close

सुगन्ध निकाल्ने अनौठो फोन ल्याउँदै इन्फिनिक्स

टेकपाना टेकपाना

चैत २३, २०८१ १०:३९

सुगन्ध निकाल्ने अनौठो फोन ल्याउँदै इन्फिनिक्स

काठमाडौं । इनफिनिक्सले सुगन्ध निस्कने प्रविधिसहितको स्मार्टफोन बजारमा ल्याउने भएको छ । कम्पनीले नोट ५० एस फाइभजी प्लस (Note 50s 5G+) नामको नयाँ स्मार्टफोन प्रस्तुत गर्न लागेको हो । 

यो फोनमा ‘सेन्ट-टेक’ नामक विशेष प्रविधिको प्रयोग गरिएको छ । उक्त प्रविधिमार्फत स्मार्टफोनको पछाडिको भागबाट हल्का र ताजगी दिने बासना निस्कनेछ । सुगन्ध निकाल्नका लागि फोनको कृत्रिम छालाजस्तो देखिने ब्याक कभरमा माइक्रोइन्क्याप्सुलेसन टेक्नोलोजी प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

यस प्रविधिमा सुगन्धका अणुहरू सूक्ष्म क्याप्सुलमा राखिन्छन्, जसबाट बिस्तारै बासना निस्कन्छ ।

फोनबाट निस्कने यस्तो सुगन्ध करिब छ महिनासम्म टिक्ने बताइएको छ । तापक्रम, आर्द्रता तथा प्रयोगको आधारमा सुगन्धको प्रभावमा अन्तर पर्नेछ ।

यो फोन भारतमा १८ अप्रिलमा सार्वजनिक हुँदैछ । इनफिनिक्स इन्डियाका सीईओ अनिश कपुरले स्मेलयुक्त फोन नयाँ प्रयोग भएको बताउँदै भने, “सुगन्ध आउने फोनले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । राम्रो देखिने फोनसँगै राम्रो गन्ध आए किन नहोस् ?”

‘Note 50s 5G+’ तीन रङमा उपलब्ध हुनेछ । तीमध्ये मरिन ड्रिफ्ट ब्लुमा मात्र सुगन्ध मिसाइएको संस्करण पाइनेछ । उक्त स्मार्टफोनको मूल्य २०,००० भारुभन्दा कम हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८१ १०:५३