काठमाडौं । नेपालमै बनेको जीटीए शैलीको गेम ‘गाउँले’ को बेटा भर्सन हालै सार्वजनिक भएको छ । करिब चार वर्षको मेहेनतपछि नेपाली गेम डेभलपर असिम शाक्यले यो गेम तयार पारेका हुन् । शाक्यले गेममा नेपालको मौलिकता झल्काउने प्रयास गरेका छन्, जसमा क्यारेक्टरका कपडा, घर, सडक, मन्दिर तथा अन्य संरचनाहरूमा नेपाली पहिचान प्रस्ट देखिन्छ ।
यो गेममा नेपालका हिमाल, पहाड र तराईलाई समेटेको नक्सा दिन वा रातको वातावरणमा अवलोकन गर्न सकिन्छ । काठमाडौंलाई पनि हुबहु गेममा उतारिएको छ, जसले नेपाली परिवेशलाई वास्तविक रूपमा अनुभव गर्न सकिन्छ ।
हाल गेममा ‘एक्सप्लोर’ मोड मात्र उपलब्ध छ भने ‘स्टोरी’ मोडमा काम भइरहेको डेभलपरले जनाएका छन् । गेम परिक्षणकै चरणमा रहेकोले देखिएका त्रुटिहरू हटाउँदै आगामी दिनमा अझ स्थिर बनाउन काम गरिने उनको योजना छ । पूर्ण भर्सन यसै वर्षको डिसेम्बर महिनामा सार्वजनिक गरिने उनको योजना छ । पूर्ण भर्सन सार्वजनिक पश्चात नेपाल बाहिरबाट यो गेम स्टिम प्लेटफर्म मार्फत खरिद गरी खेल्न सकिने छ ।
यो गेम खेल्नका लागि कम्तीमा १६ जीबी र्याम र आरटीएक्स ग्राफिक्स कार्ड भएको आई फाईभ भन्दा माथिको कम्प्युटर आवश्यक पर्छ ।