close

अब ईभी माइक्रोमै काभ्रेको खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तीनकुनेसम्मको यात्रा

टेकपाना टेकपाना

फागुन ११, २०८१ १५:८

अब ईभी माइक्रोमै काभ्रेको खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तीनकुनेसम्मको यात्रा

काठमाडौं । मिनी बसमार्फत पनौती–काठमाडौं रुटमा यातायात सेवा दिँदै आएको काभ्रे पुण्यवती यातायात प्रालिले ईभी माइक्रो प्रयोगमा ल्याएको छ । आइतबारदेखि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तीनकुने हुँदै पुनः खोपासी र शंखु फर्कने गरी ईभीका लागि दुई ओटा नयाँ रुट कायम गरिएको हो ।

कम्पनीका अध्यक्ष राजेशसुन्दर सैंजुले मानेश्वरी पार्कमा ईभी माइक्रो सेवाको औपचारिक रूपमा उद्घाटन गरे ।

“हामीले गत कात्तिक मै कम्पनी मातहत रहेर ईभी माइक्रो सेवा सुरु गर्न चाहने व्यक्ति र कम्पनीलाई आह्वान गरेका थियौँ । सोही अनुरूप हाल पाँच ओटा ईभी माइक्रो समावेश भएका छन्, अरू पनि थपिँदैछन्”, सैँजूले थपे ।

हाललाई खोपासीबाट पाँच ओटा र शंखुबाट पाँच गरी १० ओटा ईभी माइक्रो सुरु हुने र यसको प्रभावकारिताका आधारमा थप पाँच ओटा ईभी सञ्चालन गर्ने योजना पनि उनले सुनाए ।

हाल खोपासीबाट ११ सिट क्षमताको र शंखुबाट १४ सिट क्षमताको माइक्रो ईभी सञ्चालन हुँदैछ । काभ्रे पुण्यवती यातायात कम्पनीले पर्यावरण तथा प्रविधि र यात्रुको जनघनत्वलाई समेत ध्यानमा राखेर ईभी माइक्रो सञ्चालन गर्न लागेको हो ।

सैँजूले भने, “हाम्रो कम्पनीले बस तथा मिनी बसबाट सेवा दिइरहेका केही ग्रामीण भेगमा यात्रुको चापको कमीले गर्दा ठुलो बस सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो । यही अवस्थालाई ध्यानमा राख्नै यात्रुलाई छिटोछरितो सेवा दिन थोरै सिट भएका ईभी माइक्रो सेवा थालिएको हो ।”

स्थापना कालमा काभ्रे मिनी बस सेवा समितिका रूपमा २०३४ सालमा दर्ता भई हालसम्म डिजेलबाट सञ्चालित बस तथा मिनी बस सञ्चालन गरिरहेको हालको उक्त कम्पनीले काभ्रे जिल्लामा ईभी माइक्रो सञ्चालन गर्ने पहिलो कम्पनी बनेको दाबी समेत गरेको छ । 

 

पछिल्लो अध्यावधिक: फागुन ११, २०८१ १५:१६