काठमाडौं । सन् २०२४ मा पनि ठूला प्रविधि कम्पनीका प्लेटफर्म डाउन हुनबाट अछुत रहन सकेनन् । फेसबुकदेखि, माइक्रोसफ्ट हुँदै ओपनएआईले ‘सिस्टम आउटेज’को सामना गर्नुपर्यो । आज हामी २०२४ मा डाउन भएका प्रमुख १० प्रविधि कम्पनीको चर्चा गर्दैछौं:
फेसबुक
५ मार्चमा फेसबुक डाउन भएको थियो । फेसबुक डाउन हुँदा एक करोड बढी प्रयोगकर्ता प्रभावित भएका थिए । फेसबुक डाउन भएपछि लाखौं सामाजिक सञ्जाल गतिविधिमा बाधा पुग्यो । जसका कारण प्रयोगकर्ताहरू अन्य प्लेटफर्ममा सर्न बाध्य भएका थिए ।
क्राउडस्ट्राइक
१९ जुलाईमा साइबर सुरक्षासम्बन्धी काम गर्ने कम्पनी क्राउडस्ट्राइकले ५० लाख प्रयोगकर्तालाई असर गर्ने ‘आउटेज’ भएको जानकारी दियो । यस अवरोधले डिजिटल सुरक्षामा चिन्ता बढाएको थियो भने भरपर्दो साइबर सुरक्षाको महत्त्वलाई उजागर गरेको थियो । क्लाउडस्ट्राइकमा समस्या आउँदा विन्डोज डिभाइसमा ब्लु स्क्रिन देखिने समस्या आएको थियो । यसबाट नेपालका टेलिकम कम्पनी र वित्तिय संस्थाहरू समेत प्रभावित भएका थिए ।
च्याटजीपीटी
यस वर्ष सबैभन्दा बढी डाउन हुनेमध्ये च्याटजीपीटी पनि एक हो । हालै मात्र शब्दकै भरमा भिडिओ बनाइदिने टुल सर्वसाधारणका लागि सार्वजनिक गरेपछि ओपनएआईका विभिन्न प्लेटफर्म डाउन भएका थिए । त्यसमा च्याटजीपीटी पनि समावेश थियो । त्यसअघि पनि ४ जुन, १५ अगस्ट र ९ नोभेम्बरमा च्याटजीपीटी डाउन भएको थियो । त्यस क्रममा विश्वभरका च्याटजीपीटी प्रयोगकर्ता प्रभावित भएका थिए । यो प्लेटफर्ममा मासिक ३० करोड बढी सक्रिय प्रयोगकर्ता छन् । कम्पनीका अनुसार एक दिनमा च्याटजीपीटीलाई एक अर्बभन्दा बढी पटक मेसेज आउँछ ।
एटी एन्ड टी
२२ फेब्रुअरीमा अमेरिकी दूरसञ्चार कम्पनी एटी एन्ड टीले ३४ लाख प्रयोगकर्तालाई सम्पर्कविहीन बनाउने अवरोधको सामना गर्यो । यस अवरोधले अमेरिकाभर दूरसञ्चार सेवामा गम्भीर प्रभाव पारेको थियो ।
इन्स्टाग्राम
५ मार्चमा इन्स्टाग्रामडाउन भएको थियो । यसबाट ३३ लाख बढी प्रयोगकर्ता प्रभावित भएका थिए । मेटाकै अर्को प्लेटफर्म फेसबुक पनि डाउन हुँदा प्रयोगकर्ताले मेटाप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
भराइजन
३० सेप्टेम्बर ३० मा अमेरिकी दूरसञ्चार कम्पनी भराइजनले २४ लाख बढी प्रयोगकर्तालाई असर गर्ने आउटेजको सामना गर्यो । यसले विभिन्न क्षेत्रहरूमा इन्टरनेट र मोबाइल सेवाहरूमा वाधा पुर्याएको थियो ।
ह्वाट्सएप
३ अप्रिलमा इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएप पनि डाउन भएको थियो । यसबाट २० लाख बढी प्रयोगकर्ता प्रत्यक्ष रूपमा प्रभावित भए । यसले व्यक्तिगत र व्यावसायिक सञ्चारमा भरपर्नेलाई थप असर पुर्याएको थियो ।
एक्सबक्स
२ जुलाईमा गेमिङ प्रेमीहरूले एक्सबक्स लाइभमा अवरोधको सामना गरे । यसबाट झन्डै १२ लाख बढी प्रयोगकर्तालाई असर गर्यो । मल्टिप्लेयर गेम र अन्य अनलाइन सेवामा समेत बाधा पुगेको थियो ।
प्लेस्टेसन नेटवर्क
३० सेप्टेम्बर ३० मा प्लेस्टेसन नेटवर्कमा आउटेज देखिएको थियो । यसबाट ११ लाख बढी प्रयोगकर्ता प्रभावित भएका थिए । यसले अनलाइन गेमिङ र कन्टेन्ट स्ट्रिमिङमा प्रभाव पारेको थियो ।
फेसबुक मेसेन्जर
५ मार्चमा फेसबुकसँगै मेसेन्जर पनि डाउन भएको थियो । यसबाट करिब सात लाख ६० हजार बढी प्रयोगकर्ता प्रभावित भएका थिए ।