close

अर्को व्यक्तिको दिमागमा पनि राखियो न्युरालिङ्कको कम्प्युटर चिप

टेकपाना टेकपाना

साउन २१, २०८१ १६:५९

अर्को व्यक्तिको दिमागमा पनि राखियो न्युरालिङ्कको कम्प्युटर चिप

काठमाडौं । संसारमा दोस्रो व्यक्तिमा पनि सफलतापूर्वक न्युरालिङ्क चिप प्रत्यारोपण गरिएको छ । ब्रेन चिप निर्माता कम्पनी न्युरालिङ्कका मालिक एलन मस्कले एक पडकास्टमा बोल्दै दोस्रो व्यक्तिमा सफलतापूर्वक चिप प्रत्यारोपण भएको जानकारी दिएका हुन् । 

पक्षघात भएका व्यक्तिलाई सोचेकै भरमा डिजिटल डिभाइस नियन्त्रण गर्न सक्षम बनाउने लक्ष्यका साथ कम्पनीले चिप निर्माण गरेको थियो । चिप प्रत्यारोपण गरिसकेपछि मेरुदण्डमा चोट लागी अपाङ्ग भएका व्यक्तिले सहजै डिजिटल डिभाइस कन्ट्रोल गर्न सक्ने दाबी कम्पनीको छ ।

हाल त्यसैका लागि कम्पनीले दोस्रो व्यक्तिमा चिप प्रत्यारोपण गरेको मस्कले बताएका छन् । शुक्रबार विश्वका चर्चित व्यक्तिहरूसँग लेक्स फ्राइडम्यानले कुरा गरेको आठ घण्टाको पडकास्ट सार्वजनिक भएको थियो । सोही पडकास्टमा मस्कले यस्तो बताएका हुन् । 

मस्कका अनुसार सवारी चलाइरहेको बेला दुर्घटनामा परी प्यारालाइसिस भएका व्यक्तिमा कम्पनीले चिप प्रत्यारोपण गरेको छ । यसअघि कम्पनीले पहिलो पटक अमेरिकी नागरिक अर्बाउ नोल्यान्डमा चिप प्रत्यारोपण गरेको थियो । 

मस्कका अनुसार दोस्रो व्यक्तिमा चिप प्रत्यारोपण भइसकेको छ भने त्यसले अहिले काम गर्न थालिसकेको छ । “म अहिले नै विश्वस्त हुन सक्दैनँ । तर दोस्रो प्रत्यारोपण निकै राम्रो भइरहेको छ,” मस्कले पडकास्टमा भनेका छन्, “त्यहाँ थुप्रै सिग्नलहरू छन्, थुप्रै इलेक्ट्रोडहरू छन् । यसले निकै राम्रोसँग काम गरिरहेको छ ।”

पडकास्टमा मस्कले दोस्रो व्यक्तिमा कम्पनीले कहिले प्रत्यारोपण सम्पन्न गर्‍यो भन्ने नखुलाएको द गार्जियनले उल्लेख गरेको छ । मस्कले अब थप आठ व्यक्तिमा चिप प्रत्यारोपण गरी ट्रयाल गरिने जनाएका छन् । 

पहिलो चिप प्रत्यारोपण भएका व्यक्तिले आफ्नो विचार राखेको पडकास्ट पनि केही समयअघि सार्वजनिक भएको थियो । सो पडकास्टमा उनले चिप प्रत्यारोपण पछि आफू आत्मनिर्भर भएको बताएका छन् । 

चिप प्रत्यारोपण गर्नुअघि उनी मुखमा स्टिक राखेर त्यसैले कम्प्युटर नियन्त्रण गर्ने गर्थे । प्रत्यारोपणपछि भने कम्प्युटर सोचेकै भरमा आफूले नियन्त्रण गर्न सकेको उनको दाबी छ । हुन त चिप प्रत्यारोपण गरे लगतै नोल्यान्डले चिपको ससाना तारका कारण हैरानीको सामना गर्नु परेको थियो । रोयटर्सले यस्तो समस्या पशुमा चिप प्रत्यारोपण गर्दा पनि देखिएको रिपोर्ट सार्वजनिक गरेको थियो ।

पछिल्लो अध्यावधिक: साउन २१, २०८१ १६:५९