काठमाडौं । दूरसञ्चार क्षेत्रमा नयाँ प्रविधिको रुपमा उदाएको फाइभजी विश्वका धेरै देशमा अवलम्बन हुने तयारीमा छ । अमेरिकामा पनि आउँदो जनवरी ७ देखि दुई सेवाप्रदायकले यसको व्यवसायिक सुरुवात गर्ने तयारी गरिरहेका छन् ।
नेपालमा हालसम्म यसको सुरुवात नभए पनि परीक्षण प्रक्रिया भने सुरु भएको छ । यस्तोमा चाँडै नेपाली प्रयोगकर्ताले परीक्षणकै क्रममा भएता पनि फाइभजी प्रयोग गर्न पाउने अनुमान गर्न सकिन्छ ।
तर, उच्च गतिको मोबाइल तथा आईओटी इन्टरनेटका रुपमा हेरिएको फाइभजी प्रविधि र यसको गति नेपाली प्रयोगकर्ताले परीक्षण गर्न नपाउँदै घट्दै गएको अध्ययनले देखाएको छ ।
इन्टरनेट स्पिड मापनका लागि चिनिएको ओक्लाका अनुसार सन् २०२१ बाटै फाइभजीको स्पिडमा उल्लेख्य रुपमा कमी आएको छ । कम्पनीले हालै ‘क्यू थ्री २०२१ फाइभजी मिडियन पर्फमेन्स’ प्रतिवेदन सार्वजनिक गरेको छ ।
साे प्रतिवेदन अनुसार फाइभजीको औषत गति १६६.१२ एमबीपीएसमा झरेको छ । जुन अघिल्लो वर्षको तुलनमा १३ प्रतिशतले कम हो ।
अघिल्लो वर्ष फाइभजीको औषत गति २०६.२२ एमबीपीएस मापन गरिएको थियो । त्यतिमात्रै नभएर फाइभजीमा अपलोड स्पिड औषतमा २१.०८ मात्रै मापन भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशत कम हो ।
अघिल्लो वर्ष फाइभजीको औषत अपलोड स्पिड २९.५२ एमबीपीएस थियो । प्रतिवेदन अनुसार फाइभजी स्पिडको दाैडमा सबैभन्दा अघि दक्षिण कोरिया छ । जहाँ फाइभजीको औषत स्पिड ४९२.४८ एमबीपीएस रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा बढी हाे । त्यस्तै दोस्रो स्थानमा नर्वे छ ।
नर्वेमा फाइभजीको औषत स्पिड ४२६.७५ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा निकै कम हो । अघिल्लो वर्ष नर्वेमा फाइभजीको औषत स्पिड ५४९.०२ एमबीपीएस रहेको उल्लेख छ ।
यो सूचीको तेस्रो र चौंथो स्थानमा क्रमशः यूएई र साउदी अरेबिया रहेका छन् । त्यस्तै कतार, कुवेत, स्विडेन, चीन, ताइवान र न्युजिल्याण्ड उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् ।