close

चन्द्रमाको सुदूर भागबाट चट्टान र माटो लिएर पृथ्वीमा आयो चिनियाँ यान

टेकपाना टेकपाना

असार ११, २०८१ १८:१२

चन्द्रमाको सुदूर भागबाट चट्टान र माटो लिएर पृथ्वीमा आयो चिनियाँ यान

 

काठमाडौं । चन्द्रमाको सुदूर भागबाट चट्टान र माटोको नमुना लिएर चिनियाँ यान पृथ्वीमा फिर्ता भएको छ । ५३ दिनको यात्रापछि चिनियाँ चन्द्रयान चाङ्गइ-६ मङ्गलबार पृथ्वीमा फर्किएको हो ।

विभिन्न सञ्चारमाध्यमका अनुसार चाङ्गइ-६ चीनको उत्तरी क्षेत्रमा अवस्थित भित्री मङ्गोलियामा अवतरण गरेको  छ । यससँगै चन्द्रमाको सुदूर भागबाट नमुना लिएर आउनेमा चीन पहिलो देश बनेको छ ।

विगतमा अमेरिकी र सोभियत संघ (हालको रुस) मिसनबाट समेत चन्द्रमाको नमुना सङ्कलन गरिएको थियो । तर ती सबै पृथ्वीबाट नजिक पर्ने चन्द्र सतह थिए । 

चीनको यस यान भने 'एटकेन बेसिन' नामक चन्द्रमाको दक्षिणी भागमा अवतरण गरेको थियो । जुन भागमा यसअघि कुनै पनि मानव निर्मित वस्तु पुगेको थिएन । सोहीकारण उक्त स्थानलाई चन्द्रमाको अँध्यारो भाग पनि भन्ने गरिन्छ ।

चाङ्गइ-६ ले ल्याएको नमुनामा साढे २५ लाख वर्षअघिको ज्वालामुखीबाट निस्किएको चट्टान हुनसक्ने चिनियाँ वैज्ञानिकहरूले बताएका छन् । यसबाट चन्द्रमाबारे नयाँ जानकारी तथा तथ्य थाहा पाउन सकिने अपेक्षा गरिएको छ । 

चीनले चाङ्गइ परियोजना २००४ बाट सुरु गरेको थियो । हालसम्म यस परियोजना अन्तर्गत चीनले पाँच ओटा चन्द्रयान प्रक्षेपण गरिसकेको छ । यो यान भने गत ३ मेमा प्रक्षेपण गरिएको थियो ।

पहिलो पटक सन् २००७ मा चाङ्गइ-१ प्रक्षेपण गरिएको थियो । यही परियोजनाको चाङ्गइ-४ बाट चीनले सन् २०१८ मा पहिलो पटक पाइला टेकेको थियो ।

त्यस्तै २०२० को चाङ्गइ-५ बाट चीनले मानव इतिहासमा ४४ वर्षपछि पुन: चन्द्रमाको चट्टान पृथ्वीमा ल्याउन सफल भएको थियो । चाङ्गइ -६ को प्रोब तयार पार्न चीनसहित फ्रान्स, इटाली, पाकिस्तान, युरोपियन एजेन्सीका वैज्ञानिकहरू संलग्न थिए ।

पछिल्लो अध्यावधिक: असार ११, २०८१ १८:१२