काठमाडौं । माइक्रोसफ्टले भोलि नेपालका तीन सहर काठमाडौं, पोखरा र दाङमा ‘एआई स्किल्स फेस्ट नेपाल २०२५’ आयोजना गर्ने भएको छ । यस कार्यक्रममा अनलाइन तथा प्रत्यक्ष दुवै माध्यमबाट सहभागी हुन सकिनेछ ।
विश्वव्यापी रूपमा आयोजना हुने यस कार्यक्रमका सबै सहभागीले ५० दिने अनलाइन एआई तालिम निःशुल्क पाउनेछन् । नेपालमा राष्ट्रिय आविष्कार केन्द्र (आईसीटी ल्याब पोखरा) सँगको सहकार्यमा ‘एआई फेस्ट नेपाल २०२५’ आयोजना हुँदैछ ।
२४ घण्टा लामो यस कार्यक्रममार्फत माइक्रोसफ्टले बहुस्तरीय अनलाइन एआई तालिम दिने र सोही अवधिमा सबैभन्दा धेरै प्रयोगकर्तालाई सहभागी गराएर गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाउने लक्ष्य राखेको छ ।
नेपालका तीन सहरमा हुने कार्यक्रममार्फत कम्तीमा एक हजार प्रत्यक्ष सहभागी हुने र अनलाइनबाट हजारौं जोडिने अनुमान गरिएको छ ।
भोलिको कार्यक्रमपछि सुरु हुने ५० दिने एआई तालिम आगामी मे २८ सम्म चल्नेछ । उक्त तालिममा विद्यार्थी, शिक्षक, व्यवसायी, प्रविधिका पेसाकर्मी लगायत एआईमा रुचि राख्ने सबैले सहभागी हुन सक्नेछन् ।
एआई सिकाइ यात्रामा ह्याकाथन, प्रत्यक्ष तथा भर्चुअल तालिम, अनुकूल समयअनुसार अध्ययन गर्न सकिने सामग्री, मागअनुसार तालिम, सामुदायिक कार्यक्रम र ‘माइक्रोसफ्ट लर्न च्यालेन्ज’ जस्ता गतिविधि समावेश हुनेछन् ।
कार्यक्रममा सहभागी हुन इच्छुकले यहाँ क्लिक गरी फाराम भर्न सक्नेछन् ।