काठमाडौं । सामसङको ग्यालेक्सी एस२५ सिरिज एआई फिचरले भरिपूर्ण हुने भएको छ । हालै बाहिरिएका विभिन्न सूचना अनुसार एआईलाई नयाँ उचाइ दिन सामसङले विभिन्न फिचर पस्कने छ ।
यसमा पहिलेका लोकप्रिय फिचरहरू नोट असिस्ट, इन्टरप्रेटर, लाइभ ट्रान्सलेट, म्याजिक कम्पोज, फोटो एडिटिङ टुल लगायतका सुविधा यथावत् हुनेछन् । एस२५ सिरिजमा थप फिचर ल्याई एप्पल लगायतका प्रतिस्पर्धी कम्पनीहरूलाई पछि पार्ने ध्याउन्नमा सामसङ छ ।
प्रविधि सम्बन्धी जानकारी दिने विश्वसनीय लिकर आइस युनिभर्स (@UniverseIce) ले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "सामसङ ग्यालेक्सी एस२५ ले एप्पललाई एआईको नेतृत्व कसरी गरिन्छ भनेर देखाउनेछ । एस२५ मा धेरै नयाँ एआई सुविधाहरू अहिलेसम्म बाहिर आएको छैन, जुन मलाई धेरै अनौठो लागेको छ ।"
Samsung Galaxy S25 will tell Apple what leading AI is.
Many new AI functions of S25 have not been leaked so far, which is very surprising to me.
आइस युनिभर्सले ग्यालेक्सी एस२५ का एआई फिचरहरू अझै गोप्य राखिएकोमा छेडखानी गरेका छन् । पहिलेका रिलिजहरूमा विवरणहरू प्रायः अगाडि नै लिक हुन्थे । तर सामसङले अहिले आफ्नो लन्च इभेन्टलाई कौतुहल बनाउन खोजेको देखिन्छ । आईफोनलाई चुनौती दिने गरी एआई फिचरमार्फत क्रान्तिकारी परिवर्तन ल्याउनतर्फ सामसङ अग्रसर भएको विश्लेषण गरिएको छ ।
विभिन्न स्रोत अनुसार, सामसङ ग्यालेक्सी एस२५ प्रयोगकर्ताले फोनबाटै छिटोछिटो टेक्स्ट, इमेज र भिडिओहरू बनाउन सक्नेछन् । त्यस्तै फोटो खिच्दा एआईले तुरुन्तै कस्तो सेटिङमा खिच्दा राम्रो हुन्छ भनेर बुझेर त्यसैअनुसार फोटो खिच्न मद्दत गर्नेछ । एआईले नै फोनमा कुन एप कति बेला चलाउने, कुन एपहरू महत्त्वपूर्ण छन् र तपाईंलाई कस्ता सेटिङहरू मन पर्छ भनेर बुझेर फोनलाई त्यहीअनुसार चलाउनेछ । त्यस्तै, एआईले नै फोनमा कुनै खतरा छ कि छैन भनेर पत्ता लगाउनेछ ।
एआईबाटै फ्लाइट टिकट बुक गर्नेदेखि खाना अर्डर गर्ने जस्ता काम गर्न सकिने हल्ला पनि चलेको छ । ग्यालेक्सी एस२५ मा प्रयोग गरिने नयाँ सफ्टवेयर (One UI 7) र प्रोसेसर (Snapdragon 8 Elite)ले फोनलाई अझै शक्तिशाली एआई प्रयोग गर्न सक्षम बनाउने विश्लेषण गरिएको छ ।
ग्यालेक्सी एस२५ का यी नयाँ फिचरहरू पुराना सामसङ डिभाइसमा उपलब्ध हुने वा नहुने भने अहिले स्पष्ट छैन । सामसङले आउँदो २२ जनवरीमा अनप्याक्ड इभेन्टमार्फत ग्यालेक्सी एस२५ सिरिज लगायतका उत्पादन सार्वजनिक गर्दैछ ।