close

ईभी क्रेजले के पेट्रोलियम पदार्थको आयात घट्दै छ ? यसो भन्छ तथ्यांङ्क

दीपक पौडेल दीपक पौडेल

कात्तिक ९, २०८१ ११:४१

ईभी क्रेजले के पेट्रोलियम पदार्थको आयात घट्दै छ ? यसो भन्छ तथ्यांङ्क

काठमाडौं । पछिल्लो समय विद्युतीय सवारी (ईभी) प्रतिको आकर्षण नेपालमा बढ्दो छ । यसले पेट्रोलियम पदार्थको आयातमा भारी कमी आएको चर्चा चल्न थालेको छ । चार्जिङ स्टेसनहरू एकाएक थपिँदा पेट्रोलको जमानै सकिने त होइन भन्ने बहस पनि सुरु भइरहेकाे छ ।

नेपालको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै चालु आर्थिक वर्षका सुरुका तीन महिनामा पेट्रोलियम पदार्थको आयातमा झन्डै २५ प्रतिशतले गिरावट आएको छ । नेपाल आयल निगमका अनुसार निर्माणका कामहरूमा सुस्तता आउँदा खपत कम भएको हो । तथापि, विद्युतीय सवारीमा बढ्दो चासोले पनि निश्चित प्रभाव पारेको आँकलन गरिएको छ ।

यता, यसै वर्ष नेपालकै ठूलो १६औं नाडा अटो शोमा झन्डै ८० प्रतिशत विद्युतीय सवारी साधनको प्रदर्शनी गरिएको थियो । काठमाडौंका सडकमा ईभी देखिनु्, चार्जिङ स्टेसनहरूको निर्माण र विस्तारमा सरकारी तथा निजी निकायहरूको सक्रियता बढ्दै जानुजस्ता कारणले पनि ईभीको मोहलाई थप बल पुगेको विश्लेषण गरिएको छ ।

नेपालमा पछिल्लो पाँच वर्षयता ईभीको आयात दर उल्लेख्य रूपमा बढिरहेको छ । आव ०७६/७७ मा ५७५ निजी र ६ ओटा सार्वजनिक विद्युतीय गाडी आयात भएको तथ्यांक छ । यस्तै, आव ०७७/७८ मा २४९ निजी र २६ सार्वजनिक सवारी भित्रिए भने आव ०७८/७९ मा १८ सय सात निजी र ९२ सार्वजनिक सवारी आयात भएको देखिन्छ ।

आव ०७९/८० मा आइपुग्दा एकै वर्ष चार हजार २२० निजी र २८१ सार्वजनिक विद्युतीय गाडी नेपालमा भित्रिएका थिए । यसैगरी, आव ०८०/८१ मा निजीतर्फ १२ हजार १४७ र सार्वजनिकतर्फ ८८४ ओटा विद्युतीय गाडी आयात भएको भन्सार विभागको तथ्यांक छ । यस तथ्यांकमा विद्युतीय बाइक र स्कुटर समावेश गरिएको छैन भने सार्वजनिक सवारी साधनको रूपमा बस, मिनीबस र माइक्रोबसलाई समावेश गरिएको छ ।​

यता आयल निगमको पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको आयात आव ०७९/८० मा आएर घटेको देखिन्छ । आव ०७६/७७ मा नेपालमा पाँच लाख सात हजार ७८६ किलोलिटर पेट्रोल र १४ लाख ५३ हजार ५५३ किलोलिटर डिजेल आयात भएको देखिन्छ। यस्तै, आव ०७७/७८ मा पाँच लाख ८७ हजार ६७७ किलोलिटर पेट्रोल र १६ लाख ९८ हजार ४२७ किलोलिटर डिजेल तथा आव ०७८/७९ मा सात लाख ३६ हजार २७६ किलोलिटर पेट्रोल र १७ लाख २३ हजार ५७१ किलोलिटर डिजेल आयात भएको देखिन्छ ।

यो तथ्याङ्क आव ०७९/८० मा आइपुग्दा उल्लेखनीय मात्रामा घटेको देख्न सकिन्छ । आव ०७९/८० को तथ्याङ्क अनुसार नेपालमा छ लाख ८० हजार किलोलिटर पेट्रोल र १४ लाख आठ हजार ४९४ किलोलिटर डिजेल आयात भएको छ । आव ०७९/८० को तुलनामा आव ०८०/८१ मा आयातको मात्रा थोरै बढेको देखिए पनि अघिल्ला आर्थिक वर्षहरूको तुलनामा आयातको मात्रा घट्दो क्रममै रहेको देखिन्छ । आव ०८०/८१ मा छ लाख ८७ हजार ९३१ किलोलिटर पेट्रोल र १४ लाख ११ हजार ४४० किलोलिटर डिजेल आयात भएको छ ।

यसरी पछिल्लो पाँच वर्षको ईभी र पेट्रोलियम पदार्थको आयातलाई मात्र तुलना गरेर भन्ने हो भने ईभी आयात उच्च रहेको समयमा पेट्रोल र डिजेलको आयातमा कमी आएको पाइन्छ । नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेसन परियोजनाका प्रमुख सागर ज्ञवाली ईभीले वर्षेनी झन्डै दुई अर्ब ९२ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात घटाएको अनुमान गर्छन् ।

यता अमलेखगञ्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्य भने ईभीका कारण पेट्रोलको आयात घटेको कुरामा पूर्ण सहमत छैनन् । “नेपालमा पछिल्लो समय विद्युतीय गाडीको आकर्षण बढेको यथार्थ हो । यसले पेट्रोलियम पदार्थको आयातमा केही असर पारेको होला, तर आयात घट्नुमा ईभी नै प्रमुख कारक हो भन्न मिल्ने अवस्था छैन,” उनले भने ।

उनको भनाइमा नेपालमा हाल सार्वजनिक यातायातका साधनहरूमा ईभीको प्रयोग अझै थोरै छ । ठूला निर्माण कार्यहरूमा डिजेल र पेट्रोलको प्रयोग भइरहेकाले आयातको माग कम नभएको उनी बताउँछन् । उनका अनुसार सार्वजनिक यातायात र निर्माण कार्यमा ईभीको प्रयोग नभएसम्म पेट्रोलियम पदार्थको माग घटाउन चुनौती नै रहन्छ । 

“हाम्रा ठूला ठूला विकास निर्माणका कामहरूमा डिजेल इन्जिन यन्त्र तथा गाडीहरूको प्रयोग हुन्छ । यसकारण विकास निर्माणका कार्यहरू कुन दरमा भइरहेका छन् भन्ने कुराले भने आयातमा असर पर्छ । पछिल्लो तीन महिनाकै कुरा गर्ने हो भने यो समयमा विकास निर्माणका उल्लेखनीय कामहरू भएनन् । यसले मानिसहरूको 'मुभमेन्ट' पनि कम भयो र आयात घट्यो,” उनले भने ।

आचार्यको यस दाबीलाई पछिल्लो तीन महिनामा आयात भएका आइसी इन्जिन सवारी साधनको तथ्याङ्कले पनि बलियो आधार प्रदान गर्दछ । विभागको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो तीन महिनामा ७१२ युनिट आइसी इन्जिन सार्वजनिक सवारी (बस, मिनी बस र माइक्रो बस मात्र) आयात भएको देखिन्छ ।

यस्तै नेपालमा चार्जिङ पोइन्ट निर्माण तथा विस्तारको क्षेत्रमा क्रियाशील कम्पनी दिगोका मार्केटिङ प्रमुख शिव अधिकारी पनि नेपालको सार्वजनिक यातायातमा उल्लेखनीय मात्रामा ईभीको प्रयोग नभएसम्म पेट्रोलियम पदार्थ माथिको निर्भरता कायम रहने धारणा व्यक्त गर्छन् । हाल सरकारले सार्वजनिक यातायतमा विद्युतीय सवारी साधनको प्रयोग बढाउन कुनै उल्लेखनीय कार्य नगरेको उनको गुनासो छ ।

“ईभीको माध्यमबाट पेट्रोलियम पदार्थको आयात घट्छ भन्ने कुरामा दुईमत छैन । तर यसका लागि सरकारको भूमिका अझै पनि प्रभावकारी रूपमा देखिएको छैन । सार्वजनिक यातायातको क्षेत्रमा एडप्सन रेट अझै कम नै छ । यसलाई बढाउन आवश्यक पूर्वाधार विकास गर्ने, सहुलियत प्रदान गर्ने लगायतका पहल गरिनुपर्छ । यसकारण ईभीको कारण पेट्रोलको आयात घट्यो भन्ने बेला अझै आएको छैन जस्तो लाग्छ । तर छिट्टै यसो भन्न पाइन्छ भन्ने कुरामा आशावादी छु” उनले थपे ।

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८१ १२:५७