close

अब मोबाइलको लक स्क्रिनमा पनि विज्ञापन ! 

टेकपाना टेकपाना

साउन ३, २०७९ २१:२६

अब मोबाइलको लक स्क्रिनमा पनि विज्ञापन ! 

काठमाडौं । विज्ञापन समय समयमा विभिन्न स्वरूपमा परिमार्जित हुँदै गइरहेको छ । प्रायः प्रयोगकर्ता विज्ञापनलाई वेबसाइटमा भरिभराउ देखिने अव्यवस्थित ब्यानर भनेर बुझ्ने गर्छन् । जसले गर्दा उनीहरू मुख्य कन्टेन्ट हेर्नबाट वञ्चित भइरहेका हुन्छन् ।

इन्टरनेट अर्थव्यवस्था वेबसाइटमा मात्र सीमित नभई विभिन्न माध्यममार्फत अघि बढ्दै गएपछि विज्ञापन एपमा समेत देखिन थाल्यो । संयुक्त राज्य अमेरिकामा नयाँ सुरुवातसँगै एन्ड्रोइडको लक स्क्रिनमा स्पोन्सर्ड सामग्री (विज्ञापन) राख्ने ठाउँका रूपमा हेरिएको छ ।

अमेरिकामा गुगलले विज्ञापन कम्पनी ग्लेन्सलाई अनुमोदन गरेको छ । प्रविधि न्युज पोर्टल टेकक्रन्चका अनुसार यो कम्पनीले विभिन्न अमेरिकी कम्पनीसँग साझेदारी गरेर प्रयोगकर्ताको लक स्क्रिनमा विज्ञापन पुर्‍याउने योजना बनाइरहेको छ ।

ग्लेन्सले विज्ञापन वितरण गर्ने बाहेक डायनामिक लक स्क्रिनका साथै अन्तरक्रियात्मक कन्टेन्ट र न्युज फिड उपलब्ध गराउँदै आएको छ । भन्नुको अर्थ यो कम्पनीले विज्ञापनका लागि ठाउँ उपलब्ध गराउँदै आएको छ ।

एप्पलले आईओएस १६ मा कस्टमाइजेसन फिचरहरू ल्याउन लागेसँगै स्मार्टफोन सफ्टवेयरमा लक स्क्रिन ठूलो कुरा हो भन्ने अनुभूति दिलाएको छ । रिपोर्टअनुसार इन्टरनेट कम्पनी एटीएण्डटी (AT&T) र भेरिजोन (Verizon) ले आफ्नो फोनको लक स्क्रिनमा यो सेवा ल्याउने प्रयास गरिरहेका छन् ।

अमेरिकाका अधिकांश प्रयोगकर्ताले मोबाइल सेवा प्रदायकबाट सब्स्क्रिप्सनको रूपमा फोन खरिद गर्दछन् । त्यसैले पनि सेवा प्रदायकले लिएको निर्णय आत्मसात् गर्न प्रयोगकर्ता बाध्य हुने ठानिएको छ । 

एसियाली मुलुकहरूमा ग्लेन्सले स्मार्टफोन उत्पादकसँग फरक दृष्टिकोणले काम गरिरहेको छ । किनभने यस क्षेत्रका प्रयोगकर्ता सेवा प्रदायकबाट भन्दा स्मार्टफोन कम्पनी मार्फत फोन खरिद गर्दछन् ।

अवश्य पनि केही समयका लागि लक स्क्रिनमा आउने विज्ञापन अपरिहार्य जस्तै हुनेछन् । लक स्क्रिनमा आउने नोटिफिकेसन हटाउन मिल्ने किसिमका हुन्छन् । तर, ग्लेन्सले यस्तो ट्रेन्ड ल्याउन लागेको छ,  जसले लक स्क्रिनबाट विज्ञापन हटाउन गाह्रो बनाउन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३