close

दशैं आउने बित्तिकै किन बन्द हुन्छ सरकारी ईमकर्स ‘नेपाल फुड’ ?

टेकपाना टेकपाना

असोज २२, २०८१ १२:५८

दशैं आउने बित्तिकै किन बन्द हुन्छ सरकारी ईमकर्स ‘नेपाल फुड’ ?

काठमाडौं । नेपाली उपभोक्तालाई सहुलियत मूल्यमा खाद्यवस्तु उपलब्ध गराउनका लागि सरकारले सञ्चालनमा ल्याएको ‘नेपाल फुड’ ईकमर्स प्लेटफर्म अहिले बन्द अवस्थामा छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले वि.स. २०७७ मा यो प्लेटफर्म सुरु गरेको थियो, जसले विशेषगरी दशैं, तिहार र छठ जस्ता पर्वहरूमा सहुलियत पसलको अनलाइन भर्सनको रूपमा काम गर्थ्यो । 

तर हाल ‘नेपाल फुड’ को वेबसाइट खोल्दा ‘अन्डर मेन्टेनेन्स’ लेखिएको पेज मात्र देखिन्छ । ग्राहकहरूले अनलाइन मार्फत दैनिक उपभोग्य सामानहरू विशेषगरी चामल, चिनी, नुन, दाल, खसी, च्याङ्ग्रा लगायतका वस्तुहरू सहुलियत दरमा खरिद गर्न सक्ने यो सेवा अहिले ठप्प भएको छ । वेबसाइट बन्द हुनुको मुख्य कारण भने डेलिभरी व्यवस्थापनमा आउने झन्झट भएको जनाइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका ग्राहक प्रतिनिधि निर्मल भट्टराईले भने, "हामीले हाल वेबसाइट बन्द गरेका छौं । खसीबोका बिक्रीमा ध्यान केन्द्रित गर्नुपर्ने भएकाले यो निर्णय लिइएको हो । दशैंको समयमा खसीबोका र अन्य खाद्य वस्तुको अत्यधिक माग बढ्ने हुँदा अनलाइन डेलिभरी गर्न गाह्रो हुन्छ र हाम्रो सम्पूर्ण मेनपावर त्यही व्यवस्थापन गर्नुपर्ने भएको छ ।"

सहुलियत पसलका लागि कम्पनीले रामशाहपथ, फर्पिङ र भक्तपुरमा काउन्टरहरू खोलिसकेको छ, जहाँ उपभोक्ताहरूले सजिलै सामान खरिद गर्न सक्ने उनले बताए । भट्टराईले भने, "अनलाइन सेवाका लागि हामीलाई गाडी, मान्छे लगायत धेरै स्रोतसाधन चाहिन्छ । तर, खसीबोकाको व्यापार र व्यवस्थापनले गर्दा हामीलाई यो सम्भव भएको छैन, त्यसैले वेबसाइट बन्द गरिएकको छ ।"

सरकारले दशैंको बजारमा हुने महँगीलाई मध्यनजर गर्दै सहुलियत पसल सञ्चालनमा ल्याउने गर्छ, जसको अनलाइन भर्सन नै ‘नेपाल फुड’ हो । यस प्लेटफर्ममार्फत उपभोक्ताहरूले चामल, चिनी, नुन, सिमी, दाल जस्ता खाद्य वस्तुहरू सहुलियत दरमा खरिद गर्न पाउँथे, तर अनलाइन सेवा बन्द हुँदा उपभोक्ताहरूलाई कम्पनीको भौतिक काउन्टरमा नै निर्भर रहनुपर्ने भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २२, २०८१ १२:५८