close

टेलिग्रामका सीईओ गिरफ्तारीमा एलन मस्कको टिप्पणीः अब जुकरबर्गलाई पनि पक्राउ गर

टेकपाना टेकपाना

भदौ १०, २०८१ १२:३६

टेलिग्रामका सीईओ गिरफ्तारीमा एलन मस्कको टिप्पणीः अब जुकरबर्गलाई पनि पक्राउ गर

काठमाडौं । टेस्ला र सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले मेटा तथा फेसबुकका सीईओ मार्क जुकरबर्गमाथि बाल शोषणलाई बढावा दिएको आरोप लगाउँदै उनको गिरफ्तारीको माग गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै भनेका छन् कि यदि सरकार टेलिग्राम सीईओ पावेल डुरोभको गिरफ्तारीलाई सही ठहर्‍याउँछ भने मार्क जुकरबर्गलाई किन खुल्ला छोडिएको छ ? मस्कले इन्स्टाग्राममा बाल शोषणको ठुलो समस्या रहेको बताएका छन् ।

"उनीमाथि पनि त्यस्तै आरोप छन्, जस्तो डुरोभमाथि लगाइएका छन् । तर अहिलेसम्म जुकरबर्गको गिरफ्तारी भएको छैन । किन कि उनी सरकारका अगाडि झुकिसकेका छन् । तिनले उनीहरूलाई चोरबाटोबाट महत्त्वपूर्ण डेटा उपलब्ध गराउँछन् र बोल्ने स्वतन्त्रतामाथि सेन्सर गर्छन्," मस्कले आरोप लगाउँदै भनेका छन् ।

उनले डुरोभको रिहाइका लागि सामाजिक सञ्जालमा अभियान समेत सुरु गरेका छन् । उनले भनेका छन् कि यदि सबै यसैगरी चल्ने हो भने सन् २०३० सम्म युरोपमा मिम शेयर गर्नेमाथि पनि फाँसी दिन थालिनेछ । मस्कले जुकरबर्ग विरुद्ध जुन बाल शोषण प्रकरणको जिकिर गरेका छन्, त्यसको सिलसिलामा गत फेब्रुअरीमा मेटाका सीईओले अमेरिकी संसदमा पीडित परिवारसँग माफी मागेका थिए ।

यद्यपि मेटामाथि अमेरिकामा कयौं मुद्दाहरू चलिरहेका छन् । इन्स्टाग्राममाथि बालबालिकाको आत्महत्या र शोषणलाई बढावा दिएको आरोप लाग्दै आएको छ । यस बाहेक अमेरिकाका कयौं राज्यले फेसबुक र इन्स्टाग्राममाथि मानसिक समस्या निम्त्याएको आरोप लगाइएका छन् । इन्स्टाग्राम र फेसबुकको लतलाई यसको कारण मानिएको छ ।

डुरोभ दोषी ठहर भए हुन सक्छ २० वर्षसम्मको जेल

यसअघि डुरोभलाई शनिबार फ्रान्सको बुर्गेट एयरपोर्टबाट गिरफ्तार गरिएको थियो । उनी आफ्नो निजी विमानबाट त्यहाँ पुगेका थिए । उनी विरुद्ध पहिले नै गिरफ्तारी वारेन्ट जारी गरिएको थियो । पावेलमाथि कन्टेन्ट मोडरेसनमा असफल रहेको आरोप छ ।

जसले गर्दा मेसेजिङ एपमा आपराधिक गतिविधिलाई बेरोकटोक जारी राख्ने अनुमति मिलेको छ । अनलाइन माध्यमबाट आपत्तिजनक वा हानिकारक कन्टेन्टमाथि निगरानी गर्ने र त्यसलाई हटाउने कार्यलाई कन्टेन्ट मोडरेसन भन्ने गरिन्छ ।

डुरोभ आतङ्कवाद, लागु औषध, ठगी, मनि लन्डरिङ, बाल यौन सामग्री जस्ता कयौं आरोप सहित अदालतमा पेस हुनेछन् । यदि उनी दोषी ठहर भएको खण्डमा २० वर्षसम्मको जेल सजाय हुन सक्छ । रुसका जुकरबर्ग भनेर चिनिने डुरोभले आफू २२ वर्षको हुँदा सामाजिक सञ्जाल एप बनाएका थिए ।

रुसमा जन्मिएका उनले आफ्नो भाइसँग मिलेर सन् २०१३ मा टेलिग्राम स्थापना गरेका थिए । रुसी सरकारले उनीसँग रुसी जनतासँग जोडिएका डेटा मागिरहेको थियो, जसबाट हैरान भएर उनले सन् २०१४ मा देश छोडे र सेन्ट किट्स एन्ड नेभिसको नागरिकता लिए । सुरुवाति केही वर्षमा डुरोभले कयौं देशको यात्रा गरे ।

उनले सन् २०१४ मा दुबईमा आफ्नो हेडक्वार्टर खोले । २०२१ मा फ्रान्सिसी नागरिकता हासिल गरेका थिए । उनले रुसी नागरिकता त्यागेको विषय भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन । यद्यपि रुसका केही अधिकारीहरूले डुरोभको गिरफ्तारीलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

उनीहरूले भनेका छन् कि पश्चिमी देश अभिव्यक्तिको स्वतन्त्रताको मामिलामा दोहोरो चरित्र देखाउँदै आएका छन् । रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले भनेका छन्, "हामीले सन् २०१८ मा टेलिग्राम बन्द गरेका थियौं, त्यतिखेर ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरनेसनल, फ्रिडम हाउस जस्ता २६ संगठनहरूले त्यसको निन्दा गरेका थिए । तर अहिले डुरोभको गिरफ्तारी भएपछि भने कसैले पनि त्यसको निन्दा गरेका छैनन् ।"

रुसले सन् २०२० मा टेलिग्राममाथिको प्रतिबन्ध हटाएको थियो । यसबिच पेरिस स्थित रुसी दूतावासले डुरोभको गिरफ्तारी पश्चात् फ्रान्सेली अधिकारीहरूमाथि सहयोग नगरेको आरोप लगाएको छ । रुसी दूतावासले भनेको छ कि डुरोभका अधिकारको रक्षा गरिनु पर्छ र उनलाई राजन्यायिक पहुँच दिइनु पर्छ ।

डुरोभको गिरफ्तारकी खबरलाई लिएर पूर्व रुसी राष्ट्रपति दिमित्री मेदभेवेदेवले भनेका छन् कि उनले रुसबाट भागे पश्चात् विदेशमा स्वागत मिल्ने छ भनेर गलत सोचेका थिए । डुरोभलाई आफूले पहिले पनि कानुनलाई सहयोग नगरे अन्य देशमा समेत समस्या आउने कुरा बताएको उल्लेख गरेका छन् । 

 

पछिल्लो अध्यावधिक: भदौ १०, २०८१ १२:४४