काठमाडौं । ओटीपी कोड मागेर बैंक खाता रित्याउने घटना बढेको भन्दै साइबर ब्युरोले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक विज्ञप्तिमा ब्युरोले यस्ता ठगीका घटनाबाट जोगिन सतर्कता अपनाउन अनुरोध गरेको हो ।
ब्युरोका अनुसार यस्ता घटनामा सबैभन्दा पहिले स्क्यामर (ठग)ले प्रयोगकर्तालाई सम्पर्क गर्छ । त्यसपछि ‘तपाईंको ईसे/खल्तीमा बोनस आएको छ । त्यो पाउनका लागि ओटीपी कोड पठाउनुस्’ भन्छ । वालेट प्रयोगकर्ताले ‘होला’ भन्ने ठानेर ओटीपी कोड नै उपलब्ध गराउँछन् । त्यसपछि स्क्यामरले वालेटमा पहुँच पाउँछ र त्यतैबाट लिङ्क भएको बैंक अकाउन्टसम्म पुग्छ, अनि भए भरको रकम रित्याउँछ ।
ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार अनलाइनमा जागिरको लोभ देखाएर ठगी गर्ने घटना पनि उत्तिकै बढेका छन् । यस्तोमा सबैभन्दा पहिले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्जर, भाइबर लगायतका माध्यममा अनलाइन जागिर रहेको स्पोन्सर्ड पोस्ट देखिन्छ ।
स्पोन्सर्ड पोस्ट भनेको सामाजिक सञ्जाललाई शुल्क तिरेर धेरै प्रयोगकर्तामाझ पुर्याउने पोस्ट हो । यस्ता पोस्टमा क्लिक गर्नेहरूलाई अन्य विभिन्न प्लेटफर्मको लिङ्क पठाएर लाइक वा सब्स्क्राइबर गर्न लगाइन्छ । यसरी भनेको काम गर्नेहरूलाई केही रकम पठाइन्छ ।
केही समय रकम पठाइसकेपछि प्रयोगकर्ता रकम आउनेमा विश्वस्त हुन्छन् । त्यसपछि बढी आम्दानी गर्न लगानी गर्नुपर्छ भनेर प्रलोभनमा पार्छन् । अनि प्रयोगकर्ताहरू रकम जम्मा गर्दै जान्छन् । यसरी रकम जम्मा गर्ने प्रयोगकर्तालाई यस्तो अवस्थामा ल्याइन्छ, जहाँ उनीहरू न भनेको जति रकम तिर्न सक्छन् र आफूले जम्मा गरेको रकम पाउँछन् । केही नलागेपछि अन्तिममा सर्वसाधारण आफू ठगिएको थाहा पाउँछन् ।
गिफ्ट पठाएको छु भन्दै भन्सार शुल्कका नाममा ठग्ने घटना पनि उत्तिकै देखिएका छन् । त्यसैगरी विदेशमा कुनै व्यक्ति बितेको र उसको बीमा वाफतको रकम उपलब्ध गराइदिने भनेर ठगी गर्ने घटना पनि बढेका छन् ।
प्रहरी उपरीक्षक अवस्थीका अनुसार पछिल्लो समय अनलाइन मार्केटप्लेसको स्क्याम पनि उत्तिकै भइरहेको छ । अनलाइनमा सस्तोमा सामान राख्ने र खरिद गर्न आएका व्यक्तिबाट एडभान्समा रकम माग्ने । र, रकम पाएपछि फरार हुने गरेका घटना यस किसिमका स्क्याममा पर्छन् ।
सस्तोमा अगाडि नै पीटीईको डेट बुक गरिदिने, अनलाइनमा कोठा भाडा खोजिदिने लगायतका अन्य विभिन्न अनलाइन सेवाहरू दिने नाममा पनि सर्वसाधारण ठगिरहेका छन् ।
यस्ता किसिमका अपराधका घटनामा व्यक्तिगत बैंक अकाउन्ट भाडामा दिने गरेको ब्युरोले फेला पारेको छ । केही रकमको लोभ देखाएर बैंक अकाउन्टको एक्सेस माग्ने र त्यही अकाउन्ट अनलाइन ठगीका घटनामा दुरुपयोग गर्ने भेटिएको भन्नै ब्युरोले कसैलाई पनि आफ्नो व्यक्तिगत बैंक अकाउन्टको एक्सेस नदिन अनुरोध गरेको छ ।