काठमाडौं । स्याङ्जाकी ४० वर्षीया प्रभा लम्साल रेग्मी नेपाली विषयकी शिक्षिका हुन् । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर पूरा गरेकी उनी पोखरा उपमहानगरपालिका-२२, दहरामा अवस्थित श्री लीला आधारभूत विद्यालयमा कार्यरत छिन् ।
उनको परिचय कक्षाकोठामा पढाउने शिक्षिकामा मात्रै सीमित छैन । धेरै विद्यार्थीका लागि उनी ‘युट्युब गुरुमा’ पनि हुन् । उनले सञ्चालन गरिरहेकाे ‘पीएलआर एजुकेसन’ नामक युट्युब च्यानलले हालै एक लाख सब्सक्राइबरको आँकडा पार गरेको छ । यसका लागि युट्युबबाट उनले सिल्भर प्ले बटन समेत पाइसकेकी छिन् ।
दुई दशकभन्दा लामो समयदेखि शिक्षण पेशामा रहेकी प्रभाको युट्युब यात्रा भने भर्खर भर्खरै सुरु भएको हो । कोभिड महामारीको समयदेखि सुरु भएको उनको यो यात्रा तीन वर्ष पुग्दैछ । त्यसबेलाको विषम परिस्थितिले देशभर लक डाउन भयो । सो समयमा प्रत्यक्ष रूपमा विद्यालय खुल्ने परिस्थिति नै थिएन ।
भौतिक रूपमा विद्यालय खुल्ने छाँट नपाएपछि पढाउन वैकल्पिक माध्यमको खोजी भयो । त्यसपछि जुम, गुगल मिट, माइक्रोसफ्ट टिम जस्ता प्लेटफर्म प्रयोग गरी अनलाइनमार्फत शिक्षणलाई निरन्तरता दिने क्रम सुरु भयो । सोही अनुसार प्रभाले पनि पढाउन थालिन् ।
त्यसबेला २०७५ सालमा स्थापना भएको प्रविधिमैत्री शिक्षक समाजले प्रभा लगायत पोखराका अन्य शिक्षक शिक्षिकालाई ठुलो राहत दियो । किनकी उक्त संस्थाले शिक्षकहरूका लागि नि:शुल्क तालिमहरू सञ्चालन गरेको थियो । संस्थाले विशेष गरी नेपाली विषयका विभिन्न सामग्रीहरू अनलाइनमार्फत उपलब्ध गराउने काम गरेको थियो । त्यसमा प्रभाले पनि सामग्री सम्पादन समितिमा रहेर काम गरिन् ।
इन्टरनेटमा नेपाली विषयको सामग्री उपलब्ध गराउन संस्थाले राम्रै काम गरेको थियो । त्यहाँ बनाएका शैक्षिक सामग्रीहरू अनलाइनमार्फत कक्षामा पढाउन पनि प्रयोग हुने गर्थे ।
त्यही समयमा उनलाई कोरोना लाग्यो । पढाउन अप्ठ्यारो भयो । अनि पढाउँदा कतिपय विद्यार्थी पनि छुटिरहेका थिए । ती सबै समस्यालाई सम्बोधन गर्न युट्युब राम्रो विकल्प बनिदियो ।
युट्युब प्रयोग गरे पढाउन सहज हुन्छ भन्ने उनलाई लाग्यो । किनकी कोही विद्यार्थी कक्षामा छुटे पनि उसले पछि हेर्न सक्थ्यो । उन स्वयँलाई पनि एक पटक बनाएको पाठ्य सामग्री सधैंभर काम लाग्थ्यो । यसरी युट्युब तिर पनि उनी ढल्किन थालिन् । सुरु सुरुमा अभ्यस्त हुन भने उनले बालकथा, कम्प्युटरका सीप जस्ता विषय पनि राखि हेरिन् ।
केही समयपछि भने उनी नितान्त रूपमा विद्यालयको नेपाली विषयमा केन्द्रित भइन् । हाल उनको च्यानलमा ६ देखि ९ कक्षासम्मका नेपाली विषयका शैक्षिक सामग्री छन् । जुन उनले पाठ्यक्रम विकास बोर्डको विशिष्टीकृत तालिका अनुसार नै बनाएकी हुन् ।
‘पीएलआर एजुकेसन’ । झट्ट हेर्दा नेपाली विषयसँग सम्बन्धित च्यानल सुनिंदैन । तर ‘पीएलआर’ उनकै पूरा नाम अगाडिका एक एक अक्षर जोडेर बनेको शब्द हो । अनि शिक्षा क्षेत्रको युट्युब च्यानललाई जनाउन थपिएको छ, एकेडेमी ।
२०५७ सालमा शिक्षा सेवा आयोगको अस्थायी सेवामा प्रवेश गरेको उनी २०६३ सालमा स्थायीमा पढुवा भइन्, स्याङ्जाबाटै प्राथमिक तहका लागि । त्यसपछि २०७२ यता उनी पोखरामा कार्यरत छिन् । तीन वर्षअघिसम्म पोखराकै लक्ष्मी आधारभूत विद्यालयमा उनी प्रधानाध्यापकको भूमिकामा पनि रहिन् ।
चार वर्षसम्म प्रधानाध्यापकको जिम्मेवारीमा रहिसकेकी उनी अहिले भने पायक पर्ने ठाउँमा सरुवा भएकाले सामान्य शिक्षिकाका रूपमा छिन् । यसरी सबै गरेर हालसम्म उनले चार ओटा विद्यालयमा पढाइसकेकी छिन् ।
आफ्नो युट्युब च्यानलमा उनी सामान्य शैलीमा पढाउँछिन् । त्यसका लागि सुरुमा सफ्टवेयरमार्फत प्रिजेन्टेसन तथा स्लाइड तयार पार्छिन् । त्यसपछि सोही स्लाइडलाई थप व्याख्या गर्दै विश्लेषण गर्छिन् । जसलाई उनले कम्प्युटरमा रेकर्ड गरिरहेकी हुन्छिन् । अनि शटकट/वन्डरशेयरको फिल्मोरा जस्ता बजारमा उपलब्ध सामान्य सफ्टवेयरबाट एडिट गरेर युट्युबमा अपलोड गर्छिन् ।
युट्युबको दुनियाँमा उनी आफूलाई अझै पनि सिकारुको रूपमा लिन्छिन् । कमाइ हुन्छ भन्दा पनि जानेका कुरा शेयर गर्न आफूले युट्युब रोजेकी उनी बताउँछिन् । तर एउटी गृहिणी भएकाले उनले घरमा पनि उत्तिकै समय दिनु पर्छ ।
यता विद्यालयलाई दिनुपर्ने समय त छँदै छ । त्यस्तोमा युट्यबका लागि उनले साँझको समय निकाल्छिन् । युट्युबका लागि त्यसरी समय निकाल्न घरमा भएका परिवारले पनि साथ दिने गरेको उनी सुनाउँछिन् ।
“म एक्लै भए त गर्न सक्दिन थिएँ होला । परिवारको राम्रो साथ सहयोग मिलेकाले नै यो स्थानमा आएकी हुँ, ” उनी भन्छिन् । युट्युबका लागि गर्नु पर्ने आवश्यक सबै काम उनी एक्लै गर्छिन् । आजभोलि भने उनले शनिबार युट्युबको काम गर्छिन् । युट्युब च्यानलमा यति समयमा यति भिडिओ अपलोड गर्छु भन्ने जस्तो उनको कुनै समय तालिका छैन ।
घरमा बसेर पढ्दै गरेका विद्यार्थीहरू पढ्दा पढ्दै बिचैमा अलमलिन सक्छन् । त्यस्ता विद्यार्थीहरूका लागि ‘पीएलआर एजुकेसन’मा प्रभाले सम्बन्धित विषयका समाधान राखिदिएकी छिन् । जहाँबाट विद्यार्थीहरूले उत्तर लेख्ने तरिका पनि सिक्न सक्छन् । यसका लागि विशिष्टीकरण तालिका अनुसार समयसमयमा प्रश्न पत्र बनाएर विद्यार्थीहरूलाई त्यसको समाधान गर्दा ध्यान दिन पर्ने तरिका पनि उनले सिकाइएकी हुन्छिन् ।
यस्ता सामग्रीले भने विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई समेत सहयोग पुगेको उनको भनाइ छ । त्यस्तो प्रतिक्रिया व्यक्तिगत रूपमा आउने उनी सुनाउँछिन् । त्यस्तै अहिले धेरै विद्यार्थीहरूले आफूलाई ‘फेस रिभिल’ गर्न अर्थात् अनुहार देखाउन अनुरोध गरिरहेको उनी बताउँछन् । भविष्यमा उनले यसबारे पनि सोचेकी छिन् । तत्कालै त्यसो गर्न भने उनको त्यति रुचि छैन । बरु इन्टरनेटमा नेपाली विषयको सामग्री नै नपाइने अवस्थाबाट केही हदसम्म भए पनि पाउने भएकोबाट उनलाई खुसी मिलेको छ ।
कमाइ हुने भएकाले युट्युबलाई धेरैले भविष्यका रूपमा लिने गर्छन् । युट्युबलाई कमाउने माध्यमका रूपमा नै लिने अहिलेसम्म उनको सोच बनिसकेको छैन । तर भविष्यमा यसलाई जारी राख्ने कुरामा भने उनी दृढ छिन् । अहिले नै उनले युट्युबबाट मासिक २० देखि ३५ हजार रुपैयाँसम्म कमाइरहेकी छिन् । अब भविष्यमा पनि शिक्षणसँगै युट्युबमा व्याकरण, बाल कथा, विद्यार्थीलाई रोचक हुने कुरा राख्ने उनको योजना छ ।