काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी तय गरिदिए तत्कालै फाइभजी सञ्चालनमा ल्याउन तयार भएको बताएकी छिन् । शुक्रवार विश्व दूरसञ्चार दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै पहाडीले व्यावसायिक रूपमा फाइभजी सेवा दिन आफूहरू तयार भएको दाबी गरेकी हुन् ।
“महानगरपालिका र केही सहरी क्षेत्रमा फाइभजी सेवा आवश्यक परेको छ,” उनले भनिन् “सेवा सञ्चालनका लागि हामी नियामकबाट फ्रिक्वेन्सी स्वीकृति पर्खिरहेका छौं ।”
प्राधिकरणले फाइभजी सेवा परीक्षणका लागि टेलिकमलाई २६ सय ब्यान्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले बबरमहल, सुन्धारा, पोखरा, वीरगन्ज लगायतमा फाइभजी उपकरणहरू जडान गरी परीक्षण कार्य पूरा गरेको छ । व्यावसायिक रूपमा यसको सुरुवातका लागि भने पर्याप्त अध्ययन तथा संयन्त्र तयार भएको देखिँदैन ।
फाइभजी विस्तारका लागि टेलिकमले अन्य देशको अभ्यासलाई पनि अध्ययन गरिरहेको प्रबन्ध निर्देशक पहाडीले सुनाइन् । “हामीले फाइभजी प्रयोग गरिरहेको छिमेकी देश भारतलाई अवलोकन गरिरहेका छौं । त्यसबाट के पायौं भने त्यहाँको बजारमा फाइभजी आर्थिक र सामाजिक रूपमा परिपक्व भइसकेको छैन । युरोप र अन्य विकसित देशमा यसको प्रभाव फरक छ ।”
फाइभजी विस्तार र देशको पूर्वाधारको विकास समानान्तर रूपमा जानुपर्नेमा उनले जोड दिइन् ।