close

ग्यालेक्सी एस २५ सिरिजमा जेमिनाईको एड्भान्स्ड भर्सन निःशुल्क प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

पुस १७, २०८१ १६:४३

ग्यालेक्सी एस २५ सिरिजमा जेमिनाईको एड्भान्स्ड भर्सन निःशुल्क प्रयोग गर्न सकिने

काठमाडौं । आउँदो २२ जनवरीमा हुने सामसङको ग्यालेक्सी अनप्याक्ड इभेन्टमा ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक हुँदैछ । सार्वजनिक हुन केही साता मात्र बाँकी रहँदा उक्त सिरिजका विभिन्न फिचरबारे जानकारी बाहिर आइरहेका छन् । 

सामसङले यसपटक नयाँ फोनमा प्रोसेसर मात्र होइन, एआई क्षेत्रमा पनि सुधार ल्याउने प्रयास गरेको छ । ​एन्ड्रोइड सेन्ट्रलका अनुसार सामसङले गुगलसँग सहकार्य गरेर यस सिरिजमा 'जेमिनाई एड्भान्स' नामक एआई च्याटबट सेवा निःशुल्क उपलब्ध गराउने योजना बनाएको छ ।

एन्ड्रोइड अथोरिटीले गुगल एपको १५.५२.३७ भर्सनको बेटा परीक्षणका क्रममा यो फिचर उपलब्ध हुने सङ्केत पाएको छ । रिपोर्टअनुसार एस २५ सिरिज खरिद गर्ने प्रयोगकर्ताले जेमिनाई एड्भान्सको विभिन्न तहका सब्स्क्रिप्सन प्राप्त गर्नेछन् ।

प्रयोगकर्ताले कुन मोडेल खरिद गर्छन्, त्यसकै आधारमा निःशुल्क सेवा उपलब्ध हुने समय निर्धारण गरिनेछ । यस अन्तर्गत एस २५ को बेस भेरियन्ट खरिद गर्दा तीन महिना, एस २५ प्लस खरिद गर्दा छ महिना र ग्यालेक्सी एस २५ अल्ट्रा खरिद गर्दा एक वर्षको सब्स्क्रिप्सन पाउन सक्ने एन्ड्रोइड अथोरिटीले उल्लेख गरेको छ । 

अहिले गुगलको एआई च्याटबटको सशुल्क भर्सन ‘जेमिनाई एडभान्स्ड’ प्रयोग गर्न मासिक २० डलर तिर्नुपर्ने हुन्छ । शुल्क तिरिसकेपछि प्रयोगकर्ताले जेमिनाई १.५ प्रो मोडेल प्रयोग गर्न सक्छन् । त्यसबाहेक एक्सपेरिमेन्टल मोडमा पनि प्रयोगकर्ताले एक्सेस पाउँछन् । यस मोडेलबाट एकैपटक १५०० बढी पेजको डेटा उपलब्ध गराएर त्यसैका आधारमा विभिन्न जानकारी सोध्न सकिन्छ । 

त्यसबाहेक निःशुल्क मोडेलको तुलनामा यस मोडलले कोडिङ स्मार्ट तरिकाले गर्ने गुगलले जनाएको छ । साथै यो २ टीबी स्टोरेजका साथ उपलब्ध हुन्छ ।

पछिल्लो अध्यावधिक: पुस १७, २०८१ १६:५३