काठमाडौं । एप्पल वाचले मानिसको ज्यान बचाएको धेरै घटना सार्वजनिक भइरहन्छन् । एक्लै बस्ने मानिसहरू लडेर घाइते हुँदा वा अनियमित हृदयको धड्कन भएका बिरामीलाई समयमै अस्पताल पुर्याउन एप्पल वाचले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
खतरनाक हृदय रोगबाट जोगिन सफल धेरै मानिसहरूका लागि एप्पल वाचको प्रभावकारी ट्र्याकर सेन्सर मुख्य कारण हो । जीवन बचाउन मद्दत पुर्याउने यी धेरै घटनामध्ये एक घटना एप्पलका सीईओ टिम कुकका बुबासँग पनि सम्बन्धित छ ।
टिम कुकले हालै ‘टेबल म्यानर्स’ नामक पडकास्टमा आफ्नो बुबाको जीवन कसरी एप्पल वाचले बचायो भन्ने बारे खुलासा गरेका छन् ।
पडकास्टमा कुराकानीका क्रममा कुकलाई सोधियो, “एप्पल वाचले कहिल्यै मेडिकल अलर्ट पठाएको अनुभव छ ?” उनले जवाफमा भने, “मलाई व्यक्तिगत रूपमा कहिल्यै अलर्ट आएको छैन । तर मेरो बुबा जीवित हुँदा घरमा एक पटक लड्नु भएको थियो । त्यतिबेला उहाँ एक्लै बस्नुहुन्थ्यो । त्यतिबेला वाचले उहाँ लडेको थाहा पायो र आपतकालीन सेवालाई खबर गर्यो ।”
उनले थपे, “वाचले एक्सेलेरोमिटरको माध्यमबाट उहाँको दुर्घटना पत्ता लगायो । उद्धार टोलीले उहाँको घरको ढोका फोरेर भित्र गए, किनभने उहाँ बेहोस अवस्थामा हुनुहुन्थ्यो । त्यसपछि उहाँलाई अस्पताल पुर्याइयो, र उहाँको ज्यान बचाउन सकियो ।”
जब कुकलाई सोधियो, “बुवाले वाचको प्रशंसा गर्नुभयो कि ?” उनले रमाइलो किस्सा सुनाउँदै भने, “बुबा उल्टै रिसाउनुभयो ! किनभने वाचले उद्धारकर्तालाई खबर गर्यो, र उनीहरूले ढोका फोरेर भित्र पसेका थिए । बुबालाई ढोका फोरेको कुरा मन परेको थिएन ।”
एप्पल वाचले गरेको यो प्रकारको सहयोगका कारण यसलाई जीवन रक्षा गर्ने उपकरणका रूपमा पनि हेरिएको कुकले बताएका छन् ।