काठमाडौं । तपाईंले कहिल्यै कुनै व्यक्तिसँग कुरा गरेको सपनामा देख्नु भएको छ ? सपनामै गरेको कुरा वास्तविकमा नै हुन्छ भनियो भने पत्याउनु हुन्छ ?
क्यालिफोर्नियाका वैज्ञानिकहरूले यसलाई वास्तविकतासँग नजिक ल्याएका छन् । उनीहरूले यसका लागि दुई व्यक्तिलाई ल्युसिड ड्रिमको अवस्थामा ल्याए । यो यस्तो अवस्था हो जहाँ व्यक्तिलाई आफू सपना देखिरहेको छु भन्ने थाहा हुन्छ ।
खासगरी यस्तो बेला व्यक्तिले आफ्नो सपनालाई नियन्त्रण गर्न सक्छ । निदाएको बेला बाहिर जे भइरहेको छ त्यो सबै थाहा पाउने अवस्था नै ल्युसिड ड्रिम हो । क्यालिफोर्नियामा अवस्थित आरईएमस्पेस नामक स्टार्टअफ कङ्गपनिले डिजाइन गरेको प्रविधिले सुताइ र ल्युसिड ड्रिमिङको अवस्थालाई मजबुद बनाएको छ ।
त्यही क्रममा छनोट भएका व्यक्तिलाई परिक्षणमा राखिएको थियो । उनीहरूले सपनामै एक अर्कासँग कुराकानी गर्न सफल भएको दाबी गरिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम डेलीमेलका अनुसार यो परिक्षण २४ सेप्टेम्बरमा गरिएको थियो ।
त्यस क्रममा सहभागी व्यक्तिहरू बेडमा पल्टिए । त्यसपछि उनीहरूको मस्तिष्कमा विशेष किसिमको डिभाइस जडान गरियो जसले उनीहरूको मस्तिष्कको गतिविधि ट्रयाक गर्थ्यो । त्यसबाहेक उक्त प्रविधीले सुताइ सम्बन्धि अन्य डेटा पनि ट्रयाक गरेको थियो । उक्त डिभाइस आरईएमस्पेस नामको सेन्ट्रल सिस्टममा जडान गरिएको थियो । त्यहीबाट रियल टाइममा सबै अवस्था नियमन भइरहेको थियो ।
एक व्यक्ति ल्युसिड ड्रिममा प्रवेश गर्नासाथ एक्सपेरिमेन्ट सुरु भयो । ल्युसिड ड्रिम देख्दा हुने मस्तिष्कका गतिविधिहरू सिस्टमले पत्ता लगायो र ‘रेम्यो’ नामको अनौठो भाषाबाट पहिलो सहभागीलाई एउटा शब्द कानमा लगाएको उपकरण मार्फत सपनामा सुस्त रूपमा सुनाइयो ।
सपनामा अर्का सहभागीले ‘झिलक’ शब्द सुने र त्यसलाई ठूलो स्वरले उच्चारण गरे । उनको आवाज सेन्सरहरूले रेकर्ड गरे र उक्त आवाज सिस्टममा सुरक्षित गरियो । यो पहिलो चरणको कुराकानी थियो जहाँ एउटा सन्देश एक सपना देख्ने व्यक्तिबाट अर्को सपना देख्नेलाई पठाइएको थियो ।
त्यसको आठ मिनेटपछि अर्का व्यक्ति ल्युसिड ड्रिममा प्रवेश गरे । त्यसपछि सिस्टमले उनी ल्युसिड ड्रिममा भएको पहिचान गर्यो र ‘झिलक’ शब्द इयरबड्समार्फत ती व्यक्तिको कानमा पठायो । उनले उक्त शब्द सुनिन् र त्यसलाई दोहोर्याइन् । अर्थात उनलाई जे मेसेज पठाइयो थियो त्यो उनले पाइन् ।
दोस्रो व्यक्ति ब्युँझिएपछि उनले उक्त शब्द सपनामा सुनेको पुष्टि गरिन् । यसबाट सपनामै पनि दुई व्यक्ति सञ्चार गर्न सक्छन् भन्ने परीक्षण सफल भयो ।
यस परीक्षणमा सर्भर, वाईफाई र सेन्सर जस्ता विशेष उपकरण प्रयोग भएको बताइएको छ । तीबाहेक अन्य के कस्ता प्रविधि प्रयोग भएका थिए भन्ने विषय खुलाइएको छैन । यो परीक्षण सम्बन्धित वैज्ञानिकबाहेक अन्य वैज्ञानिकले विश्लेषण गर्न पाएका छैनन् । यद्यपि अन्य वैज्ञानिकबाट यो स्वीकृत भएको सन्दर्भमा भने ‘स्लिप रिसर्च’ मा ठूलो उपलब्धि हासिल भएको मानिनेछ । यसले गर्दा मानसिक स्वास्थ्यसम्बन्धीका उपचारमा सहज हुने बताइएको छ ।
आईएमस्पेसका प्रमुख कार्यकारी अधिकृत माइकल रडुगाले भने, “हिजो, सपनामा कुरा गर्नु भनेको साइन्स फिक्सन जस्तो थियो । भोलि यो सामान्य हुनेछ । र, हामी प्रविधिबिना जीवन कल्पनै गर्न नसक्ने अवस्थामा हुनेछौं । यसले व्यवसायिक प्रयोजनका लागि कैयौं सम्भावनाहरूको ढोलका खोलेको छ । र, हाम्रो सपनाको संसारमा सञ्चारबारे जे सोच्थ्यौं त्यसलाई नै परिवर्तन गरिदिएको छ ।”