close

नेपालले खेल हार्दा सामाजिक सञ्जालभर प्रधानमन्त्री ओलीलाई गाली

टेकपाना टेकपाना

कात्तिक १५, २०८१ ८:४९

नेपालले खेल हार्दा सामाजिक सञ्जालभर प्रधानमन्त्री ओलीलाई गाली

काठमाडौं । बुधबार साँझ साढे ६ बजेदेखि साफ महिला च्याम्पियनशिप २०२४ को फाइनल खेल सुरु भयो । नेपाल र बङ्गलादेशबीच भएको खेलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भएर उपस्थित थिए । प्रधानमन्त्री ओली उपस्थित हुने समाचार आएपछि नै केही सामाजिक सञ्जाल प्रयोगकर्ता आक्रोशित बनेका थिए ।

खासगरी अखिल नेपाल फुटबल संघ (एन्फा)ले  टिकट भौतिक रूपमै बिक्री गर्न दर्शकलाई घन्टौं लाइनमा उभ्याउनु, १५ हजार बढी सिट क्षमता भए पनि ११ हजार टिकट मात्र वितरण गर्नु, लाइनमा लागेका दर्शक पनि टिकट नपाएर रित्तै घर फर्किनुपर्ने अवस्थाले दर्शकलाई आक्रोशित बनाइरहेको थियो । 

प्रधानमन्त्री ओली सहभागी हुन लागेकाले उनले आफ्ना समर्थकका लागि सिट मिलाइदिन एन्फालाई जोड दिएको भन्ने अड्कलसमेत काटियो । खेल हाफ टाइमसम्म बराबरीमा थियो । दोस्रो हाफमा बङ्गलादेशले दुई र नेपालले एक गोल छिरायो । योसँगै यो संस्करणको साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशले उचाल्यो । 

त्यसलगत्तै केही आक्रोशित दर्शकले मैदानमै ओली विरुद्ध नारा लगाउन थाले । सामाजिक सञ्जाल‍मा नकारात्मक पोस्ट र कमेन्ट आए ।

खेल सकिए लगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमा नेपाली टिमको फोटो राख्दै लेखेका थिए, “साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेले । हाम्रो मेहनत अब अर्को खेल जित्नेगरी हुनेछ । धन्यवाद नेपाली टोली !”

उक्त पोस्टमा यो समाचार तयार पार्दासम्म २५ हजार बढी रियाक्सन, नौ हजार बढी कमेन्ट र ४०० बढी शेयर भएको छ । त्यसमा आएका अधिकांश कमेन्टमा ओलीलाई गाली गरिएको छ । फेसबुकमा ‘पनौती’ शब्द सर्च गर्ने हो भने अधिकांशले ओलीको नाम यही शब्दसँग जोडेका छन् । ‘पनौती’ शब्दको बाढी उनको कमेन्टभर आएका छन् ।

‘आफ्नो उपस्थितिमा शंका गर्नुस् बा’, ‘तँ अलछिनाले गर्दा आजको गेम हरेको हो’, ‘केपी ओली मुर्दावाद’, ‘पनौती बुढा तिमीलाई जान्ने भएर कोले जान भनेको ?, घरमा बसेर टिभीमा हेर्न सकेनौ ?’ लगायतका कमेन्ट गरिएको छ । 

फेसबुकमा केपी ओली सर्च गर्ने हो भने पनि अहिले यो किवर्ड ट्रेन्डिङमा परेको छ । त्यस्तै पनौती शब्द पनि धेरै प्रयोग भएको छ । पोस्ट हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

यही प्रतियोगिताको सेमिफाइनलमा भारत र नेपालबीच खेल हुँदा नेपाली समर्थक रेफ्रीविरुद्ध सामाजिक सञ्जालमा खनिएका थिए । भुटानकी रेफ्री ओम चोकीलेका विरुद्धमा सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गरेका थिए ।

नेपालमा भुटानी रेफ्रीको विरोध गरिएको र सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गरिएको विषयलाई भुटानका विभिन्न फेसबुक पेजले पनि कभर गरेका थिए । ती पेजमा ‘बुद्धको उपदेश मान्ने देशका हामी र बुद्ध जन्मेकै देशका नागरिकबीच यो कस्तो सम्बन्ध’ भन्दै नेपालीले सामाजिक सञ्जालमा देखाएको व्यवहारको आलोचना गरेका थिए ।

नेपालीले प्रधानमन्त्री ओली, रेफ्री चोकीप्रति गरेको नकारात्मक टिप्पणीलाई लिएर पनि सामाजिक सञ्जालमा विभिन्न विचार राखिएका छन् । फेसबुकमा विनोद कमरेड नाम भएका प्रयोगकर्ता लेख्छन्, “पनौती लाग्यो । लोद्दर लाग्यो । अलच्छिन भयो । भाग्यले साथ दिएन । दशा लाग्यो ।  थुक्क तिमीहरुको बुद्धि । दया पो लागेर आयो है । यो नै नेपाली समाजको मनोविज्ञान हो । जबसम्म यस्ता अन्धविश्वासबाट मुक्त हुँदैनौ तब सम्म आफूलाई मान्छे भएको स्वीकार नगर्न बिनम्र अनुरोध छ । तिमीहरुको आईक्यू लेबल मान्छे हुन लायक छैन ।”

खेल क्षेत्रमा लगानी भएन, ग्राउन्ड भएन, खेलाडीहरुलाई पारिश्रमिक भएन आदि इत्यादि विषयमा सरकारको आलोचना गर्नु सार्थक भएको उनको टिप्पणी छ । एक्समा 'बोधी विनोद' नाम भएका व्यक्ति लेख्छन्, “जितेपछि गोर्खाली भएको कारण जित्छन् अनि हार्दा पनौती लागेको कारण हार्छन् । यस स्तरको लजिक छ ।”

कतिपयले भने सरकारले खेलकुद विकासमा पर्याप्त स्रोत, समर्थन र नीति नल्याएको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गरेका छन् । यस्तो असन्तोष प्राय हारको बेला गालीको रूपमा बाहिर आउने गर्छ । त्यस्तै खेलप्रतिको भावनात्मक लगावले गर्दा मानिसहरू कहिलेकाहीं भावनामा बगेर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने गर्छन् । तर यस्तो आक्रोशलाई क्षणिक र आवेशमा आएको प्रतिक्रिया मान्नुपर्ने मत धेरैको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८१ १३:११