close

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

टेकपाना टेकपाना

फागुन ३, २०८१ १३:३५

प्रविधिमा अमेरिकी साम्राज्य भत्काउँदै चीन, विश्वलाई यसरी पार्दैछ चकित

काठमाडौं । चिनियाँ एआई च्याटबट डिपसिकको उदयले संसारलाई चकित पारेको छ । तर यो एउटा वृहत् प्रवृत्तिको हिस्सा मात्र हो । चिनियाँ एपहरू विश्वभर अरूलाई पछि पार्दै सफलताको चुचुरोमा उक्लिँदै छन् । टिकटक, क्यापकट, शिएन, टिमु केही उदाहरण मात्र हुन् । र, यो केवल हाम्रो फोनमा मात्र सीमित छैन । 

चीन अन्य धेरै क्षेत्रमा पनि हावी हुँदै गएको छ । अटोमोबाइलको कुरा गर्दा, चीन अहिले सबैभन्दा धेरै बिक्री गर्ने देश बनेको छ । यसले मोटर वाहन उद्योगमा अगाडि रहेका देशलाई उछिनिसकेको छ । खासगरी बीवाईडी जस्ता विद्युतीय कार निर्माताका कारण चीनले यो क्षेत्रमा छलाङ मारेको छ ।

त्यस्तै, चीन अहिले विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता र सौर्य प्यानल उत्पादक बनेको छ । त्यसैले पनि चीनले प्रविधिमा आफ्नो विशेष पकड जमाएको छ । सोलार प्यानलका सन्दर्भमा अनुमानित रूपमा चीनले विश्वव्यापी आपूर्ति शृङ्खलाको ८० देखि ९५ प्रतिशत हिस्सा ओगट्छ । सन् २०२८ सम्ममा चीनमा विश्वभरको लगभग ६० प्रतिशत नवीकरणीय ऊर्जा उत्पादन हुने अनुमान छ । 

ड्रोनको क्षेत्रमा पनि चीनले राज गरिरहेको छ । अर्को पटक तपाईंले आफ्नो टाउको माथि गुनगुनाइरहेको आवाज सुन्नुभयो भने त्यो सेन्जेन सहरमा बनेको डीजेआई ड्रोन हो भनेर अड्कल गर्दा मिल्ने सम्भावना ७० प्रतिशतभन्दा बढी हुन्छ । विश्वका शीर्ष १० ड्रोन निर्मातामध्ये तीन चिनियाँ छन् । 

क्वान्टम कम्प्युटरको संसारमा चिनियाँ वैज्ञानिकले अन्य देशको तुलनामा वार्षिक रूपमा धेरै क्वान्टमसँग सम्बन्धित अनुसन्धान पत्र प्रकाशित गर्छन् । र, तिनीहरू क्वान्टम कम्प्युटिङ विकासका केही क्षेत्रमा अमेरिकाभन्दा पनि अगाडि छन् ।

त्यस्तै एआईमा पनि यही अवस्था छ । चिनियाँ एआई फर्महरूले अन्य कुनै पनि देशभन्दा धेरै पेटेन्ट जारी गरेका छन् । एआई च्याटबट डिपसिकको उदयले यस प्रडक्टले प्रभावशाली अमेरिकी दिग्गज प्रविधि कम्पनीलाई चुनौती दिन सक्षम छ भन्ने छर्लङ्ग पारेको छ ।

त्यसो भए चीनले यो सबै कसरी गर्‍यो ?

यो सबै चीनको एक दीर्घकालीन योजनाको हिस्सा हो । सन् २०१५ मा चिनियाँ सरकारले ‘मेड इन चाइना २०२५’ नामक एक महत्त्वाकाङ्क्षी परियोजना सुरु गरेको थियो । चीन केवल सस्ता सामानहरू उत्पादन गर्ने ‘विश्वको कारखाना’ मात्र रहन चाहँदैनथ्यो । यसको सट्टा उसले अत्याधुनिक प्रविधिमा आधारित आफ्नै आपूर्ति श्रृंखला विकास गर्दै विश्वव्यापी प्रविधि लिडर बन्ने लक्ष्यमा राख्यो ।

“मेरो विचारमा मेड इन चाइना २०२५ धेरै हदसम्म सफल भयो,” बीबीसीसँग कुरा गर्दै किङ्ग्स कलेज लन्डनकी प्राध्यापक डा. यान्दन गोङ भन्छिन्, “त्यसैले धेरै उद्योगमा चीन अग्रणी स्थानमा पुगिरहेको छ । अब एआईमा पनि चीन एक खेलाडी बनेको छ ।”

चीनले १० प्रमुख प्रविधि क्षेत्रमा अगाडि बढ्ने योजना बनाएको थियो । यस योजनामा २५० भन्दा बढी साना लक्ष्य निर्धारण गरिएका थिए । द साउथ चाइना मर्निङ पोस्टको विश्लेषण अनुसार तीमध्ये ८६ प्रतिशत लक्ष्य पूरा भइसकेका छन् । विद्युतीय सवारी साधन र नवीकरणीय ऊर्जा उत्पादन जस्ता केही लक्ष्यहरूले अपेक्षा गरेभन्दा धेरै राम्रो प्रदर्शन गरेका छन् । 

“चीनले राज्य-समर्थित पूँजीवाद (स्टेट ब्याक्ड क्यापिटलिजम) प्रणाली अपनाएर कम्तीमा मध्यम रूपमा सफलता पाएको छ । र केहीले त यसलाई अत्यधिक सफल भएको पनि मान्छन्,” जर्मन मार्शल फन्ड थिङ्क संस्थाकी ल्यान्डसे गोर्मान भन्छिन् ।

उनी अगाडि भन्छिन्, “यस प्रणालीमा सरकारले अनुसन्धान र लगानीको दिशा तोक्छ, विदेशी अनुसन्धानकर्तालाई चीनमै रहन प्रोत्साहित गर्छ वा उनीहरूको नवीनतम सोच चिनियाँ कम्पनीसँग साझा गराउने वातावरण बनाउँछ । साथै विदेशी व्यवसायहरूलाई चिनियाँ कम्पनीहरूसँग ज्वाइन्ट भेन्चर गर्न बाध्य पार्छ । जसले प्रविधि स्थानान्तरणलाई सहज बनाउँछ । यी सबै उपकरणहरू हुन्, जुन चीनले यी महत्त्वाकांक्षा प्राप्त गर्न प्रयोग गरेको छ ।”

अमेरिकी कंग्रेसको अनुसन्धान अनुसार चीन सरकारले अनुसन्धान, विकास वा विदेशी कम्पनीहरू किन्न अनुदानमा १५ खर्ब बढी अमेरिकी डलर उठाउने वा खर्च गर्ने योजना बनाएको थियो । प्रतिवेदन अनुसार सन् २०२० सम्ममा ६ खर्ब २७ अर्ब डलरभन्दा बढी खर्च भइसकेको थियो । विभिन्न प्रविधिहरू केन्द्रित सहरी हबहरूमा अनुसन्धान केन्द्र तीव्र रूपमा स्थापना भए । 

अमेरिका र उसका सहयोगीका अनुसार चीनले उनीहरूको नवीनतम प्रविधि प्रविधि आत्मसात गर्न त्यसलाई ह्याक गरेर बौद्धिक सम्पत्ति चोरी गर्ने गरेको छ । उदाहरणका लागि, अमेरिकी विमान निर्माता कम्पनीहरूको प्रविधि चीनले चोरेको आरोप लगाइएको छ । तर, चीनले यी सबै आरोपहरू सधैं अस्वीकार गर्दै आएको छ ।

‘मेड इन चाइना’ योजना यति सफल भयो कि, केही वर्षमै चीनले यसको नाम प्रयोग गर्न छोड्यो । किनभने यसले अन्य देशहरूलाई असहज बनाएको थियो । 

“वर्षौंदेखि पश्चिमले संवेदनशील प्रविधिहरूको सम्बन्धमा चीनमाथि प्रतिबन्ध र नाकाबन्दी लगाएको छ,” कार्डिफ युनिभर्सिटी बिजनेस स्कुलका प्राध्यापक पेङ जु भन्छन्, “तर यो ठूलो बाह्य खतराले चिनियाँहरूलाई एकजुट बनाएको छ । र उनीहरूलाई अत्याधुनिक प्रविधिमा आत्मनिर्भरताको रणनीति अपनाउन बाध्य पारेको छ । चीनमा एउटा पुरानो भनाइ छ, ‘जीवनले सधैं आफ्नै बाटो खोज्छ’ ।”

ह्वावे यसको एउटा उत्कृष्ट उदाहरण हो । सन् २०१९ को आसपास यो फाइभजी उपकरणमा विश्वको शीर्ष स्थानमा थियो । मोबाइल फोनमा पनि यसको ठूलो बजार हिस्सा थियो । तर अमेरिकाको नेतृत्वमा ह्वावेविरुद्ध व्यापक प्रतिबन्ध लागेपछि सबैमा ठूलो धक्का लाग्यो ।

ह्वावेको बजार हिस्सा घट्यो र यसले नवप्रवर्तन जारी राख्न आवश्यक माइक्रोचिपहरू प्राप्त गर्न सकेन । तर पछि यसले माइक्रोचिप उत्पादनमा ध्यान केन्द्रित गर्‍यो । अहिले ह्वावे माइक्रोचिपको एक प्रमुख खेलाडी बनेको छ । सन् २०२३ मा यस कम्पनीले एउटा यस्तो माइक्रोचिप भएको फोन ल्यायो, जुन बाँकी विश्वले कल्पना गरेभन्दा धेरै अगाडि थियो । 

यस्तै स्थिति नयाँ भाइरल च्याटबट डिपसिकसँग पनि भएको छ । कम्पनीका अनुसार उनीहरूले आफ्नो मोडेलहरूलाई तालिम दिनका लागि सबैभन्दा शक्तिशाली चिप्स प्राप्त गर्न सकेनन्, त्यसैले पुराना चिप्स प्रयोग गरे र नयाँ प्रविधिहरूको विकास गरेर काम गरे । यसरी उनीहरूले थोरै लगानी र थोरै उपकरण प्रयोग गरेर प्रभावशाली च्याटबट बनाएका थिए । यसले अमेरिकालाई नै चकित पार्‍यो ।

“चिनियाँ कम्पनीको डिपसिक एआई हाम्रो उद्योगहरूको लागि एक चेतावनी (वेक अप कल) हो । यसलाई जित्न हामी प्रतिस्पर्धा गर्नमा केन्द्रित हुनुपर्छ,” नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोलल्ड ट्रम्पले भनेका थिए । 

अर्कोतर्फ शर्ट भिडिओ स्ट्रिमिङ प्लेटफर्म टिकटकले पश्चिमा देशहरूलाई नै चकित पारेको छ । यो पछिल्लो १० वर्षमा सफल हुने पहिलो गैर-अमेरिकी सामाजिक नेटवर्क हो । यसको ठूलो सफलता अहिले चर्चामा छ । र, राष्ट्रिय सुरक्षाको कारण अमेरिकाको सम्भावित हस्तक्षेपको खतरामा छ । तर शिएन र टिमु अहिले ईकमर्स क्षेत्रमा नयाँ चुनौतीको रूपमा उभिएका छन् । चीनका सस्तो सामान र नवीनतम एप प्रविधिको संयोजनका कारण यो सम्भव भएको हो ।

तर चीनले २०२५ का आफ्ना सबै लक्ष्यमा सफलता पाएको छैन । यो चिप्सको क्षेत्रमा अन्य देशहरूभन्दा अझै धेरै वर्ष पछाडि छ र थप नाकाबन्दी र नियन्त्रणका कारण यसको प्रगति अझ खराब हुने देखिएको छ । साथै अमेरिकी सरकार र निजी फर्महरू चिप प्रविधिमा अगाडि रहनका लागि अर्बौं डलर लगानी गरिरहेका छन् ।

“अनुसन्धान र विकासका क्षेत्रमा लगानी वृद्धिले अमेरिकालाई भविष्यका उद्योगहरूमा विश्वको नेतृत्व गर्ने सुनिश्चित गर्नेछ,” तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका थिए ।

गत जनवरीमा प्रविधिका दिग्गज अमेरिकी कम्पनी सफ्ट बैंक, ओपनएआई र ओर्‍याकलले संयुक्त रूपमा एआई पूर्वाधारमा पाँच खर्ब डलर लगानी गर्ने प्रतिवद्धता दिएका थिए । यसलाई अमेरिकाले स्वागत गरेको छ । जर्मनी र जापान जस्ता अन्य औद्योगिक देशहरूले पनि नयाँ योजनाहरू सुरु गरेका छन् ।

-बीबीसी विश्व सेवाको भिडिओका आधारमा तयार पारिएको सामग्री

पछिल्लो अध्यावधिक: फागुन ३, २०८१ १४:१७