close

क्रियटरका लागि एनएफटी फिचर ल्याउँदै युट्युव, भिडिओबाटै क्रिप्टोकरेन्सी आर्जन गर्न सकिने

टेकपाना टेकपाना

माघ १२, २०७८ १५:२३

क्रियटरका लागि एनएफटी फिचर ल्याउँदै युट्युव, भिडिओबाटै क्रिप्टोकरेन्सी आर्जन गर्न सकिने

काठमाडौं । युट्युवले आफ्ना भिडिओ क्रियटरका लागि नन-फन्जिबल टोकन (एनएफटी) फिचर ल्याउने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुसन वज्किकीले मङ्गलबार ब्रोडकास्टर साइटमार्फत यो विषयमा जानकारी दिएकी हुन् ।

यद्यपि वज्किकीले आफ्नो योजना ठ्याक्कै के हो अथवा कहिले आउँछ भन्ने विषयमा स्पष्टताका साथ खुलाएकी छैनन् । तर यसलाई गुगल र युट्युवको मालिक कम्पनी अल्फाबेट पहिलो पटक क्रिप्टोकरेन्सी स्वीकार गर्ने विषयमा संलग्न हुन थालेको अर्थमा लिइएको छ ।

युट्युवका थुप्रै प्रतिस्पर्धीहरूले यसअघि नै यो ट्रेन्ड पच्छ्याउन थालिसकेका छन् । ट्वीटरले प्रयोगकर्तालाई आफ्नो प्रोफाइल फोटोमा एनएफटी राख्न दिन थालिसकेको छ र इन्स्टाग्रामले समेत समान यस्तै किसिमको फिचरका लागि काम गरिरहेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

एनएफटी त्यस्तो डिजिटल सम्पत्ति हो, जसले आर्ट जस्ता डिजिटल सम्पत्तिको स्वामित्वलाई प्रतिनिधित्व गर्छ । यसलाई मानिसहरूले खरिद तथा बिक्री गर्न सक्छन् ।

युट्युवले वर्षौं लगाएर सबैभन्दा ठूलो क्रियटर अर्थात् सर्जक र रचनाकारको अर्थतन्त्र तयार पारेको छ । जसमा भिडिओ स्टार तथा क्रियटरले विज्ञापनसँगै फ्यान पेमेन्ट र ई-कमर्स समेत बाट आम्दानी गर्न सक्छन् ।

वज्किकीले आफ्नो कम्पनी क्रिप्टोमाथि बनेको इन्टरनेटको नयाँ पुस्ता वेब थ्रीलाई प्रेरणाको स्रोतको रुपमा हेरिरहेको बताएकी छन् ।

‘हामी एनएफटी सहितका उदाउँदा प्रविधिसँगै क्रियटरको आम्दानी बढाउन सकिने गरी युट्युवको इकोसिस्टम विस्तार गर्ने विषयमा ध्यान दिइरहेका छौँ ।  युट्युवमा क्रियटर र फ्यानको अनुभव सुधार गर्न तथा मजबुत बनाउने विषयमा समेत काम गर्दै आएका छौं,’ उनले यसै हप्ता क्रियटरका लागि यसै हप्ता लेखेको वार्षिक पत्राचारमा भनेकी छन् ।

तर साइटको एनएफटी योजना बारेमा युट्युवका प्रवक्ताले थप विवरण खुलाउन चाहेनन् । थुप्रै युट्युव क्रियटरहरू क्रिप्टो र यससँग सम्बन्धित प्रविधिमाथि भिडिओ बनाउने विषयमा सक्रिय छन् । अन्य सामाजिक सञ्जाल जस्तै युट्युव पनि क्रिप्टोको नाममा हुने ठगीबाट ग्रस्त छ ।

युट्युव र इन्स्टाग्राममा हुने विज्ञापनभन्दा पनि वेब थ्रीमा हुने एनएफटी र अन्य क्रिप्टोमा आधारित परियोजनाबाट क्रियटरले वैकल्पिक रुपमा अझ राम्रो आम्दानी गर्न सक्नेछन् । जसले कन्टेन्टको वितरण र उनीहरूले कसरी भुक्तानी पाइरहेका छन् भन्ने विषयमा अझ राम्रोसँग नियन्त्रण कायम गर्नेछ । 

तर बजार अझै प्रारम्भिक र अस्थिर अवस्थामा छ । गत साता मात्रै खरिद बिक्रीमा प्रयोग हुने मुख्य क्रिप्टोकरेन्सीहरूको मूल्यमा भारी  गिरावट आएको थियो ।

आफ्नो पत्रमा वज्किकीले गेमिङ, शपिङ, म्युजिक, शर्ट्स समेत युट्युवको प्राथमिकतामा रहेको उल्लेख गरेकी छन् । उनका अनुसार २०२० को अन्त्यमा सुरु भएको कम्पनीको शर्ट्स फिचरमा पाँच ट्रिलियन भ्युज नाघिसकेको बताएकी छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२