close

नेपालकै ठुलो आईटी ह्याकाथन हुँदै, प्रविधिमा रुचि राख्ने देशभरका विद्यार्थी सहभागी बन्न सक्ने

टेकपाना टेकपाना

भदौ ३१, २०८१ १६:४९

नेपालकै ठुलो आईटी ह्याकाथन हुँदै, प्रविधिमा रुचि राख्ने देशभरका विद्यार्थी सहभागी बन्न सक्ने

काठमाडौं । कोड फर चेन्जले नेपालकै ठुलो सूचना प्रविधि क्षेत्रको ह्याकाथनको रूपमा परिचित “कोडफेस्ट २०२४ ” को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । २ असोजदेखि सुरु हुने यो कार्यक्रम एक महिनासम्म चल्नेछ ।

कोड फर चेन्जका अनुसार २-१३ असोज (सेप्टेम्बर १८-२९) मा यसको प्रदेश स्तरीय स्पर्धा र फाइनल (नोभेम्बर १४, १५, १६) २९-३० कात्तिक तथा १ मङ्सिरसम्म काठमाडौंमा आयोजना हुनेछ । कोडफेस्ट २०२४ मा सहभागी हुने विद्यार्थीहरूको समूहले दिगो विकासका सात वटा लक्ष्यहरूमा आधारित समस्याहरूको प्राविधिक समाधान विकास गर्नेछन् । 

कोडफेस्टमा गुड हेल्थ एण्ड वेलविङ, क्वालिटी एजुकेसन, जेण्डर इक्वालिटी, इण्डस्ट्री इनोभेसन एन्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटी, क्लाइमेट एक्सन र पिस जस्टिस एण्ड स्ट्रङ इन्स्टिच्युसनका क्षेत्रका चुनौतीको समाधान निकाल्न विद्यार्थीहरूलाई प्रोत्साहित गरिनेछ ।

ह्याकाथनको पहिलो चरणमा सातै प्रदेशमा प्रतियोगिता हुनेछ ।जसबाट छानिने २१ ओटा उत्कृष्ट टोलीहरू २९ कात्तिकदेखि १ मङ्सिरसम्म काठमाडौंमा आयोजना हुने राष्ट्रिय स्तरको फाइनलका लागि छनोट हुनेछन् ।   

प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो स्थानमा आउने टिमले क्रमशः २ लाख र १ लाख रुपैयाँ जित्नेछन्। साथै, पिपुल्स च्वाइस अवार्ड अन्तर्गत ३० हजार रुपैयाँ नगद पुरस्कारका साथै विभिन्न ग्याजेट तथा स्मार्टफोनसँगै अन्य गिफ्ट ह्याम्पर पनि प्रदान गरिने आयोजकले जनाएको छ । 

कोडफेस्ट २०२४ विद्यार्थीहरूका लागि आफ्नो प्राविधिक ज्ञानलाई प्रदर्शन गर्ने र करियर सम्बन्धी जानकारी लिने सुनौलो अवसर हुने आयोजकको विश्वास छ । ह्याकाथनमा विद्यार्थीहरूबाट प्रस्तुत हुने उत्कृष्ट व्यावहारिक आइडियाहरूलाई इन्कुबेसन अर्थात् लगानीको अवसर पनि प्रदान गरिने आयोजकले जनाएको छ।   

यसरी व्यवस्थित ढङ्गले आयोजना हुन लागेको कोड फेस्ट २०२४ ले आईटी र टेक्नोलोजी क्षेत्रमा इच्छुक विद्यार्थीहरूका लागि आफ्नो सीप र क्षमता प्रदर्शन गर्ने एक राष्ट्रिय स्तरको प्रोग्राम ल्याएर आउँदैछ । राजधानीमा मात्र सीमित नभएर प्रत्येक प्रदेशबाट विद्यार्थीहरूले सहभागी हुन सक्ने गरी आयोजना हुन लागेको यस कार्यक्रमले देशका प्रत्येक विद्यार्थीलाई समान अवसर दिने विश्वास छ ।

 

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८१ १६:५०