close

कक्षा १२ पछि अनलाइन ब्रिजकोर्स गर्ने सोचमा हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्

टेकपाना टेकपाना

जेठ ६, २०८१ १६:२४

कक्षा १२ पछि अनलाइन ब्रिजकोर्स गर्ने सोचमा हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्

काठमाडौं । शैक्षिक वर्ष २०८० को एसईई (कक्षा १०) र कक्षा १२ को वार्षिक परीक्षा सकिसकेको छ । नतिजा आउन केही समय लाग्ने भएकाले विद्यार्थीहरूले यो बेला थप अध्ययनका लागि तयारी गर्न सक्छन् । जस्तै; १० कक्षाको परीक्षा दिएर बसेकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अथवा ११ कक्षाको भर्नाका लागि तयारीमा जुट्न सक्छन् ।

उसैगरी १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थी विभिन्न विश्वविद्यालयले लिने प्रवेश परीक्षाको तयारीमा लाग्न सक्छन् । यस्ता विद्यार्थीहरूलाई सहयोग गर्न भनेर विभिन्न इन्स्टिच्युटले ब्रिज क्रोस सञ्चालन गर्ने गर्छन् ।

पछिल्लो समयमा धेरैजसो इन्स्टिच्युटले अनलाइनमार्फत ब्रिज कोर्स सञ्चालन गर्न थालेका छन्, जुन निकै सस्तो हुने भनेर विज्ञापन समेत गरिएको हुन्छ । आज हामी अनलाइन ब्रिज कोर्समा भर्ना हुनुअघि ध्यान दिनुपर्ने कुराबारे चर्चा गर्ने छौं:

शुल्क

चाहे अनलाइन होस् या भौतिक कक्षा, सबैभन्दा सुरुमा सोधिने प्रश्न शुल्कमा हुन्छ । कति शुल्कमा कति समयसम्म पढ्न पाइन्छ ? कुनै पनि इन्स्टिच्युट जानुअघि सोधिने प्रश्न हो यो । 

अहिले विभिन्न इन्स्टिच्युटहरूले अनलाइनमार्फत ब्रिज कोर्स पढाउने गर्छन् । सकेसम्म ती सबैको शुल्क तपाईंले विश्लेषण गर्नु जरुरी छ । के थाहा, तपाईं भर्ना भएको शुल्कभन्दा कममा अरू कुनै इन्स्टिच्युटले राम्रो पढाइरहेका छन् कि !

गुणस्तर

अनलाइनमार्फत ब्रिज कोर्स सञ्चालन गरिएका कक्षा वास्तवमै गुणस्तरीय छन् त ? यो एउटा गम्भीर प्रश्न हो । किनकि यसको नियमन प्रभावकारी ढङ्गले हुँदैन । 

त्यसमाथि अनलाइनमार्फत पढाउने भनेको जुम, गुगल मिटजस्ता अनलाइन मिटिङ प्लेटफर्म प्रयोग गर्नु हो भन्ने पनि बुझाइ छ । ती प्लेटफर्म मात्र प्रयोग गर्दा पढाइ राम्रो हुँदैन । अर्थात् ती अनलाइन पढाइका आधारभूत टुल मात्र हुन् ।

यसकारण कुनै पनि इन्स्टिच्युटले कसरी अनलाइन कक्षा गर्ने गर्छ ? अडिओ/भिडिओको गुणस्तर कस्तो छ ? शिक्षक/प्रशिक्षकले कसरी पढाउने गर्छन् ? विद्यार्थीलाई कति सहयोग गर्छन् ? यी यस्ता प्रश्नहरूको जवाफ तपाईंले खोज्नु आवश्यक छ । यसका लागि तपाईं भर्ना हुनुअघि डेमो कक्षामा बस्न सक्नुहुन्छ ।

जबसम्म पढाइ राम्रो हुन्छ जस्तो लाग्दैन, तबसम्म तपाईंले अन्य इन्स्टिच्युटहरू हेरेको राम्रो हुन्छ ।

सहयोग

अनलाइनमार्फत अध्ययन गर्ने धेरैजसो विद्यार्थी इन्स्टिच्युट रहेको स्थानबाट टाढै हुन्छन् । जस्तो; धेरैजसो इन्स्टिच्युट सहर केन्द्रित हुन्छन् । तर घरैबाट पढ्न सकिने सुविधा भएकाले कतै टाढाको विद्यार्थी त्यस्ता कक्षामा जोडिन सक्छन् ।

उनीहरूलाई विभिन्न समस्या आइरहन सक्छ । पढेको कुरा नबुझ्न सक्छन् । कुनै प्रश्न हुन सक्छ । विद्यार्थीमा आउने यस्ता जिज्ञासा अथवा प्रश्नको उत्तर दिन इन्स्टिच्युट कति सक्रिय छ ? यी कुरा पनि तपाईंले थाहा पाउनु जरुरी छ ।

कोर्स

इन्स्टिच्युटले पढाउने कोर्सबारे पनि तपाईं केही जानकार हुन आवश्यक छ । जस्तो: तपाईंले पढ्न चाहेको विषयलाई सहयोग गर्ने खालका कोर्स छन्/छैनन् ? ती कोर्स सम्बन्धी सहयोगी सामग्री उपलब्ध हुन्छ/हुँदैन ?

वास्तविक प्रवेश परीक्षाको तयारी गराउने गरी कोर्समा पाठ्यक्रम छ/छैन ? यी यस्ता विषयमा तपाईँले बुझ्नु पर्ने हुन्छ । अझ तपाईंले केही अन्य इन्स्टिच्युटसँग तुलना पनि गर्न सक्नुहुन्छ ।

इन्स्टिच्युटबारे जानकारी

यी माथिका सबै विषयबारे जानकारी लिएपछि इन्स्टिच्युटबारे पनि बुझ्नु जरुरी छ । तपाईंले कुनै पनि इन्स्टिच्युटबारे जति धेरै बुझ्नुहुन्छ, त्यति नै मात्रामा तपाईं विश्वस्त हुन सक्नुहुन्छ ।

इन्स्टिच्युट कहाँ अवस्थित छ, कसले सञ्चालन गरिरहेको छ, कहिले स्थापना भएको, अन्य विद्यार्थीको प्रतिक्रिया कस्तो छ, इन्स्टिच्युटको सफलताको ग्राफ कस्तो छ यस्ता विषयमा तपाईंले बुझ्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ ६, २०८१ १६:२४