काठमाडौं । तिहारको रमाइलो र हर्षोल्लासको माहोलमा आइतबार इन्ड्राइभले सेवाग्राहीलाई ठूलै झड्का दियो । नेपालीहरूको दोस्रो ठूलो चाडमा इन्ड्राइभमा भाडा अकस्मात तेब्बर महँगो भएपछि सामाजिक सञ्जालमा गुनासो र आक्रोशको आँधी नै चल्यो । फेसबुक, एक्स, टिकटक जस्ता सामाजिक सञ्जालमा प्रयोगकर्ताहरू इन्ड्राइभमाथि खनिए ।
‘इन्ड्राइभले चाडबाडको मौका छोपेर हामीलाई लुट्यो !’ भन्दै उनीहरूले तिहारको मसलामा मिसाइएको यो ‘भाडा काण्ड’लाई बदमासीको संज्ञा दिएका छन् । तिहारको दिन घुम्न र भेटघाट गर्न निस्किएका यात्रुहरूले अत्यधिक भाडा तिर्नुपर्ने भएपछि इन्ड्राइभले आफ्नो ग्राहकको विश्वासलाई झन् धराशयी बनाएको उनीहरूको आरोप छ ।
इन्ड्राइभले भने आफ्नो एपमा देखिएको समस्याका कारण भाडा बढेको प्रतिक्रिया दिएको छ । फेसबुकमा स्टोरी राख्दै कम्पनीले एपमा समस्या आएको जानकारी दिएको हो ।
एपको समस्या कि ‘चान्समा डान्स’ ?
इन्ड्राइभले सामाजिक सञ्जालमा ‘भाडा निर्धारण सम्बन्धी समस्याका लागि क्षमायाचना’ गर्दै यो समस्या प्रविधिगत त्रुटिका कारण भएको बताएको छ।
“यो समस्या पूर्ण रूपमा समाधान भइसकेको छ, र यसले तपाईंलाई परेको असुविधाप्रति हामी दुःखी छौं,” कम्पनीले भनेको छ । तर, सेवाग्राहीहरूले भने यो क्षमायाचनालाई अवसरको फाइदा उठाउने चालबाजीको रूपमा लिएका छन् ।
कम्पनीका अनुसार तिहारको दिन अत्यधिक माग र उपलब्ध चालकहरूको सङ्ख्याबीच असन्तुलन हुँदा मूल्य वृद्धि भएको थियो । इन्ड्राइभ प्रयोगकर्ताहरूले भने नियतवश अत्यधिक भाडा थपिएको गुनासो गरेका छन् । “आज इन्ड्राइभले यात्रुको ढाड सेक्यो,” एक प्रयोगकर्ताले तिक्तताका साथ फेसबुकमा टिप्पणी गरे ।
यस विषयमा टेकपानासँग कुरा गर्दै इन्ड्राइभकी एसिया पेसिफिक क्षेत्रका पीआर एन्ड कम्युनिकेसन लिड पवित नन्दले प्लेटफर्ममा यात्रु र सवारीको सन्तुलन नहुँदा भाडा बढी हुने समस्या देखिएको स्पष्टीकरण दिइन् ।
“३ नोभेम्बरमा काठमाडौंमा भाइ टीका (तिहार) को अवसरमा हाम्रो सेवामा अत्यधिक माग र उपलब्ध चालकहरूको सङ्ख्याबीच असन्तुलन सिर्जना भयो । जसका कारण सेवाको मूल्यमा वृद्धि भयो । यसले एपमा केही समस्या उत्पन्न गरायो ।”
भाडा बढी देखिए पनि यात्रु र चालक आपसी समझदारीमा यात्रा गर्ने भएकाले यसमा कम्पनीले केही गर्न नसक्ने उनले उल्लेख गरिन् ।
उनले अगाडि भनिन्, “हामी हाम्रो एपमा भएको भाडा मूल्यको समस्याका लागि प्रयोगकर्ताहरूसँग क्षमायाचना गर्न चाहन्छौं । अहिले यो समस्या पूर्ण रूपमा समाधान गरिएको छ ।”
के भन्छन् सेवाग्राही ?
पत्रकार स्वरूप आचार्य सामाजिक सञ्जाल एक्समा लेख्छन्, “इनड्राइभ ठग हो । छाप्रो, जडिबुटीबाट एकान्तकुना गएको ट्याक्सीमा १४२५ रुपैयाँ रे !” उनको पोस्टलाई रिपोस्ट गर्दै अर्का एक प्रयोगकर्ताले आफूले प्लेटफर्ममा कमजोरी भएको भन्ठानेर थुप्रै पटक रिलोड गरेको उल्लेख गरेका छन् । “पठाओमा ८९० देखाको ठाउँमा इन्ड्राइभममा १९०० देखाइराथ्यो,” अर्का प्रयोगकर्ताले लेखेका छन् ।
धुन्दिराज लामिछाने नामका एक्स प्रयोगकर्ता लेख्छन्, “आज इनड्राइभले निकै ठगेको छ । सिस्टम चलाखी गरेको जस्तो छ । आज चढ्ने सबै ठगिएका छन् । प्रहरीले छानबिन गर्नुपर्छ ।”
त्यसैगरी फेसबुकमा राजन पुडासैनी लेख्छन्, “साविकभन्दा ५० देखि १०० प्रतिशतसम्म थप भाडा कायम गरेको देखियो, भाइटीकाको दिन बिहान ८/९ बजेदेखि । त्यसदिन साबिक भन्दा ट्याक्सी चढ्ने यसै धेरै भइहाल्छन् । दिनको ५ ट्रिप गर्नेले १० गर्ला । कमाई त बढिहाल्छ नि । भाडा बढाउन पाइन्छ त मनलाग्दो ? नियमन कसले गर्ने हो यसलाई ?”
यता यात्रुले भाडा अत्यधिक बढी भयो भनेर गुनासो गरिरहँदा राइडरले भने त्यसलाई सकारात्मक रूपमा लिएका छन् । “३६४ दिन इनड्राइभले राइडरको ढाड सेक्छ । आज एकदिन इनड्राइभले यात्रुको ढाड सेक्यो । यसमा के नै भयो र,” गोप्य नामबाट आफूलाई इनड्राइभको चालक दाबी गर्ने व्यक्तिले लेखेका छन् ।
त्यस्तै इनड्राइभ सम्बन्धी फेसबुक ग्रुपमा पोस्ट राख्दै एक राइडरले एकै दिन झन्डै १२ हजार आम्दानी गरेको दाबी गरेका छन् । उनले राखेको पोस्टमा प्रति किलोमिटर १३२.१२ रुपैयाँ प्राप्त गरेको देख्न सकिन्छ ।
टेकपानाले ट्याक्सी राइडको परीक्षण गर्दा ७.९ किलोमिटर दूरीको भाडा १५४५ रुपैयाँ तोकिएको पाइयो । यसलाई हिसाब गर्दा प्रति किलोमिटर १९५ रुपैयाँ पर्न जान्छ । बाइकमा प्रतिकिलोमिटर १३२ रुपैयाँ बढी लिइएको देखिएको थियो ।
के भन्छन् सरकारी निकाय ?
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले सामाजिक सञ्जालमा गुनासो गरिरहेको विषय जानकारीमा आएको बताए । “यात्रुले सामाजिक सञ्जालमा गुनासो गरेको पायौं,” उनले भने, “तर हामीलाई पत्र पठाएर कसैले गुनासो गरेको छैन ।”
राइड शेयरिङ प्लेटफर्मले लिने भाडा नतोकिएकाले यसमा आन्तरिक अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको उनले सुनाए । “गलत ठाउँमा पार्किङ गरेको विषयमा अन्य सवारी जस्तै राइड शेयरिङका सवारीलाई कारवाही गरिरहेका छौं । भाडाको सन्दर्भमा भने स्पष्ट दर निर्धारण गरिएको छैन । हामी सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौं,” उनले भने ।
नेपाली राइड शेयरिङ प्लेटफर्म 'सजिलो साथी'का प्रमुख कार्याकारी अधिकृत अमर लामा इनड्राइभले मनलाग्दी भाडा बढाउँदा अस्वस्थ प्रतिस्पर्धाको अवस्था सिर्जना गरेको बताउँछन् । “इनड्राइभले आफू खुसी गरेको अवस्था छ,” लामाले भने, “कानुन नआइसकेकाले राइड शेयरिङ कम्पनीले आफ्नो तरिकाले सञ्चालन गरिरहेका छन् । यसमा सरकारले कुनै न कुनै रूपमा नियमन गर्नुपर्ने हो ।”
गुनासो गर्न सपोर्ट सेन्टर अनिवार्य हुनुपर्नेमा उनले जोड दिए ।
यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरी पनेरु भन्छन्, “सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले एउटा प्रयोजनका लागि दर्ता भएको सवारी साधन अर्को प्रयोजनका लागि प्रयोग गर्न पाउँदैन भनेर स्पष्ट लेखेको छ । राइड शेयरिङ प्लेटफर्म बागमती प्रदेश अन्तर्गत सञ्चालन भएका छन् । उनीहरू बागमती प्रदेश अन्तर्गत नै दर्ता भएकाले प्रदेशले नै नियमन गर्नुपर्ने हो ।”
भाडा निर्धारण स्पष्ट रूपमा नगरिदिएकाले सोझै कारबाही गर्ने अवस्था नरहेको पनेरुले बताए । यो गुनासो बागमती प्रदेशको यातायात मन्त्रालयले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौला भने कार्यविधि मन्त्रिपरिषदबाट पास नभएकाले नियमनमा समस्या आएको बताउँछन् । “राइड शेयरिङ सम्बन्धी बनेको कार्यविधि क्याबिनेटबाट पास भइसकेपछि हामी नियमनमा जान सक्छौं,” निरौलाले टेकपानासँग भने, “अहिले कहाँ, कति र कसरी सञ्चालन भइरहेका छन् भन्ने पनि हामीलाई थाहा छैन ।”
यात्रुहरू धेरै ठगिएका छन् भने उनीहरू कानुनी प्रक्रियामा जान सक्ने उनले बताए । कार्यविधिमा राइड शेयरिङ प्लेटफर्मले कति भाडा लिने भन्ने विषय स्पष्ट व्यवस्था गरेकाले त्यसपछि नियमन गर्न सकिने उनले सुनाए । अहिले ठगीमा परेको भनेर उजुरी दिने बाहेक अरू विकल्प नभएको उनले सुनाए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी डिकप्रसाद कार्कीले कारबाही गर्ने विषयमा द्विविधा भएको बताए । “विभागमा उजुरी परे/नपरेको मलाई जानकारी छैन,” उनले अगाडि भने, “न बिल दिएको हुन्छ, न अरू केही प्रमाण हुन्छ । त्यस्तोमा कसरी कारबाही गर्ने भन्ने स्पष्ट छैन ।”
प्रमाण भएको सन्दर्भमा आफूहरूले कारबाहीका लागि सिफारिस गर्नसक्ने उनले सुनाए । राइड शेयरिङ प्रदायकलाई नियमन गर्ने निकायले नै यसलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको सुझाव छ ।