बृहस्पतिमा मान्छेका लागि उपयुक्त बासस्थान खोज्दै नासा, अध्ययनका लागि पठाइयो यान
असोज २९, २०८१ ८:५८
काठमाडौं । बृहस्पति ग्रहको एक चन्द्रमा ‘युरोपा’को अध्ययन गर्न अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यान प्रक्षेपण गरेको छ । नेपाली समय अनुसार सोमबार राति ९ः५१ बजे फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरबाट फाल्कन हेभी रकेटमार्फत ‘युरोपा क्लिपर’ अन्तरिक्ष यान प्रक्षेपण गरिएको हो ।
यो अन्तरिक्ष यान खासगरी बृहस्पति ग्रहको चन्द्रमा ‘युरोपा’को अध्ययन गर्न निर्माण गरिएको थियो । १० अक्टोबरमै यान प्रक्षेपण गर्ने तयारी गरिए पनि त्यहाँ आएको तुफानका कारण कार्यक्रम स्थगित गरिएको थियो । तर केन्द्रमा रहेका टोलीहरूले तुफान पछि त्यहाँको अवस्था विश्लेषण गर्दै अन्तरिक्ष यानलाई पुनः प्रक्षेपण स्थलमा फर्काउन अनुमति दिएसँगै सोमबार राति अर्थात १४ अक्टोबरमा प्रक्षेपण गरिएको छ ।
सोमबार यान सफलतापूर्वक पृथ्वीको कक्षमा प्रवेश गरेको नासाले पुष्टि गरेको छ । नासाका अनुसार उनीहरूले यान प्रक्षेपण भएको एक घण्टा १० मिनेट पछि युरोपा क्लिपरबाट सिग्नल प्राप्त गरेका थिए । यसको अर्थ मिसन कन्ट्रोलले अन्तरिक्ष यानसँग सम्पर्क गरिरहेको छ र आवश्यक डेटा प्राप्त गरिरहेको छ ।
यान प्रक्षेपण भएको तीन घण्टापछि युरोपा क्लिपरको ठूला सौर्य प्यानलहरू फैलाइएको थियो । यी प्यानलले अन्तरिक्ष यानलाई यात्राकाे क्रममा ऊर्जा प्रदान गर्न सहयोग गर्नेछन् ।
सौर्यमण्डल अन्तर्गत बरफले ढाकिएको समुद्र युक्त संसारको अध्ययनमा समर्पित ‘युरोपा क्लिपर’ नासाको पहिलो अन्तरिक्ष यान हो । यसको उद्देश्य युरोपा नामक चन्द्रमा बस्न योग्य छ कि छैन भनी पत्ता लगाउनु हो ।
क्यालिफोर्नियाको पासाडेनामा रहेको नासाको जेट प्रपल्सन ल्याबका साइन्स सिस्टम इन्जिनियर जेनी क्याम्पमियरले नासाको प्रत्यक्ष प्रसारणको क्रममा भनिन्, “यो हाम्रो अन्वेषण यात्राको सुरुवात हो । हामी युरोपाबाट जे जति सिक्न गइरहेका छौं त्यो अद्भुत हुनेछ । सबै वैज्ञानिक क्षेत्रहरूले यसबाट केही न केही सिक्न सक्छन् । यदि यो मानवका जीवनका लागि उपयुक्त भयो भने यसले ब्रह्माण्डको स्थानप्रतिको बुझाइ नै परिवर्तन गर्न सक्नेछ ।”
In praise of mystery ✨
— NASA (@NASA) October 14, 2024
After a successful launch aboard a @SpaceX Falcon Heavy rocket from @NASAKennedy, @EuropaClipper is on its way from our ocean world to another to see if Jupiter's moon Europa has conditions suitable for life: https://t.co/nfI8RjiAuQ pic.twitter.com/rLJdUg7VHk
युरोपा क्लिपरले युरोपाको बाक्लो बरफको तह मुनि रहेको महासागरको अध्ययन गर्न नौवटा उपकरण र गुरुत्वाकर्षण प्रयोगमा ल्याउनेछ । युरोपाको महासागरमा पृथ्वीका महासागरहरूको भन्दा दुई गुणा बढी पानी भएको अनुमान गरिएको छ ।
“हाम्रो युरोपासम्बन्धी सबैभन्दा महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दिन यी उपकरणहरू एक साथ काम गर्नेछन्,” नासाको जेट प्रपल्सन ल्याबका मिसन वैज्ञानिक रोबर्ट पप्पालार्डोले भने, “हामी युरोपाको केन्द्र, चट्टानी आन्तरिक भाग, महासागर, बरफको तह, पातलो वायुमण्डल र यस वरपरको अन्तरिक्ष वातावरणसम्म सबै कुरा बुझ्न सक्नेछौं ।”
यस अन्तरिक्ष यानमा संसारभरका विभिन्न व्यक्तिले पठाएका २६ लाखभन्दा बढी नामहरू पनि छन् । साथै यसमा अमेरिकी कवि एडा लिमोनद्वारा लेखिएको एउटा कविता पनि पठाइएको छ ।
प्रक्षेपण पछि युरोपा क्लिपर अन्तरिक्ष यानले दुई अर्ब ९० करोड किलोमिटर यात्रा गर्नेछ । र, अप्रिल २०३० मा बृहस्पतिमा पुग्ने अपेक्षा गरिएको छ । यस यात्रामा अन्तरिक्ष यानले मङ्गल र पृथ्वीको नजिकबाट उडान भर्नेछ । जसले ती ग्रहहरूको गुरुत्वाकर्षणको सहायताले कम इन्धन प्रयोग गर्दै गति बढाउन मद्दत गर्ने वैज्ञानिकले बताएका छन् ।
युरोपा क्लिपरले युरोपियन स्पेस एजेन्सीद्वारा अप्रिल २०२३ मा प्रक्षेपण गरिएको जुस (Juice) वा बृहस्पतिका बरफले ढाकिएका चन्द्रमाहरूको ‘अन्वेषक’ नामक अन्तरिक्ष यानसँग मिलेर काम गर्नेछ । जुस जुलाई २०३१ मा बृहस्पति र यसका ठूला चन्द्रमाहरूको अध्ययन गर्न पुग्नेछ ।
पछिल्लो अध्यावधिक: असोज २९, २०८१ ९:०
