काठमाडौं । नेपालमा पहिलो पटक अन्तरिक्ष प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र स्याटलाइट इनोभेसनमा केन्द्रित विशेष कार्यक्रम आयोजना हुने भएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपाल र पाइथन फाउन्डेसनको सहकार्यमा आगामी ११ अप्रिलमा काठमाडौंको मर्क्युरी होटल, सुकेधारामा आयोजना हुने ‘स्पेसकन २०२५’ नामक उक्त सम्मेलनमा अन्तरिक्ष विज्ञानका विज्ञ, प्रविधि क्षेत्रका नवप्रवर्तक तथा उत्साही व्यक्तिहरूको उपस्थितिमा नवीनतम प्रविधिहरूबारे विस्तृत छलफल हुनेछ ।
सम्मेलनमा विभिन्न प्यानल छलफल, प्रस्तुति तथा अन्तरिक्ष प्रविधि प्रदर्शन हुने अन्तरिक्ष प्रतिष्ठान नेपालले जानकारी दिएको छ । साथै, सहभागीहरूका लागि शीर्ष स्तरका विज्ञहरूसँग अन्तरक्रिया तथा नेटवर्किङको अवसर पनि उपलब्ध हुनेछ ।
सम्मेलनमा विद्यार्थीहरूमाझ पाइथन प्रोग्रामिङमा आधारित परियोजनाहरूको प्रस्तुति तथा प्रदर्शनीको अवसर पनि दिइनेछ । उत्कृष्ट १० परियोजनाहरू छनोट गरी ती परियोजनाका सिर्जनाकर्ताहरूलाई सम्मेलनमा विशेष आमन्त्रण गरिने आयोजकले जनाएको छ । इच्छुक विद्यार्थीले ५ अप्रिलभित्र आफ्नो परियोजनासहित आवेदन दिन सक्नेछन् ।
यसबाहेक, अन्तरिक्ष प्रविधिमा काम गरिरहेका अनुसन्धानकर्ता, वैज्ञानिक तथा उद्यमीहरूले आफ्ना नवीनतम परियोजनाहरू प्रदर्शनीमार्फत प्रस्तुत गर्न सक्नेछन् । यस अवसरले उनीहरूलाई नेपालका शीर्ष विज्ञ, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका महत्त्वपूर्ण व्यक्तिहरूसँग छलफल तथा सहकार्यको अवसर प्रदान गर्नेछ ।
सम्मेलनमा नेपालका विभिन्न उपग्रह परियोजनाहरूको आधिकारिक जानकारी पनि दिइने अन्तरिक्ष प्रतिष्ठानले जनाएको छ ।
शीर्ष प्रविधि विज्ञ तथा सफ्टवेयर इन्जिनियरहरूले आर्टिफिसियल इन्टेलिजेन्स, डेटा साइन्स तथा पाइथन प्रविधिको प्रयोगमार्फत अन्तरिक्ष अन्वेषण कसरी अगाडि बढ्न सक्छ भन्नेबारे अन्तरदृष्टि प्रदान गर्नेछन् । साथै, अन्तरिक्ष विज्ञान र प्रविधिको भविष्यबारे गहन छलफल तथा प्राविधिक सत्रहरू समेत आयोजना गरिनेछन् ।
सम्मेलनमा प्रमुख वक्ताका रूपमा डा. आभास मास्के, सफ्टवेयर इन्जिनियर सुलभ दाहाल तथा एमएल इन्जिनियर आशिष पोखरेलले आफ्ना अनुभव तथा अनुसन्धानबारे जानकारी दिनेछन् । अन्य चर्चित प्रविधि विशेषज्ञहरूबीच प्यानल छलफल हुनुका साथै अन्तरक्रियात्मक कार्यशाला तथा व्यावहारिक प्रस्तुतीकरणहरू हुने तालिका छ ।
आयोजकका अनुसार ‘स्पेसकन २०२५’ अन्तरिक्ष प्रविधिमा चासो राख्ने इन्जिनियर, सफ्टवेयर डेभलपर, डेटा साइन्टिस्ट, अनुसन्धानकर्ता, विद्यार्थी तथा प्रविधिप्रेमीका लागि सुनौलो अवसर हुनेछ । कार्यक्रममा सहभागी भई नेपालमा अन्तरिक्ष प्रविधिको वर्तमान अवस्था तथा भविष्यबारे जानकारी लिन सकिनेछ ।