नै सबैभन्दा राम्रो विकल्प हो ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८१ १७:२१