काठमाडौं । पर्यावरण संरक्षणमा काम गर्दै आएकी बागलुङकी शिलशिला आचार्य बीबीसी १०० महिला २०२४ को सूचीमा परेकी छिन् । मङ्गलवार सार्वजनिक भएको सूचीमा वातावरण वैज्ञानिक आचार्य नेपालबाट यो सूचीमा पर्न सफल भएकी हुन् ।
बीबीसीले उनलाई दिगो विकास उद्यमीका रूपमा उल्लेख गरेको छ । उनले प्लास्टिक पुनः प्रयोग सम्बन्धी सञ्जाल चलाउँदै आएकी छन् । आचार्यले फोहर व्यवस्थापनसम्बन्धी 'अभ्नी भेन्चर्स' नामक संस्थामार्फत महिला र सीमान्तकृत समुदायका मानिसहरूलाई रोजगारी समेत दिइरहेका छन् ।
त्यस्तै, उनले सन् २०१४ मा 'धन्यवाद, म आफैं झोला बोक्छु' भन्ने अभियान चलाएकी थिइन् । यस अभियानले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको बीबीसीले उल्लेख गरेको छ ।
आचार्यले हिमाल सफाइमा पनि भूमिका निभाएकी छिन् । उनको नेतृत्वमा पर्वतारोहीहरूले ११९ टन फोहर सङ्कलन गरेका छन् ।
हाल, शिलशिला आचार्य अभ्नी सेन्टर फर सस्टेनेबिलिटीकी निर्देशकको भूमिकामा कार्यरत छिन् । विशेषगरी प्लास्टिकको प्रयोग न्यूनीकरणमा उनको भूमिका महत्त्वपूर्ण छ ।
उनले काठमाडौं विश्वविद्यालयबाट बीएससी इन्भाइरोमेन्ट साइन्समा स्नातक र नर्वेको युनिभर्सिटी अफ बर्गनबाट बायो डाइभर्सिटी एन्ड इन्भाइरोमेन्टमा स्नातकोत्तर गरेकी छन् ।
बीबीसी १०० महिला २०२४ को सूचीमा पर्न सफल भएपछि टेकपानासँग बोल्दै उनले फोहोर व्यवस्थापन कार्य गर्न प्रविधिले गर्दा सजिलो भएको बताइन् ।
अहिले फोहोर सङ्कलनको लागि प्रयोग हुने ट्रकदेखि भुक्तानीसम्मको काममा प्रविधि प्रयोग भइरहेको छ । प्लास्टिकजन्य फोहोरसँगै भविष्यमा विद्युतीय फोहोर (ईवेस्ट) व्यवस्थापन गर्ने योजना राखेको उनले सुनाइन् ।