close

‘मेटाको स्मार्ट चस्माले भाषा अनुवादको काम गर्छ, तर कहिलेकाहीँ गडबढी गर्छ’

टेकपाना टेकपाना

माघ १२, २०८१ १६:२९

‘मेटाको स्मार्ट चस्माले भाषा अनुवादको काम गर्छ, तर कहिलेकाहीँ गडबढी गर्छ’

काठमाडौं । मेटाले हालै सार्वजनिक गरेको रे-बन स्मार्ट चस्मामा लाइभ अनुवाद (Live Translation) फिचर थपिएको छ । यस फिचरले स्पेनिस, फ्रेन्च र इटालियन भाषा बोल्ने व्यक्तिहरूसँग कुराकानी गर्न सजिलो बनाउँछ । 

भाषा अनुवादका साथै मेटाले उक्त चस्मामा लाइभ एआई र शाजाम (छोटो टुक्काको भरमा गीत पत्ता लगाइदिने फिचर) उपलब्ध गराएको थियो । लाइभ ट्रान्सलेसन फिचर अन्तर्गत अर्को व्यक्तिले बोलेको कुरालाई चस्माले वास्तविक समयमा अनुवाद गरेर सिधै कानमा सुनाउँछ । साथै कुराकानीको टेक्स्ट भर्सन फोनमा हेर्न पनि सकिन्छ । सुरुवाती चरणमा कम्पनीले यो फिचर अमेरिका र क्यानडाका सीमित प्रयोगकर्ताका लागि उपलब्ध गराएको थियो ।

लाइभ ट्रान्सलेसन फिचर उपलब्ध भएको एक महिनामै प्रयोगकर्ताले यसको कमजोरी सामना गर्न थालेका छन् । द भर्जका पत्रकार भिक्टोरिया सङका अनुसार उनले स्पेनिस भाषामा के-पपको बारेमा कुराकानी गर्न यो चस्मा प्रयोग गरेका थिए । सामान्यतया उनलाई स्पेनिस भाषा बोल्न गाह्रो हुन्छ, तर चस्माको सहायताले उनले सहजै कुराकानी गर्न सके । उनको अनुभवमा यो फिचर सामान्य कुराकानीको लागि धेरै राम्रो छ । 

तर जब मानिसहरू छिटो बोल्छन् वा लामो वाक्य बोल्छन्, त्यस्तो बेला यसले राम्ररी काम नगर्न सक्छ । छिटो बोल्दा अनुवादमा ढिलाइ हुन्छ र लामो वाक्यमा अनुवाद बीचमै सुरु हुन्छ । यस चस्माले स्प्याङ्लिश (स्पेनिश र अङ्ग्रेजीको मिश्रण) मा पनि काम गर्न सक्छ । तर, जब धेरै अङ्ग्रेजी प्रयोग हुन्छ, यसले दोहोर्याउन थाल्छ । यसले गर्दा कुराकानी गर्न अप्ठ्यारो हुने उनको अनुभव छ ।

चस्माले स्थानीय भाषा र स्ल्याङ (slang) बुझ्नमा पनि समस्या देखाएको छ । उदाहरणका लागि मेक्सिकन स्पेनिसमा ‘नो म्यान्चेस’ को अर्थ ‘होइन’ वा ‘पत्याउनै गाह्रो’ भन्ने हुन्छ । तर चस्माले यसको शाब्दिक अनुवाद मात्र गरेको उनी उल्लेख गर्छन् ।

यो चस्मा विदेशी भाषाका फिल्म वा टिभी कार्यक्रमहरू हेर्नका लागि उपयुक्त नहुने ती पत्रकारको अनुभव छ । चर्को स्वरमा बोलेको कुरा अनुवाद भए पनि सानो स्वर वा छिटो बोलेको कुरा अनुवाद गर्न नसक्ने उनी सुनाउँछन् । 

मेटाले यो फिचरलाई विदेश भ्रमणमा गएका मानिसलाई सामान्य कुराकानी गर्न मद्दत गर्ने उद्देश्यले बनाएको हो । यसले बाटो सोध्न, रेस्टुरेन्टमा खाना अर्डर गर्न, सङ्ग्रहालय जान वा अन्य सामान्य काम गर्न सजिलो बनाउने कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८१ १६:३४