close

अचेल साझा बस चढ्नु भएको छ ? छन्; जीपीएस ट्रयाकिङ, फ्रि वाईफाई, स्मार्ट स्क्रिनसहितका सुविधा

टेकपाना टेकपाना

भदौ ३१, २०८१ १२:३९

अचेल साझा बस चढ्नु भएको छ ? छन्; जीपीएस ट्रयाकिङ, फ्रि वाईफाई, स्मार्ट स्क्रिनसहितका सुविधा

काठमाडौं । बस कहाँ आइपुग्यो भन्ने थाहा पाउन मोबाइल एप नै प्रयोग गरे पुग्ने । भित्र निःशुल्क वाईफाई सुविधा । स्क्रिनमा आधुनिक विज्ञापन र सूचना । त्यही स्क्रिनमा बस कहाँ आइपुग्यो, अब कुन स्टेसनमा जाँदैछ भन्ने जानकारी । 

यस्तो बसको सेवा त विकसित देशमा मात्रै हुन्छ भन्ने बुझाई आम नेपालीमा हुनु स्वभाविक नै हो । तर, नेपालमा पनि साझा यातायातले आफ्ना बसहरूलाई यस्तै खाले प्रविधिमैत्री बनाउन लागिपरेको छ । 

त्यसै अन्तर्गत साझाले १० माघ २०७९ मा साझा प्लस एपको बेटा भर्सन सार्वजनिक गरेको थियो । छ महिना अघिदेखि भने यो एप फुल भर्सनमा आइसकेको छ । साझा यातायातका बसलाई प्रविधिमैत्री बनाउने जिम्मा नेपाली आईटी कम्पनी स्ल्याश प्लसले पाएको थियो ।   

गुगल प्ले स्टोर वा आईओएस एप स्टोरबाट तपाईंले साझा प्लस (Sajha Plus) एप डाउनलोड गरिसकेपछि त्यसमा आफ्नो गुगल अकाउन्ट राखेर साइनअप गर्नुपर्ने हुन्छ । साइनअप गर्न गुगल अकाउन्ट नै किन चाहियो ? यसको जानकारी यो सामग्री पढ्दै जाँदा अन्तिमतिर पाउनु नै हुनेछ । 

साइनअप गरिसकेपछि एपमा विभिन्न रुटहरू देखिन्छन् । अर्थात् साझा यातायातका बसहरू गुड्ने रुट एपमा देख्न सकिन्छ । त्यसमा मानौं तपाईं जावलाखेलबाट नयाँ बसपार्क जाँदै हुनुहुन्छ भने तपाईं कुन रुट भएर जाने, ती रुटमा उपलब्ध बस, बस स्टप र दूरी उल्लेख भएको देखिन्छ । 

त्यसमध्ये तपाईंले लगनखेलबाट नयाँ बसपार्कसम्मको रुट छान्नुपर्ने हुन्छ । त्यसपछि उक्त रुटमा कुनकुन गाडीहरू छन् ? अनि कुन गाडी कहाँ आइपुग्यो र तपाईंको लोकेसनमा कुन गाडी आउँदैछ भन्ने म्याप हेरेरै थाहा पाउन सकिन्छ । 

“अब साझा बस चढ्ने यात्रुहरूले बस कति बेला आउँछ होला भनेर पर्खी रहनु पर्दैन,” स्ल्याश प्लसका प्रमुख कार्यकारी अधिकृत क्षितिज कार्की भन्छन्, “बस आउने समय हेरेरै स्टेसनमा गए पुग्छ ।”

गाडी जुन ठाउँमा छ, त्यसको सटीक लोकेसन दिने भएकाले शत प्रतिशत एपमै निर्भर भए पुग्ने उनी सुनाउँछन् । एप हालसम्म एन्ड्रोइडमा एक लाख भन्दा बढी पटक डाउनलोड भइसकेको छ । “धेरैले एप मन पराउनु भएको छ । कतिले एपलाई यसरी सुधार गर्न सकिन्छ भनेर सल्लाह पनि दिनु हुन्छ । प्राप्त सुझावलाई आत्मसात् गर्दै हामी नयाँ अपडेटमा सुधार गरिरहेका हुन्छौं,” उनी थप्छन् । 

सधैं साझा यातायातका बसमै यात्रा गर्ने यात्रुका लागि एप बढी उपयोगी हुने उनको भनाइ छ । उनी अगाडि भन्छन्, “हामीले साझाका सम्पूर्ण गाडीमा जीपीएस राखेका छौं । जीपीएस ट्र्याकिङ सिस्टमको सहायताले त्यसको वास्तविक स्थान थाहा हुन्छ । त्यही डेटा हामीले एपमा राखेका छौं ।”

साझा यातायातका सबै बसहरू रुटमा नआइसकेका हुन सक्छन् । केही मर्मत गर्नुपर्ने अवस्थामा हुन्छन् भने केही चार्ज गर्नुपर्ने अवस्थामा हुन्छन् । यस्तोमा सबै बस किन एपमा नदेखिएका होलान् भन्ने लाग्न सक्छ । 

यस विषयमा स्ल्याशप्लसको गुणस्तर निर्धारण तथा प्राविधिक अधिकृत रहेका रोजेन चित्रकार भन्छन्, “जुन गाडी रुटमा आएको छ, त्यो गाडी मात्र एपमा देखिन्छ । यसका लागि हामीले एपमा जिओफेन्स राखेका छौं । जुन गाडी जिओफेन्सभित्र आइपुग्छ, यो मात्र एपमा देखिन्छ ।”

साझाको विद्युतीय बसभित्र प्रवेश गर्दा त्यहाँ झट्ट एलईडी स्क्रिन आँखामा पर्छ । त्यस स्क्रिनमा मनोरञ्जनका सामग्री, विभिन्न जनचेतनामूलक भिडिओ र विज्ञापन देखिन्छन् । स्क्रिनको दायापट्टि बस कुन ठाउँमा आइपुग्यो भन्ने देख्न सकिन्छ । नयाँ स्टेसन, अब आउने स्टेसन पनि स्क्रिनमै ठुलो अक्षरमा आउँछ । 

यसले गर्दा आफूहरूलाई सहज भएको एक साझा यातायातका विद्युतीय बस चालक बताउँछन् । “हामी यो ठाउँमा आइपुग्यौं भनेर भित्रका यात्रुहरूलाई सम्झाई राख्नुपर्ने बाध्यता थियो,” स्क्रिनको सकारात्मक पक्षबारे चर्चा गर्दै ती ड्राइभर भन्छन्, “अहिले त सबै स्क्रिनमै देखिन्छ । ठूलो आवाज पनि आउँछ । त्यसैबाट यात्रुहरूलाई कहाँ आइपुगियो, अब अगाडि कुन स्टेसन आउँदैछ भन्ने जानकारी हुन्छ ।”

यस स्क्रिनलाई स्मार्ट बनाउने काम स्ल्याश प्लसले नै निर्माण गरेको साइनेज प्लस डिभाइस (सेटअप बक्स)ले गरेको सीईओ कार्की सुनाउँछन् । उनका अनुसार साइनेज प्लस डिभाइस कम्पनीले केन्द्रीय रूपमा क्लाउडबाट व्यवस्थापन गरेको हुन्छ । 

कुन विज्ञापन वा कुन जानकारी स्क्रिनमा देखाउने भन्ने त्यहींबाट निर्धारण गरिन्छ । लोकेसन ट्रयाक गरेर ठाउँको जानकारी दिने काम पनि सोही डिभाइसले आन्तरिक रूपमा गरेको हुन्छ । 

साझाका सम्पूर्ण बसमा निःशुल्क वाई-फाईको सुविधा दिइएको छ । कार्की भन्छन्, “वाई-फाईको क्यूआर कोड र पासवर्डसहितको स्टिकर गाडीभित्र टासेका छौं । त्यसलाई स्क्यान गरेर सहजै वाईफाई लगइन गर्न सकिन्छ ।”

अनलाइनबाट गर्नुपर्ने केही महत्त्वपूर्ण काम त्यहाँ भएको इन्टरनेटको सहायताले  यात्रा अवधिमै सम्पन्न गर्न यसले मद्दत पुर्‍याउने उनको विश्वास छ । त्यही स्टिकरमा नम्बर पनि उपलब्ध गराइएको छ । नम्बरमा कल गरेर वा ह्वाट्सएप तथा भाइबरमा मेसेज गरेर केही सुझाव, गुनासो वा प्रतिक्रिया दिन सकिन्छ । “यात्रा रमाइलो र फलदायी होस् भन्नका लागि हामीले यी सेवाहरू ल्याएका हौं,” कार्की भन्छन्, “यात्रा अवधिभर यात्रुहरूले यी सेवा प्रयोग गर्न सक्नुहुन्छ ।”

त्यस्तै यात्रुको सुरक्षाका लागि साझा बसभित्र सीसीटिभी क्यामेरा राखिएका छन् । यसले यात्रुको सुरक्षा सुनिश्चित गर्न सघाउने विश्वास छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा सामान हराउने जोखिम पनि उच्च हुन्छ । त्यस्तोमा सीसीटिभी क्यामेरा भयो भने सामान कसले लगेको छ भन्ने थाहा हुन्छ । कार्की अब ल्याउन लागिएको फिचरबारे चर्चा गर्दै भन्छन्, “हामीले लस्ट एन्ड फाउन्ड फिचर पनि ल्याउन लागेका छौं । यसको सहायताले कसैको सामान हराएको छ भने त्यसको पहिचान गरी दिन सकिने प्रणाली विकास गरिरहेका छौं ।”

कुन व्यक्तिको सामान हराएको छ, उसलाई सम्पर्क गर्न र फेला परेको सामान फिर्ता गर्न त्यसमा अकाउन्ट प्रयोग गरेर लगइन गर्नुपर्ने फिचर ल्याइएको उनले सुनाए । व्यक्तिले आफूले यात्रा गरेको रुट र समय भनेको खण्डमा चढेको बस पत्ता लगाइ सामान फिर्ता गर्न सकिने उनले सुनाए । त्यसबाहेक बसको टिकेटमा बस नम्बर पनि हुने भएकाले त्यसले सामान फेला पार्नमा थप टेवा पुगिरहेको हुन्छ ।

अकाउन्ट प्रयोग गरेर लगइन गर्ने उपलब्ध फिचरमा आउँदा दिनहरूमा थप नयाँ सुविधा ल्याउन पनि उपयोगी हुने कार्की सुनाउँछन् । स्ल्याश प्लसले सन् २०१७ देखि नै सार्वजनिक यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने विषयमा काम गर्दै आएको छ । स्ल्याशप्लसले डिजिटल भुक्तानी बाहेक अन्य सबै सिस्टम साझा यातायातमा ल्याइसकेको सीईओ कार्की बताउँछन् । 

“राज्यको नीति राम्रो आयो र निजी कम्पनीले सार्वजनिक यातायातका लागि डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्न पाए भने त्यो पनि छिट्टै सम्पन्न हुन्छ,” उनी भन्छन्, “त्यसपछि सार्वजनिक यातायात सेवामा एउटा इकोसिस्टम तयार हुन्छ । र, त्यसलाई क्रमशः अन्य यातायातमा पनि लागु गर्न सकिन्छ ।” 

सुरुवात साझा यातायातबाट गरेको यो कम्पनीले आगामी दिनमा अन्य यातायातसँग पनि सहकार्य गर्ने योजना बनाएको छ । सम्पूर्ण सार्वजनिक यातायातका साधनलाई एउटै प्लेफर्ममा जोड्ने स्ल्याश प्लसको सङ्कल्प छ । एउटै एपबाट सम्पूर्ण सार्वजनिक सवारी साधन ट्रयाक गर्न सकियो भने यातायात क्षेत्रलाई पूर्ण रूपमा डिजिटाइज गर्न सकिने उक्त कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८१ १२:४३