काठमाडौं । सरकारले विशिष्ट संरचना घोषणा गरेको धरहरा आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । अनलाइन बुकिङको सुविधासँगै असोज ३ देखि नि:शुल्क धरहरा अवलोकनको व्यवस्था भएकोमा आइतबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।
धरहरा इन्चार्ज महेश राईका अनुसार भौतिक रूपमा नै उपस्थित भएर टिकट काट्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि प्रवेश नि:शुल्क हुँदा अनलाइन बुकिङ (dharhara.gov.np) को व्यवस्था थियो ।
सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजनाका प्रमुख प्रकाश अर्यालले सुरुवाती चरणमा भौतिक टिकट अनिवार्य गरिएको र सिस्टम तयार भएपछि अनलाइन प्रणालीमा जाने जानकारी दिए । उनका अनुसार अनलाइन टिकेटिङका लागि भुक्तानी प्रदायकहरूसँग छलफल भइरहेको छ ।
धरहरा चढ्न स्वदेशी नागरिकका लागि प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ अनुसार, सार्क राष्ट्रका पर्यटकका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ र सार्कबाहेक राष्ट्रका पर्यटकका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क प्रस्ताव गरिएको थियो । यो प्रस्ताव सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो ।
उक्त प्रस्ताव स्वीकृत भएसँगै यही मंसिर ९ गतेदेखि धरहरा चढ्न उक्त शुल्क लागु हुने मन्त्रालयले जानकारी दिएको छ ।
स्वदेशी नागरिकका हकमा भने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । साथै, धरहरामा पार्किङ शुल्क चार पाङ्ग्रे सवारी साधनका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेका लागि १० रुपैयाँ तोकिएको छ ।
त्यस्तै धरहराभित्र व्यावसायिक रूपमा फोटो/भिडिओ खिच्न अथवा विज्ञापन गर्न शुल्क तोकिएको छ । यससँगै अब धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न (व्यावसायिक बाहेकका) प्रतिघण्टा पाँच हजार, धरहरा परिसर व्यावसायिक भिडिओ खिच्न प्रतिघण्टा पाँच हजार र व्यावसायिक फोटोग्राफी गर्न प्रतिघण्टा एक हजार शुल्क लाग्नेछ ।