काठमाडौं । तपाईंले दैनिक प्रयोग गरिरहेका इमोजीका बारेमा खासै सोच्नुभएको छैन होला । अनलाइनमा गरिने हरेक च्याटलाई आकर्षक बनाउने यी इमोजी कसरी विकास गरिएका होलान् ? यसका पछाडि थुप्रै कथा जोडिएका छन् । आज हामी इमोजी आउनुका पछाडिको कथा यहाँ राख्दैछौं ।
जमैकाका संगीतविज्ञ एन्ड्रियु टोश भन्छन्, ‘संसारलाई सुतेको मानसिकताबाट माथि उठाउन मेरो बाबाको सन्देशयुक्त संगीतले ठूलो भूमिका खेलेकाे छ ।’
उनका बाबु पिटर टोश सन् १९६० दशकको ‘द वाइलेयर्स’ ब्याण्डका एक सदस्य थिए, जसमा बब मार्ली र बन्नी वाइलेर अन्य दुई सदस्य थिए ।
सन् १९८० को दशकतिर भएको भयानक आक्रमणमा परी पिटर टोशको निधन भयो । उनी संसारबाट विलीन भएपनि उनले राजनीति र संगीत क्षेत्रमा दिएको योगदान अमर रहेको छ ।
यदि तपाईंले आफ्नो फोनमा कीबोर्डको इमोजी सेक्सनमा गई ‘लेभिटेटिङ (Levitating)’ अप्सन छान्नुभयो भने त्यहाँ ह्याट र कालो कोट लगाएको इमोजी देख्न सक्नुहुन्छ । त्यो इमोजी पिटर टोशको हो ।
पिटर टोशको देहान्तपछि उनको सम्पत्ति उनकी छोरी नियाम्बे म्याकइन्टोसले हेरिरहेकी छन् । उनले आफ्ना बाबुको विरासत न्याय र मानव अधिकारको पक्षमा भएको भन्दै आफूले बाबुको कामलाई निरन्तरता दिनु गर्वको कुरा रहेको बताएकी छन् ।
आफ्ना बाबु इमोजीमार्फत अमर भएको थाहा पाउँदा उनी दङ्ग छिन् ।
पिटर टोशका छोरा एन्ड्रियु भन्छन्, ‘मलाई धेरै कुरा थाहा छैन । त्यो इमोजी बब मार्ली, बन्नी र मेरो बाबामा आधारित हो भन्नेचाहिँ थाहा छ । बाबा उहाँहरूभन्दा अग्लो हुनुहुन्थ्यो ।’
पिटर टाेशका छाेरा एन्ड्र्यु
पछि त्यो इमोजी आफ्नै बाबाको हो भनेर थाहा पाउँदा उनी दङ्ग परेका थिए । आखिर रेगे (जमैकामा सन् १९६० को दशकमा सुरु भएको संगीत विधा) का यति चर्चित व्यक्ति कसरी इमोजीका रूपमा देखिए ?
वेबडिङको इतिहास
यो एउटा त्यस्तो कथा हो, जसले हामीलाई किंगस्टोन जमैकाबाट संयुक्त राज्य अमेरिकामा पुर्याउँछ । विशेषतः १९९० को दशकको माइक्रोसफ्टको हेडक्वाटरमा पुर्याउँछ । त्यो समयमा पीसी (Personal Computer) को क्रान्ति सुरु हुँदै थियो ।
टाइपोग्राफर (फन्ट तयार पार्ने व्यक्ति) भिनसेन्ट कोन्नेयर (Vincent Connaire) नयाँ फन्टमा काम गरिरहेका थिए । फन्टका विभिन्न स्क्रिप्टमध्ये उनले तयार पारेको एउटा स्क्रिप्ट हो, वेबडिङ ।
वेबडिङ, तस्वीरमा आधारित फन्ट हो, जुन त्यसबेला विभिन्न वेबपेजमा प्रयोग गरिन्थ्यो । कोन्नेयर सङ्गीतका फ्यान थिए । विशेषगरी उनी स्का (Ska) का ठूला फ्यान थिए ।
उनलाई मनपर्ने व्याण्ड ‘स्का रिभाइभल द स्पेसल’ थियो । उनीहरूको ‘एल्बम टु टोन’ रेकर्ड्सको लोगो वायलियर्सको पहिलेको फोटोमा आधारित थियो ।
सो फोटोमा पिटर टोश बब मार्लीको पछाडि कालो चस्मा, बो टाइ र कालो सुट लगाएर उभिएका छन् । एल्बम टु टोन रेकर्डका डिजाइनर यही फोटोबाट प्रभावित भएका थिए ।
यो फोटो त्यही लोगो थियो, जुन कोन्नेयरले दुई दशकपछि वेबडिङ्समा प्रयोग गरेका थिए । उनले बनाएको सो इमोजीमा शुट लगाएको मान्छे कुदिरहेको जस्तो देखिन्छ, जुन पिटरका फ्यानमाझ परिचित थियो ।
त्यसको केही वर्षपछि थुप्रै वेबडिङ संकेतहरू इमोजीका रूपमा इनकोड गरियो । त्यसपछि हरेक स्मार्टफोनमा इमोजीहरू सार्वजनिक गरियो । कान्नेयरले अन्य थुप्रै संकेत निर्माण गरेका थिए ।
‘हामीले हाम्रो वरपर जे देख्यौं, त्यही नै चित्रका रूपमा कोर्यौं’ उनले आफ्ना डिजाइनले सिर्जना गरेको विरासत सम्झिँदै भने ।
उनले विकास गरेका थुप्रै इमोजी उनीसँगै जोडिएका छन् ।
उनले भने अनुसार हिमालको संकेतका रूपमा रहेको इमोजी उनी माउन्ट रेइनियरबाट प्रभावित भएर निर्माण गरेका थिए ।
इमोजीको सम्झना
सिलिकन भ्यालीमा आधारित युनिकोड ग्रुपले इमोजीलाई आधिकारिक रूपमा स्वीकार गरेर समावेश गरेको थियो ।
यियिङ लु र उनी जस्ता थुप्रैका डिजाइनहरू इमोजीका रूपमा समावेश भएका छन् ।
लु साङ्घाईमा जन्मेकी डिजाइनर हुन्, जसका थुप्रै प्रस्ताव आधिकारिक कीबोर्डमा समावेश भए ।
डम्पलिङ (मःम), चपस्टिक, कुकिज, बक्स र अमेरिकास्थित चिनियाँ महिलाको परिचय झुल्काउने थुप्रै कुराहरू समावेश छन् ।
उनी विभिन्न सङ्केतको अर्थ पत्ता लगाउने कुरामा सौखिन थिइन् । त्यस्तै मानिसहरूको सांस्कृतिक पहिचानलाई झुल्काउने थुप्रै इमोजीहरू आधिकारिक कीबोर्डमा समावेश छन् ।