काठमाडौं । गुगल फोटोजमा दिनानुदिन नयाँ-नयाँ फिचर आइरहेका हुन्छन् । फोटो तथा भिडिओ भण्डारण गर्ने एपका रूपमा गुगल फोटोज बढी परिचित छ । तर, यसमा फोटो र भिडिओ पनि एडिट गर्न सकिन्छ । यसअघि पिक्सेल फोनमा मात्र उपलब्ध यी फिचर अहिले सबै प्रयोगकर्तामाझ उपलब्ध भइसकेको छ ।
यससँगै तपाईंले बिना कुनै वाटरमार्क क्लिपको स्पिड बढाउन, स्लो मोसन बनाउन तथा अनावश्यक भाग हटाउन सक्नुहुन्छ ।
हुन त गुगलले यस एपमा एआईद्वारा सञ्चालित प्रिसेट (टेम्प्लेट-जसमा फोटो वा भिडिओ रिप्लेस गरे पुग्छ) रहेको जनाएको छ । यस फिचरमा भएको एआई एल्गोरिदमले क्लिपलाई विश्लेषण गरी प्रयोगकर्ताले चाहे अनुसारका फिचर क्षणभरमै एड गरिदिन मद्दत गर्छ ।
सबै प्रयोगकर्ताका लागि नयाँ फिचर थपिएसँगै गुगल फोटोजको युजर इन्टरफेस पनि पहिलेको भन्दा केही राम्रो भएको छ ।
कसरी प्रयोग गर्ने ट्रिम टुल ?
गुगल फोटोज एपमा ट्रिम टुल उपलब्ध भएको यो पहिलो पटक भने होइन । यसअघि नै कम्पनीले ट्रिम टुल उपलब्ध गराइसकेको थियो । तर, ट्रिम टुलको नयाँ भर्सन केही स्तरीय छ । तपाईंले चाहेकै ठाउँबाट भिडिओ ट्रिम गर्न सक्नुहुन्छ । त्यस्तै यसमा समावेश गरिएको टाइम स्ट्याम्पको फिचरले पनि तपाईंलाई एडिट गर्न केही सहज बनाउँछ ।
भिडिओ ट्रिम गर्न तलको प्रक्रिया अपनाउनुहोस्:
सबैभन्दा पहिले गुगल फोटोज एप खोल्नुहोस् ।
त्यसपछि तपाईंले ट्रिम गर्न चाहेको भिडिओ खोल्नुहोस् ।
अनि तपाईंले चाहेको ठाउँसम्म ह्यान्डलजस्तो भाग सार्नुहोस् ।
यसरी तपाईं आफूले चाहेको अनावश्यक भाग हटाउन सक्नुहुन्छ ।
त्यही भिडिओको अप्सनमा स्टेबलाइजको अप्सन रहेको छ । तपाईंले खिचेको भिडिओ बढी हल्लिएको जस्तो देखिएको छ र त्यसलाई स्मुथ बनाउन चाहनु हुन्छ भने तपाईमले त्यो टुल प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै एक्सपोर्ट फ्रेमको अप्सनमा ट्याप गरेर भिडिओ कुनै भाग फोटोका रूपमा सेभ गर्न सक्नुहुन्छ ।
त्यसको छेउमा भएको ‘स्पिड’को अप्सनबाट भिडिओ फास्ट वा स्लो बनाउन सकिन्छ ।
भिडिओ स्लो मोसन बनाउनु छ भने ‘स्पिड’को अप्सनमा गहएर 1/4x वा 1/2x को अप्सन छान्नुहोस् । त्यस्तै दुई गुणा फास्ट बनाउन चाहनु हुन्छ भने 2x र चार गुणा फास्ट बनाउन चाहनु हुन्छ भने 4x अप्सन छान्नहोस् ।
त्यसबाहेक भिडिओ क्रप गर्न अर्थात त्यसको आकार आफूले चाहे जस्तो बनाउन क्रपको अप्सन छान्नुहोस् । एडजस्टको अप्सनमा गएर भिडिओको ब्राइटनेस, कन्ट्रास्ट, एचडीआर इफेक्ट, ह्वाइट पोइन्ट, स्किन टोन आदि मिलाउन सक्नुहुन्छ । त्यसैगरी इफेक्टमा गइ तपाईंले खोजेकै जस्ता ईफेक्ट प्रयोग गर्न सक्नुहुन्छ । यसमा अन्य भिडिओ एडिटिङ एप जस्तै फिल्टर र मार्कअपको विकल्प पनि छ । भिडिओमा केही शब्द राख्नुपर्यो भने पनि तपाईंले यही एपबाट राख्न सक्नुहुन्छ । तर, यसको कमजोर पक्ष के छ भने यसमा फन्ट छान्न सकिंदैन ।
भिडिओ प्रि-सेट
गुगलले सीमित प्रयोगकर्ताका लागि मात्र भिडिओ प्रिसेट उपलब्ध गराएको छ । एपमा उपलब्ध हुने प्रिसेट अप्सनबाट कुनै टेम्प्लेट छानेर तपाईं आफ्नो भिडिओ त्यसमा राख्न सक्नुहुन्छ । यति गरेपछि तपाईंले जस्तो टेम्प्लेट छान्नु भएको छ तपाईंको भिडिओ त्यस्तै हुन्छ ।
यसमा कलर, इफेक्ट वा फिल्टर छुट्टै छानिरहन पर्दैन । तपाईंले आफ्नो आवश्यकताका लागि सबै म्यानुअल्ली राख्छु भन्नुभयो भने यस टुलमा त्यसको पनि फिचर हुने बताइएको छ । यो फिचर सबै प्रयोगकर्तामाझ ठ्याक्कै कहिले उपलब्ध हुन्छ भन्ने गुगलले खुलाइसकेको छैन ।