काठमाडौं । अमेरिका आधारित फिनटेक कम्पनी जुनो (Xuno) का संस्थापक बालकृष्ण जोशीले गुगलको ग्राहक सेवा प्रणालीप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । आफ्नो एप अप्रुभ गराउन दुई महिनाभन्दा बढी संघर्ष गर्नुपरेपछि उनले यस्तो दुःखेसो पोखेका हुन् ।
गुगलको स्वचालित (एआई) प्रणालीका कारण एप अप्रुभ हुन नसकेपछि जोशी निराश थिए । लामो समयसम्म यति सामान्य काम पनि नभएपछि जोशीले गुगलका सीईओ सुन्दर पिचाइलाई नै ईमेल लेखे । ईमेल पठाएको केही घण्टाभित्रै आफ्नो समस्या समाधान भएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सुनाएका छन् ।
उनका अनुसार एप अप्रुभ गर्ने क्रममा उनको व्यक्तिगत आईडी ‘ग्लोसी’ भएका कारण गुगलको एआई प्रणालीले पहिचान गर्न सकेन । उनले लेखेका छन्, “दुई महिना कुनै समाधान नआएपछि मैले गुगलमा हाम्रो खर्चको हिसाब गरेर सीईओ सुन्दर पिचाइलाई ईमेल गरेँ । केही घण्टामै कार्यकारी टिमबाट प्रतिक्रिया आयो र समस्या समाधान भयो ।”
जोशी अगाडि लेख्छन्, “ट्रिलियन डलर कम्पनी भएर पनि साँझ ५ बजेपछि ग्राहक सहायता बन्द गर्ने ? अनि, समस्याको समाधान एआई बटहरूले मात्र दिने ? ह्वाट द फक ?”
यस घटनापछि जोशीले जुनोको ग्राहक अनुभवलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । “हामी हाम्रो ग्राहकको समस्यामा ध्यान दिन जीवनकै जोखिम उठाउन तयार छौँ,” उनले भने, “जुनोमा कुनै एआई बट प्रयोग गरिने छैन । वास्तविक मानिसले ग्राहक सहायता प्रदान गर्नेछन् । यदि कुनै समस्या भए मलाई सिधै [email protected] मा ईमेल गर्न सक्नुहुन्छ ।”
उनले ठूला प्रविधि कम्पनीहरूलाई सुझाव दिँदै भने, “तपाईंहरू ग्राहककै कारण यहाँ हुनुहुन्छ, त्यसैले ग्राहक सेवालाई प्राथमिकता दिनुपर्छ ।” जुनो टिमले ‘G.O.A.T (Greatest of all Transfer)’ नामक डिजिटल ट्रान्सफर एप यो वर्षको अन्त्यसम्म सार्वजनिक गर्ने तयारी गरिरहेको उनले बताए । उनका अनुसार यो एप पूर्ण रूपमा ग्राहक अनुभवलाई केन्द्रमा राखेर निर्माण गरिनेछ । “हाम्रो प्राथमिकता व्यवसायको मुनाफा बढाउनु होइन, ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नु हो ।”