close

गोप्य ब्राउजिङका लागि उपयुक्त ३ विकल्प, तपाईं कुन प्रयोग गर्नुहुन्छ ?

टेकपाना टेकपाना

जेठ २८, २०७९ १६:४

गोप्य ब्राउजिङका लागि उपयुक्त ३ विकल्प, तपाईं कुन प्रयोग गर्नुहुन्छ ?

काठमाडौं । इन्टरनेट प्रयोगकर्तामाझ सबैभन्दा प्रचलित ब्राउजर हो, गुगल क्रोम । प्रयोगकर्ताको गोपनीयताका लागि भन्दै गुगलले क्रोममा इन्कग्निटो मोड पनि उपलब्ध गराएको छ । अरू फिचर पनि बेलाबेला ल्याउने गर्छ ।

यद्यपि पछिल्लाे केही समयमा गुगलले उसको ब्राउजर गोप्य नभएको आरोप खेप्दै आइरहेको छ । बजारमा प्रयोगमा भएका विभिन्न ब्राउजरहरूले प्रयोगकर्ताको गोपनीयताका लागि विभिन्न फिचर थप गर्दै गइरहेको छन् । तर क्रोममाथि पछिल्लो समय निकै प्रश्न उठ्न थालेको छ ।

यहाँ केही ब्राउजरहरूको बारेमा उल्लेख गरिएको छ, जसले प्राइभेट ब्राउजिङ सेवालाई सुधार गर्दै गइरहेको छ । यी ब्राउजरहरू प्राइभेट ब्राउजिङका लागि उपयुक्त पनि रहेका छन् ।    

ब्रेभ 

गोप्य ब्राउजिङको रुपमा निकै नै प्रचलनमा रहेको ब्राउजर हो, ब्रेभ । यो क्रोमियम-आधारित ब्राउजर हो, जसले डिफल्ट रुपमा विज्ञापनहरू, फिंगरप्रिन्ट प्रयोग गर्ने र विज्ञापनको ट्रायकरहरूलाई रोक्छ ।

यसको अर्थ हो प्रयोगकर्ताले कुनै पनि विज्ञापनबिना यो ब्राउजर प्रयोग गर्न सक्छन् ।

ब्रेभका हाल मासिक पाँच करोड सक्रिय प्रयोगकर्ता छन् । क्रोमको ३.३ अर्ब सक्रिय प्रयोगकर्ताको तुलनामा यो निकै कम हो । यद्यपि पछिल्ला दिनहरूमा प्रयोगकर्ता ब्रेभतिर आकर्षित हुने क्रम बढेको छ ।

ब्रेभले थर्ड पार्टी विज्ञापन ट्रयाकरलाई पनि रोक्ने काम गर्छ भने यसले कुकिज र फिंगरप्रिन्टलाई पनि रोक्न सक्छ । यसका लागि प्रयोगकर्ताले ब्रेभको सेटिङमा गएर आफ्नो अनुकूलता अनुसार सेटिङ मिलाउन सक्छन् । विज्ञापनरहित भएकै कारण यो अन्य ब्राउजरभन्दा छिटो चल्छ । 

मोजिल्ला फायरफक्स 

मोजिल्लामा फायरफक्समा पनि ब्रेभमा जस्तै ट्रयाकिङ प्रणालीमा रोक छ । हुन त पछिल्लो समयमा फायरफक्सको सक्रिय प्रयोगकर्ताको संख्या घट्ने क्रममा छ ।

एक वर्ष २५ करोड प्रयोगकर्ता भएको ब्राउजरको हाल सक्रिय प्रयोगकर्ता २२ करोडमात्र छन् । यद्यपि प्रयोगकर्ताको गोपनीयताको लागि भने यो ब्राउजरले नियमित रुपमा सुधार गर्दै आएको छ ।

यो ब्राउजरले सामाजिक सञ्जालले गर्ने ट्रयाकिङ, क्रससाइटहरूमा हुने ट्रयाकिङ लगायत प्राइभेट विन्डोहरूमा हुने ट्रयाकिङहरूमा रोक लगाएको छ । यसले विशेषगरी मोबाइललाई केन्द्रमा राखेर गोपनीयताको सुरक्षा गरेको छ ।

फायरफक्सको आईओएस र एन्ड्रोइड दुवै भर्सनमा बिल्ट इन रुपमा विज्ञापन ब्लक गरिएको छ । यसैले पनि फायरफक्स गोपनीयताको लागि सबैभन्दा सुरक्षित ब्राउजरको रुपमा परिचित छ ।  

डकडकगो 

गोपनीयताको सुरक्षाको हिसाबले डकडकगो उत्कृष्ट सर्च इन्जिनको रुपमा परिचित छ । प्रत्येक दिन यो सर्च इन्जिनमा १० करोड जिज्ञासाहरू खोजिने गरिन्छ । प्रयोगकर्ताको गोपनीयतामा आधारित सर्च इन्जिन डकडकगोको १० करोड प्रयोगकर्ता छन् ।

क्रोम, फायरफक्स वा एजको तुलनामा यसको प्रयोगकर्ता संख्या कम भएपनि यीनै ब्राउजरहरूमा प्रयोग गर्नको लागि डकडकगोको प्राइभेसी इसेन्सियल एक्सटेन्सन ४० लाख प्रयोगकर्ताले इन्स्टल गरेको रिपोर्ट छ ।

डकडकगोको राम्रो पक्ष भनेको यसले प्रयोगकर्ताको डेटा संकलन गर्दैन । तर प्रयोगकर्ताको डेटा संकलन गर्ने सर्च इन्जिनले जस्तै सेवा भने दिन्छ ।

अनलाइन सर्च हिस्ट्री ट्रयाक नगर्ने हुनाले डकडकगो पछिल्लो एक वर्षमात्रै पाँच करोडपटक डाउनलोड भएको छ । यसले प्रयोगकर्तालाई विज्ञापनको निशाना बन्न दिँदैन ।

सर्च हिस्ट्रीमा आधारित भई यसले रिजल्ट देखाउँदैन । यहाँ तपाईंले आफ्नो सर्चमा आधारित एकदमै कम विज्ञापनमात्रै देख्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६