close

के एआईले खोस्दैछ कोडिङ गर्नेहरूको जागिर ?

टेकपाना टेकपाना

कात्तिक २७, २०८१ १४:५५

के एआईले खोस्दैछ कोडिङ गर्नेहरूको जागिर ?

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले विभिन्न उद्योगहरूमा ठुलो प्रभाव पारिरहेको छ । स्वयँ प्रविधि उद्योग, डेभलपर तथा कोडरहरूको भूमिकामा समेत यसले आमूल परिवर्तन ल्याउँदैछ ।  

यसैबिच गुगलका अनुसन्धान प्रमुख योसी मातियस कोडिङ अझै महत्त्वपूर्ण सीप रहेको र मानव डेभलपरलाई एआईले पूर्णरूपमा विस्थापन गरी नसकेको बताउँछन् । 

एआई उपकरणहरूको बढ्दो प्रयोगले कोडिङ कार्यमा मद्‍दत पुर्‍याए पनि मातियसको विचारमा कोडिङको आधारभूत ज्ञानले अझै ठूलो महत्त्व राख्छ, विशेष गरी नयाँ प्रविधिहरूले हाम्रो काम गर्ने तरिकामा परिवर्तन ल्याइरहेको सन्दर्भमा । 

बिजनेस इनसाइडरसँगको एक अन्तर्वार्तामा, मातियसले कोडिङ सिक्नु अहिलेको समयमा झन् आवश्यक भएको बताएका हुन् । उनी गुगलका उपाध्यक्ष पनि हुन् । उनले भनेका छन्, "आधारभूत शैक्षिक अनुशासनमा रहेर गरिने सिकाइ जस्तो काम सधैँ महत्त्वपूर्ण रहन्छ । सबैले कोडिङ सिक्नुपर्छ।" 

उनको यो भनाइ यस्तो समयमा आएको छ, जब सफ्टवेयर इन्जिनियरहरू र विद्यार्थीहरू एआईले परम्परागत कोडिङ भूमिकामा प्रभाव पार्न सक्ने कुराबाट चिन्तित छन् । गिटहब कोपाइलट जस्ता एआई टुलहरूले कोड सिर्जना गर्ने प्रक्रियामा डेभलपरहरूलाई सहयोग पुर्‍याइरहेको सन्दर्भले कोडिङका काम चाँडै नै अप्रासंगिक हुन सक्ने पूर्वानुमानलाई बल पुर्‍याइरहेको छ । 

केही विज्ञहरूको दाबी छ कि यस्ता एआई टुलले कोडिङको समय ७० प्रतिशतसम्मले घटाउन सक्ने दाबी गरेका छन् । तर मातियसले भने एआईले मानव कोडरहरूको स्थान नलिने विश्वास व्यक्त गरेका छन् ।

उनले भनेका छन्, "एआईले केही कार्यहरू, विशेष गरी आधारभूत स्तरमा सहयोग पुर्‍याउन सक्छ, तर यसले कोडिङको सम्पूर्ण प्रक्रियामा नियन्त्रण जमाइसकेको छैन ।" मातियसले अगाडि थपेका छन्, "एआईले सिर्जना गरेको कोडमा अझै पनि मानव समीक्षा र प्रमाणीकरणको आवश्यकता छ।" 

उनले हालका प्रवृत्तिहरूले प्रविधि उद्योगमा चुनौतीहरू ल्याएको स्वीकार गर्दै भनेका छन् कि विशेष गरी जुनियर डेभलपरहरूले आवश्यक व्यवहारिक अनुभव प्राप्त गर्ने कार्यमा कठिनाइ उत्पन्न हुन सक्छ । यस्ता एआई टुलहरूले कोडिङमा मद्‍दत गरे पनि वास्तविक-जीवनको अनुभव र हातका अभ्यासले आउने सीपको पूर्ति गर्न भने सक्दैनन् । नयाँ डेभलपरहरूलाई सैद्धान्तिक ज्ञान र व्यावहारिक अनुभवबिचको दूरी घटाउन गुगलले केही कार्यक्रमहरू प्रायोजन गरिरहेको पनि मातियसले बताएका छन् । 

मातियसका अनुसार कोडिङको महत्त्व सफ्टवेयर उद्योग बाहिर पनि फैलिएको छ । "कोडिङ भनेको आधारभूत गणितजस्तै हो," डिजिटल दुनियाँमा कोडिङको महत्त्वलाई गणितको आधारभूत महत्त्वसँग तुलना गर्दै उनले भनेका छन् । उनले कोडिङको आधारभूत बुझाइ हरेक व्यक्तिका लागि महत्त्वपूर्ण रहेको बताएका छन्, चाहे उनीहरूले पेसागत प्रोग्रामर बन्न चाहेको होस् या नहोस् ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८१ १४:५५