close

९०० वर्ष पहिले भएको थियो अहिले प्रविधि क्षेत्रमा निकै प्रयोग हुने अल्गोरिदम शब्दको उत्पत्ति

टेकपाना टेकपाना

मंसिर २४, २०८१ १५:५१

९०० वर्ष पहिले भएको थियो अहिले प्रविधि क्षेत्रमा निकै प्रयोग हुने अल्गोरिदम शब्दको उत्पत्ति

काठमाडौं । अल्गोरिदम भन्ने शब्द पछिल्ला केही वर्षमा निकै प्रयोगमा आउने र सुनिने गरेको छ । फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम, गुगल, याहु अल्गोरिदम भन्ने शब्द तपाईँ आफैले पनि कैयौँ पटक सुन्नु भएको हुन सक्छ । त्यस हिसाबले यो शब्द नयाँ पो हो कि भन्ने पनि लाग्न सक्छ । 

तर, अल्गोरिदम शब्द लगभग ९०० वर्ष पुरानो हो । यो शब्द एक पर्शियाई गणितज्ञ ‘महम्मद इब्न मुसा अल-ख्वारिज्मी’को नामबाट आएको हो । उनको जन्म लगभग ७८० इस्वी संवत्‌मा आजको उज्बेकिस्तान क्षेत्रमा भएको थियो ।

उनको नामले नै उनी ख्वारिज्मबाट आएको सङ्केत गर्छ । यो केन्द्रीय एसियाको एक ठुलो क्षेत्र थियो । यस क्षेत्रमा अहिलेका कजाखस्तान, किर्गिस्तान  तुर्कमेनिस्तान र उज्बेकिस्तान देशहरू पर्छन् ।

अल-ख्वारिज्मीको रूपमा चिनिने उनी नवौं शताब्दीको बगदादस्थित ‘हाउस अफ विजडम’ नामक बौद्धिक केन्द्रका निर्देशक थिए । जुन विद्वान्‌हरूका लागि एक प्रमुख केन्द्र थियो । उनले गणित, खगोलशास्त्र, भौगोलिकता र नक्सानकनमा योगदान पुर्‍याएका थिए । र, ‘हिन्दु अङ्कगणितको प्रक्रिया’ भन्ने प्रभावशाली पुस्तक पनि लेखेका थिए ।

त्यसको ३०० वर्ष पछि उक्त पुस्तक फेला पारेर त्यसलाई ल्याटिनमा अनुवाद गरियो । यसले पश्चिममा हिन्दु-अरबी अङ्क प्रणालीलाई परिचित गरायो । जसले अन्ततः जटिल रोमन अङ्क प्रणालीलाई प्रतिस्थापित गर्‍यो । 

हिन्दु-अरबी अङ्क प्रणाली र दशमलव विन्दुलाई अल-ख्वारिज्मीले आफ्ना पुस्तकमा वर्णन गरेका थिए । यी दुई प्रणाली नै अहिले संसारभर प्रयोग भइरहेका अङ्कहरूको आधार हुन् ।

अल-ख्वारिज्मीको नाम, जसलाई पुस्तकको शीर्षकमा ल्याटिन भाषामा रूपान्तरण गर्दा ‘अल्गोरित्मी’ बन्यो । अल्गोरिदम यही शब्दबाट उत्पत्ति भएको हो । तपाईँ हामीले गणितमा पढ्ने ‘अल्जेब्रा’ पनि अल-ख्वारिज्मीको नामबाट प्रभावित भएर प्रयोगमा ल्याइएको हो । 

उनका पुस्तकहरूले पश्चिममा गणितको क्रान्ति नै ल्याए । यसले जटिल समस्याहरूलाई सजिलो भागमा विभाजित गरेर समाधान निकाल्न सकिन्छ भन्ने देखायो । मध्यकालीन ल्याटिनमा ‘अल्गोरिजम्स’ ले दशमलव अङ्क प्रणालीलाई  मात्र जनाउँथ्यो । १३ औं शताब्दीमा यो एक अङ्ग्रेजी शब्द बन्यो । ‘अल्गोरिजम’लाई १३ औँ शताब्दीमा अङ्ग्रेजी कवि तथा लेखक जिओफ्री चउसरलले प्रयोग गरे । 

१९ औं शताब्दीसम्म ‘अल्गोरिदम’ शब्दले समस्या समाधान गर्न स्टेप-बाई-स्टेपको नियमको सेटको अर्थ लिन्छ भन्ने कुरा गरिएन । अर्थात् कुनै विशेष प्रक्रिया वा नियमको समूहले समस्या समाधान गर्न मद्दत पुर्‍याउँछ भन्नेमा अल्गोरिम शब्दको प्रयोग गरिएन । २० औँ शताब्दीको सुरुवातमा ब्रिटिश गणितज्ञ तथा कम्प्युटर वैज्ञानिक एलन ट्युरिङले सिद्धान्त (थ्यौरी) मा कसरी एक मसिनले अल्गोरिदमिक निर्देशन पालना गरेर जटिल गणित समाधान गर्न सक्छ भन्ने विचार ल्याए । यहीँबाट कम्प्युटर युगको सुरुवात भएको मानिन्छ ।

दोस्रो विश्वयुद्धको समयमा उनले ‘बम्बी’ नामक एक मसिन बनाएका थिए । यसले अल्गोरिदमको प्रयोग गरेर एनिग्मा कोडलाई क्रयाक गर्‍यो । एनिग्मा कोड भन्नाले एनिग्मा मसिनले तयार पारेको इन्क्रिप्टेड मेसेज हो । यो एक गोप्य डिभाइस हो, जुन दोस्रो विश्व युद्धको समयमा नाजी जर्मनीले मुख्यतया सैनिक सञ्चारलाई सुरक्षित गर्नका लागि प्रयोग गरेको थियो ।

अहिले अल्गोरिदम एक सामान्य शब्द बनिसकेको छ । यद्यपि कहिलेकाहीँ तपाईँलाई अल्गोरिदम के गर्छ भन्ने कुरा ठिकसँग थाहा नहुन सक्छ । अहिले अल्गोरिदमहरू हरेक ठाउँमा प्रयोगमा आएका छन् । अल्गोरिदमले हामीलाई कुनै एक गन्तव्यबाट अर्को गन्तव्यसम्म पुर्‍याउन, इन्टरनेट सर्च प्रयोग गर्न, किनमेलमा सघाउन, सामाजिक सञ्जालमा हामीले चाहेका कन्टेन्ट उपलब्ध गराउन  महत्त्वपूर्ण भूमिका खेलेको छ । 

त्यस बाहेक हामी कसरी मतदान गर्छौँ वा कसलाई माया गर्छौँ अथवा कसलाई रुचाउँछौँ भन्ने कुरा पनि अल्गोरिदमले नै पूर्वानुमान गर्न सक्छ । यो सानो शब्द जुन मध्यकालीन पर्शियामा उत्पत्ति भएको थियो, त्यसले आज हाम्रो जीवनलाई क्रमशः रूपान्तरण गर्दै लगिरहेको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८१ १५:५४