close

टेलिकमको संवेदनशील सेवा ह्वावेलाई सुम्पिन लागेको सिंहको आरोप, भन्छन्- ‘देशलाई धोका हुनसक्छ’

टेकपाना टेकपाना

भदौ १४, २०८२ ९:५५

टेलिकमको संवेदनशील सेवा ह्वावेलाई सुम्पिन लागेको सिंहको आरोप, भन्छन्- ‘देशलाई धोका हुनसक्छ’

काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले नेपाल टेलिकमको संवेदनशील कोर सिस्टम र बिलिङ सिस्टम चिनियाँ कम्पनी ह्वावेलाई सुम्पिने तयारी भइरहेको भन्दै गम्भीर आरोप लगाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै सिंहले यस्तो कार्यले देशको राष्ट्रिय सुरक्षामाथि नै गम्भीर असर पार्न सक्ने संकेत गरे ।

कुनै पनि दूरसञ्चार अपरेटरले आफ्नो कोर र बिलिङ सिस्टम एउटै सेवा प्रदायक (भेन्डर) लाई दिँदा उक्त भेन्डर सर्वेसर्वा हुने र उसको कामको प्रभावकारी निगरानी गर्न नसकिने उनको मत छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार टेलिकमजस्तो संवेदनशील सेवाको सम्पूर्ण अधिकार एउटा कम्पनीलाई मात्र दिँदा अप्ठेरो परेको अवस्थामा धोका हुन सक्ने उनको भनाइ छ ।

टेलिकमको कोर र बिलिङ सिस्टम एउटै कम्पनीलाई दिँदा उक्त कम्पनी सर्वेसर्वा हुने र उसले गरेको कामलाई कसैले निगरानी गर्न नसक्ने उनले उल्लेख गरे । हाल नेपाल टेलिकममा ह्वावेकै कोर र र्‍याड नेटवर्क प्रविधि रहेको र अब बिलिङ प्रणालीमा पनि उसैलाई छिराउन खोजिएको आरोप लाग्दै आएको छ ।

सांसद सिंहले यसअघि आफूले बजेट विनियोजन शीर्षकमा ‘केही जिल्लाहरू लिजमा दिउँ’ भन्दा नेकपा एमालेका सांसदहरूले राष्ट्रघाती अभिव्यक्ति भन्दै नियमापत्ति जनाएको स्मरण गराएका छन् । तर, अहिले नेपाल टेलिकमजस्तो राष्ट्रिय सम्पत्ति चिनियाँ कम्पनीलाई सुम्पन खोज्दा एमाले मौन बसेको भन्दै उनले प्रश्न गरेका छन्, “म एमालेका ती मित्रहरूलाई सोध्न चाहन्छु के यो राष्ट्रवादी कदम हो ?”

उनले यस संवेदनशील विषयमा नेपाली कांग्रेसको नेतृत्व पनि चुइक्क बोल्न नसकेकोमा तीव्र आक्रोश व्यक्त गरे । “सभापति त त्यसकै लागि पार्टी नेतृत्व गरिरहेका छन्,” उनले लेखेका छन्, “तर महामन्त्री पनि चुप छन् । कांग्रेस-एमाले मिलेर देशको सबै सम्पत्ति सखाप पार्ने भए ।”

पछिल्लो अध्यावधिक: भदौ १४, २०८२ १०:२