काठमाडौं । २०१७ को फेब्रुअरीमा बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कङ्ग्रेसमा चिनिया कम्पनी जेडटीईले विश्वकै पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको थियो । जसको नाम गिगाबाइट फोन राखिएको थियो ।
यो फोनको डाउनलोड स्पिड एक जीबीपीएस रहेको दाबी गरिएको थियो । पछिल्लो पाँच वर्षमा हजारौँ फाइभजी फोन बजारमा सार्वजनिक भइसकेका छन् । नेपालमा मात्रै पनि कति फाइभजी स्मार्टफोन सार्वजनिक भए भन्ने कुराको कुनै गणना छैन ।
तर मोबाइल तथा दूरसञ्चार सेवाप्रदायक कम्पनीले नेपालमा अहिलेसम्म फाइभजी सेवा सञ्चालनमा ल्याइसकेका छैनन् । यसका बावजुद तपाईँ फाइभजी स्मार्टफोन खरिद गर्ने विचारमा हुनुहुन्छ भने तपाईँका लागि यो सामग्री महत्त्वपूर्ण हुनसक्छ ।
नेपालमा कहिले सार्वजनिक होला फाइभजी ?
सरकारले नेपाल टेलिकमलाई परीक्षणको रुपमा फाइभजी सेवा सुरु गर्न दिने निर्णय लिएको करिब एक वर्ष पूरा हुँदैछ । त्यसै अनुसार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई यसका लागि पत्राचार समेत गरिसकेको छ ।
यति मात्र होइन, परीक्षणका लागि फ्रिक्वेन्सी समेत छुट्याइसकेको अवस्था छ । तर नेपाल टेलिकम भने परीक्षणका लागि ल्याइएका सामग्रीहरू फिर्ता नहुने देखेर अन्यौलमा फसेको छ ।
यद्यपि फाइभजी सेवा परीक्षण गर्न कम्पनीले आपूर्तिकर्तासँग छलफल भने अगाडि बढाएको छ । तर ठोस रुपमा त्यसमा कुनै उपलब्धी भने हात लागिसकेको छैन ।
अर्को दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले फाइभजी परीक्षणका लागि अनुमति माग गर्दा समेत कुनै सुनुवाई हुन सकेको छैन । परीक्षण नै सुरुवात हुन नसकेको अहिलेको अवस्थामा फाइभजी प्रविधि व्यवसायिक रुपमा सञ्चालनमा आउन अझै वर्षौँ लाग्ने निश्चित छ ।
के अहिल्यै फाइभजी स्मार्टफोन नकिन्नु ?
तपाईँ मध्ये केही व्यक्तिहरूसँग अहिले पनि फाइभजी फोन हुनसक्छ । स्मार्टफोन निर्माता कम्पनीहरूले आफ्नो फोनहरूलाई भविष्यका लागि समेत योग्य स्मार्टफोनको रुपमा मार्केटिङ गरिरहेका छन् ।
कतिपयले त तपाईँलाई नयाँ स्मार्टफोन खरिद गर्दा फाइभजी स्मार्टफोन नै खरिद गर्ने सल्लाह समेत दिइरहेका होलान् । के तपाईँले सोच्नु भएको छ, यस्तै सल्लाहको पछि लागेर दुई वर्ष अघि फाइभजी स्मार्टफोन खरिद गर्नेहरू पनि थिए ।
अहिले आएर उनीहरूको स्मार्टफोनको आयू समाप्त हुनै लागेको छ । तर ती स्मार्टफोनको भाग्यमा फाइभजी लेखिएकै रहेनछ ।
त्यसैले फाइभजी मोबाइल सेवा सार्वजनिक हुनु अघि फाइभजी सपोर्ट गर्ने स्मार्टफोन खरिद गर्ने विषयमा लहड राख्नुको खासै अर्थ छैन । किन भने फोरजी सपोर्ट गर्ने स्मार्टफोनको तुलनामा फाइभजी सपोर्ट गर्ने स्मार्टफोनहरू महँगा हुन्छन् ।
यदि सस्तोमै फाइभजी स्मार्टफोन पाउनु भयो भने पनि त्यसमा कतिपय फिचर तथा स्पेसिफिकेसनका लागि सौदाबाजी गर्नुपर्ने हुन्छ । तपाईँले फाइभजी स्मार्टफोन खरिद गर्ने मूल्यमा अझ राम्रो फोरजी स्मार्टफोन पाउन सक्नुहुन्छ ।
फोरजी सेवामा नेपाल टेलिकमको हालत तपाईँले देख्नु भएकै होला । यदि तपाईँसँग ८०० मेगाहर्ज ब्यान्ड सपोर्ट गर्ने स्मार्टफोन छैन भने नेपाल टेलिकमको फोरजी सेवा तपाईँले राम्रोसँग प्रयोग गर्नै पाउनु हुन्न ।
सहरमा ठीकठीकै चले पनि ग्रामीण क्षेत्रमा फिटिक्कै नचल्न सक्छ । यसैगरी भोलिको दिनमा नेपालमा कुन फ्रिक्वेन्सी ब्यान्डमा स्थानीय टेलिकम कम्पनीले फाइभजी सेवा सञ्चालनमा ल्याउँछन् भन्ने कुराको टुङ्गो छैन ।
त्यसैले तपाईँले अहिले फाइभजी स्मार्टफोन खरिद गर्नु भयो भने पनि भोलिका दिनमा त्यसमा फाइभजी चलाउन पाउनु हुन्छ भन्ने कुराको कुनै ग्यारेन्टी छैन । अनि अर्को कुरा जब बजारमा नेपाल टेलिकम र एनसेल जस्ता कम्पनीहरूले फाइभजी सेवा सार्वजनिक गर्छन्, तब धेरै प्रयोगकर्ता फाइभजी स्मार्टफोन खरिद गर्न तम्सिनेछन् ।
यस्तोमा बजारमा स्मार्टफोन निर्माताहरूबीच चर्को प्रतिस्पर्धा हुनेछ र फाइभजी स्मार्टफोन निकै सस्तो मूल्यमै खरिद गर्न पाइनेछ । त्यसैले स्मार्टफोन खरिद गर्दा अहिले नै फाइभजी स्मार्टफोनको पछि कुद्ने कुराको त्यति साह्रो औचित्य नहुन सक्छ ।