काठमाडौं । चीनको झेजियाङ प्रान्तको राजधानी हाङझाउले प्रविधि क्षेत्रमा गरेको विकासले सारा विश्वको ध्यान तानेको छ । गेम साइन्स, डिपसिक, युनिथ्री रोबोटिक्स जस्ता उदाइरहेका स्टार्टअपले हाङझाउलाई चीनको ‘सिलिकन भ्याली’ बनाएको छ ।
हाङझाउमा प्रविधि कम्पनीहरूको वृद्धि कुनै संयोग होइन । यहाँको प्रतिभा, सरकारी सहयोग र नवप्रवर्तनमैत्री वातावरणले प्रविधि क्षेत्रमा ठुलो परिवर्तन सम्भव बनाएको छ ।
हाल हाङझाउका छ प्रविधि कम्पनीहरू विश्वभर चर्चित छन्, जसलाई ‘सिक्स लिटिल ड्रागन’ भनिन्छ । ती कम्पनीहरू हुन्: युन सेन चु टेक्नोलोजी, युनिथ्री रोबोटिक्स, डिपसिक, गेम साइन्स, छ्युनह टेक्नोलोजी र ब्रेनको ।
यी कम्पनीहरूले एआई, रोबोटिक्स, गेमिङ, ब्रेन-कम्प्युटर इन्टरफेस जस्ता क्षेत्रमा ठुलो प्रभाव पारिरहेका छन् ।
यहाँका सबैभन्दा चर्चित उपलब्धिमध्ये गेम साइन्सले विकास गरेको ‘ब्ल्याक मिथ: वुकोङ्ग’ एक हो । यस भिडिओ गेमले परम्परागत चिनियाँ संस्कृतिलाई विश्वव्यापी गेमिङ बजारमा प्रस्तुत गरेको थियो । यसले १ अर्ब डलर (१ खर्ब ३९ अर्ब रुपैयाँ) भन्दा बढी आम्दानी गरेको थियो । यस गेमलाई ‘द गेम अवार्ड्स २०२४’ मा ‘बेस्ट एक्सन गेम’ र ‘प्लेयर्स भ्वाइस’ सम्मान समेत दिइएको थियो । यसलाई चिनियाँ गेम डेभलपरको ठुलो सफलता समेत मानिने गरिएको छ ।
यस्तै हाङझाउकै उत्पादन डिपसिकको डिपसिक- भी३ एआई मोडेल पनि विश्वकै ध्यान खिच्दै उदाइरहेको छ । कम खर्चमा नै तयार गरिएको यस मोडेलले एआईको विकासमा चिनियाँ तीव्र गतिले अघि बढिरहेको पनि दर्शाएको छ । यस एआई सहज र सरल तरिकाले प्रयोगकर्ताले प्रयोग गर्न पाइरहेका छन् ।
युनिट्री रोबोटिक्सले अप्ठ्यारो ठाउँमा पनि सजिलै हिँड्न सक्ने र आपतकालीन समयमा उद्धार कार्यमा समेत सहायता दिन सक्ने क्षमताको बी२-डब्ल्यू रोबोटिक कुकुर बनाएको छ । यसको क्षमताका कारण यस रोबोटलाई विश्वभर नै रुचाइएको छ । विश्वमा बिक्री हुने चारखुट्टे रोबोट बजारको ७० प्रतिशत हिस्सा यस रोबोटले ओगटेको बताइन्छ ।
युन शेन चु टेक्नोलोजी, ब्रेनको र छ्युनह टेक्नोलोजी जस्ता कम्पनी पनि प्रविधि क्षेत्रमा ठुलो पाइला चालिरहेका छन् । युन शेन चुका रोबोटहरू अहिले सिंगापुरका पावर टनेलहरूको निरीक्षणका लागि प्रयोग भइरहेका छन् । ब्रेनकोले ब्रेन-कम्प्युटर इन्टरफेस प्रविधि निर्माण कार्य अघि बढाएको छ । यस प्रविधिले अशक्त व्यक्तिहरूलाई सहयोग पुर्याउँदैछ ।
त्यस्तै छ्युनह टेक्नोलोजीको क्लाउड कम्प्युटिङ सोलुसन्स र थ्रीडी स्पेस डिजाइन प्लेटफर्ममार्फत एआई र डिजिटल सामग्री उद्योगलाई नयाँ रूप दिने काम गरिरहेको छ ।
के कारणले मिल्यो सफलता ?
हाङझाउ प्रविधि क्षेत्रमा अगाडि बढ्नुमा सरकारी नीतिहरूको ठुलो भूमिका छ । स्टार्टअपलाई आर्थिक सहयोग, करमा छुट, कम ब्याजदरमा ऋण सुविधा, नि:शुल्क अनुसन्धान पूर्वाधार र कार्यालय स्थान जस्ता सुविधा दिइएको छ ।
हाङझाउ फ्युचर साइ-टेक सिटीजस्ता इनोभेसन पार्कहरूले स्टार्टअपहरूलाई नि:शुल्क कार्यस्थल उपलब्ध गराउँछन्, जसले नयाँ कम्पनीहरूलाई द्रुत रूपमा विकास गर्न मद्दत गर्छ ।
जब गेम साइन्स कम्पनीलाई ‘ब्ल्याक मिथ: वुकोङ्ग’ गेम विकासका लागि ठूलो कार्यस्थल आवश्यक पर्यो, हाङझाउ सरकारले न केवल ठाउँ उपलब्ध गरायो, थप दुई भवन समेत तीन वर्षसम्म खाली राख्यो । त्यस्तै, जब युनिट्री रोबोटिक्सलाई छिटो पेटेन्ट आवश्यक पर्यो, हाङझाउ सरकारले बौद्धिक सम्पत्ति संरक्षणका लागि विशेष सेवा सुरु गर्यो ।
हाङझाउको पारदर्शी नीति, दक्ष सरकारी सेवा र नवप्रवर्तनमैत्री वातावरणका कारण यो सहर अब विश्वको प्रमुख प्रविधि केन्द्रहरूमध्ये एक बन्ने बाटोमा छ ।