close

ओपनएआईले ल्यायो अत्याधुनिक एआई मोडेल, मानिसको जस्तै सोच र उच्च क्षमता हुने दाबी

टेकपाना टेकपाना

पुस ११, २०८१ १२:३६

ओपनएआईले ल्यायो अत्याधुनिक एआई मोडेल, मानिसको जस्तै सोच र उच्च क्षमता हुने दाबी

काठमाडौं । भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को क्षमता कस्तो होला ? मानिसले भन्दा ठूला र जटिल समस्या समाधान गर्ला ? मानिसको जस्तो सोच र अनुकूलता प्रदर्शन गर्न सक्ला ? वा केवल सहायक टुलमै सीमित होला ? यी विषयमा बहस भइरहँदा च्याटजीपीटी निर्माता ओपनएआईले नयाँ एआई मोडेल ल्याएको छ, जसले यो क्षेत्रमा तरङ्ग ल्याएको छ ।

‘ओथ्री’ (o3) नामको यो मोडेलले एआई क्षेत्रमा अहिलेसम्मकै धेरै सफलता पाएको दाबी गरिएको छ । गत साता भएको ‘ARC-AGI’ परीक्षणमा यो मोडेलले ८५ प्रतिशत अंक हासिल गरेको कम्पनीले जनाएको छ । यसलाई मानिसको औसत स्कोर बराबर मानिएको छ । यसअघि एआई प्रविधिले आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) परीक्षणमा ५५ प्रतिशतसम्म स्कोर पाएको थियो ।  

अत्यन्तै जटिल गणितीय परीक्षणमा एजीआईमा हासिल गरेको यो सफलताले भविष्यमा मानवजस्तै बुद्धि भएको मेसिन उपलब्ध हुने विश्लेषण गरिएको छ । यो परीक्षणले कम नमुनाबाट असाधारण र प्रभावकारी नतिजा निकाल्न एआईले कति क्षमता राख्छ भन्ने मूल्यांकन गरेको थियो ।

पछिल्लो परीक्षणले भविष्यमा एआईका धेरै प्रभावकारी प्रयोगहरू सम्भव हुने संकेत दिएको छ । यो क्षमताले एआईलाई आफैं सुधार्ने र विशिष्ट कार्यहरू प्रदर्शन गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।

ओपनएआईका सहनिर्माता नोआम ब्राउनले यो उपलब्धि तीन महिनाअघि मात्र सार्वजनिक गरिएको ओवन (o1) मोडेलको परिस्कृत स्वरूप भएको बताएका छन् । "हामीले o१ तीन महिनाअघि घोषणा गरेका थियौं । आज हामीले ओथ्री ल्याएका छौं । यो प्रगतिको गति निरन्तर रहने विश्वास गर्न पर्याप्त कारण छ," उनले एक्समा लेखेका छन् ।

तर, ओपनएआईले यो मोडेलको विशेषता र कार्यप्रणालीबारे पूर्ण जानकारी बाहिर ल्याएको छैन । यदि यो मानव स्तरको बुद्धिमत्तासम्म पुग्न सक्षम भयो भने विश्वव्यापी रूपमा ठूला आर्थिक र सामाजिक परिवर्तन हुने विश्लेषण गरिएको छ । यो प्रणालीले औषधि अनुसन्धानदेखि जलवायु परिवर्तन नियन्त्रणसम्मका चुनौतीलाई चमत्कारिक रूपमा समाधान गर्नसक्ने अनुमान छ । 

एजीआईको लक्ष्यमा पुग्न धेरै प्राविधिक चुनौती छन् । खासगरी यो मोडेलले जवाफ दिने समयमा धेरै कम्प्युटिङ शक्ति लिने बताइएको छ । जति धेरै जटिल प्रश्न सोधियो, जवाफ पाउन उति नै बढी समय र पैसा लाग्ने बताइएको छ । भर्जका अनुसार केही अवस्थामा एउटा प्रश्नको जवाफ दिन १० हजार डलरभन्दा बढी खर्च लाग्न सक्छ । 

तुलनात्मक रूपमा धेरै महँगो भएकाले यो प्रविधि सबैका लागि व्यवहारिक नहुने आँकलन भइरहेको छ । तर ठूला प्रविधि कम्पनी र धेरै पैसा भएका संस्थाहरूका लागि यो प्रविधि वरदान हुने अनुमान गरिएको छ ।
 

पछिल्लो अध्यावधिक: पुस ११, २०८१ १३:२