close

थोरै भाडामा कसरी पठाओ, इनड्राइभ चढ्ने ?

टेकपाना टेकपाना

असोज १, २०८१ १५:१

थोरै भाडामा कसरी पठाओ, इनड्राइभ चढ्ने ?

काठमाडौं । अहिले पठाओ, इनड्राइभ, टुटल, जुमजुम जस्ता राइड शेयरिङ प्लेटफर्महरू राजधानीमा सामान्य बनिरहेका छन् । ​पठाओले त आफ्नो सेवा देशव्यापी बनाउँदै लगेको छ ।

यात्रा गर्ने सहज र किफायती विकल्पको रूपमा यी सेवाले आममानिसको जीवनलाई सहज बनाएका छन् । तर, कहिलेकाहीँ यी सेवा प्रयोग गर्दा भाडा निकै महँगो लाग्न सक्छ । यात्रुहरूले यस्ता प्लेटफर्ममा भाडा बापतको पैसा बचाउन विभिन्न उपाय अपनाउन सक्छन् । आज हामी यस्तै केही उपायको चर्चा गर्दै छौं:

विभिन्न एपहरूको तुलना गरेर सस्तो प्लेटफर्म छान्ने

पठाओ, इनड्राइभ, टुटल, जुमजुम जस्ता प्लेटफर्मको भाडा एउटै दूरीका लागि फरक-फरक हुन सक्छ । त्यसैले यात्रा गर्दा सबै प्लेटफर्मको मूल्य तुलना गरेर सस्तो देखिएको प्लेटफर्मबाट यात्रा गर्नुहोस् ।

इनड्राइभले यात्रुलाई आफैंले कति तिर्ने हो भन्ने प्रस्ताव राख्न दिन्छ, जसले गर्दा तपाईंले आफ्नै बजेट अनुसार सस्तोमा यात्रा गर्न सक्नुहुन्छ । यस्तो विकल्प अन्य प्लेटफर्ममा  उपलब्ध छैन ।

अफर र प्रोमो कोड प्रयोग गर्ने

राइड शेयरिङ प्लेटफर्महरूले बेलाबेला विभिन्न अफर र प्रोमोसनल कोड उपलब्ध गराउँछन् । जसले यात्रा सस्तो बन्न सक्छ । पठाओ, टुटल, जुमजुम जस्ता एपहरूले नयाँ प्रयोगकर्तालाई आकर्षित गर्न सुरुवाती केही राइडमा विशेष छुट दिने गरेका छन् । साथै पुराना तथा नियमित प्रयोगकर्ताका लागि पनि कम्पनीले यस्ता अफर ल्याइरहेका हुन्छन् ।

यसकारण राइड शेयरिङ एपले पठाउने प्रोमो कोडका नोटिफिकेसनहरू ख्याल गर्नुहोस् । साथै यी एपका सामाजिक सञ्जालमा पनि अफरबारे जानकारी दिएको हुनसक्छ । त्यसैले यात्रा गर्नुअघि उपलब्ध प्रोमो कोड चेक गर्न नबिर्सिनुहोस् । कतिपय प्रोमो कोड पहिल्यै एप्लाई गरेर राख्न सक्नुहुन्छ र यात्राका क्रममा प्रयोग गर्न सक्नुहुन्छ । यी कोडहरूबाट भाडामा छुट पाउन सक्नुहुन्छ । तर यस्तो सुविधा इन्ड्राइभ प्लेटफर्ममा छैन ।

भाडाको रकम बाँडफाँट गर्ने

यदि तपाईंले साथी वा परिवारसँग एउटै ठाउँमा यात्रा गर्दै हुनुहुन्छ भने एउटै राइड साझेदारी अर्थात् कारपुलिङ गर्नु बुद्धिमत्ता हुन्छ । तपाईंले ट्याक्सीमार्फत यात्रा गरेपछि लाग्ने भाडा रकम विभाजित गर्न सक्नुहुन्छ । यसले ‍तपाईंको यात्रालाई सस्तो पार्न सहयोग गर्छ । 

यात्राको समय व्यवस्थापन गर्ने

पठाओ जस्ता प्लेटफर्ममा चाप बढी भएको समयमा भाडा महँगो हुने सम्भावना हुन्छ । बिहानको अफिस समय र बेलुकाको समयमा तुलनात्मक रूपमा भाडा बढी हुन सक्छ । यसैले यदि सम्भव छ भने अफ-पिक आवरमा यात्रा गर्नुहोस् ।

छोटो दूरीका लागि बाइक राइड लिने

चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे दुवै प्रकारका सवारी साधनहरू राइड शेयरिङमा उपलब्ध छन् । यदि तपाईं जानुपर्ने दूरी नजिकै छ भने सकभर मोटरसाइकल/स्कुटरको सेवा लिनुहोस् । यसो गर्दा भाडा सस्तो हुनुका साथै ट्राफिक जाममा पनि त्यति पर्नुहुन्न । 

लोयल्टी कार्यक्रमहरूमा सामेल हुने

 राइड शेयरिङ प्लेटफर्महरूले बेलाबेला लोयल्टी कार्यक्रमहरू पनि सञ्चालन गर्छन् । यी कार्यक्रमहरूमा सामेल भएर तपाईंले विभिन्न प्रकारका छुट र पुरस्कार प्राप्त गर्न सक्नुहुन्छ ।

बाटोबारे जानकारी लिने

कहिलेकाहीं ड्राइभरहरूले गलत बाटो गएर भाडा बढी उठ्न सक्छन् । त्यसैले तपाईंले एपको नक्सा प्रयोग गरेर कुन बाटो सस्तो र छिटो हुन्छ भनेर पहिले नै बुझ्न सक्नुहुन्छ । यसले तपाईंलाई अतिरिक्त खर्चबाट बचाउँछ ।

इनड्राइभमा सस्तो मूल्य राख्ने

इनड्राइभमा राइडरहरूलाई तपाईंले आफ्नो मूल्य प्रस्ताव गर्न सक्नुहुन्छ । हुन त चालकले आफैं पनि मूल्य सुझाव गर्न सक्छन् । तर त्यसभन्दा केही सस्तो रकममा तपाईंले प्रस्ताव पठाउन सक्नुहुन्छ ।

समग्रमा राइड शेयरिङ प्लेटफर्महरूले धेरैलाई सजिलो र सहजता प्रदान गरेको छ । तपाईंले यस्तो प्लेटफर्ममा अफलाइन नलिनु नै बेस हुन्छ । किनकि अफलाइन राइडमा राइडरहरूले त्यसै शुल्क बढाउँछन् । र, पछि कथमकदाचित दुर्घटना भइहाले राइड शेयरिङ सेवा दिने कम्पनी जिम्मेवार हुँदैन र बीमा लगायत अन्य सेवाबाट वञ्चित हुनुपर्छ । 

पछिल्लो अध्यावधिक: असोज १, २०८१ १५:३०