close

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कको नौ महिनाकै कमाइ झन्डै ७ अर्ब रुपैयाँ

टेकपाना टेकपाना

भदौ २, २०७९ १९:२१

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कको नौ महिनाकै कमाइ झन्डै ७ अर्ब रुपैयाँ

काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नौ महिनामै झण्डै सात अर्ब रुपैयाँ आम्दानी गरेको छ । रेटिङ एजेन्सी ‘केयर रेटिङ्स नेपाल’ ले भर्खरै जारी गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२१/०२२ को सुरुवाती नौ महिनामा कम्पनीले छ अर्ब ७२ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।

यस हिसाबले बाँकी तीन महिनाको अवधिमा कम्पनीको कारोबार रकम अघिल्लो वर्षको तुलनामा अझै बढी हुने अनुमान गरिएको छ ।  अघिल्लो वर्ष २०२० मा ६ अर्ब ६४ करोड ५० लाख रुपैयाँ कारोबार गरेको कम्पनीले सन् २०२१ मा सात अर्ब ९५ करोड ४० लाख रुपैयाँ कारोबार गरेको उल्लेख छ । जुन २१.५३ प्रतिशतको वृद्धि हो ।

यो अवधिमा कम्पनीको ग्राहक आधार समेत २९.९१ प्रतिशतले बढेर पाँच लाख १० हजार ७१२ पुगेको छ । यसरी हुने कारोबारमा सबैभन्दा ठूलो हिस्सा घरेलु ग्राहकतर्फ रहेको छ । प्रतिवेदन अनुसार २०२१ मा कम्पनीले कूल आम्दानीको ४१ प्रतिशत घरेलु ग्राहकबाट आर्जन गरेको थियो भने सात प्रतिशत आम्दानी कर्पोरेट ग्राहबाट थियो ।

यसका साथै सन् २०२२ मा कम्पनीको कारोबार रकम थप बढ्ने अनुमान समेत गरिएको छ । प्रतिवेदन अनुसार यो आर्थिक वर्षमा मात्रै वर्ल्डलिङ्‍कले १४० नयाँ स्थानमा आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।  

यसरी कारोबार सङ्ख्या बढेको भएपनि कम्पनीको बजार हिस्सा भने घट्दै गएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१९ मा ३७ प्रतिशत रहेको वर्ल्डलिङ्कको बजार हिस्सा सन् २०२० मा ३४ प्रतिशतमा झरेको थियो ।

२०२१/२२ को सुरुवाती नौ महिनामा बजार हिस्सा अझै खस्किएर ३१ प्रतिशतमा सीमित भएको देखिन्छ । यसका पछाडि इन्टरनेट सेवाप्रदायकबीच बढ्दो प्रतिस्पर्धा र ठूला दूरसञ्चार कम्पनीले समेत समान व्यवसायमा प्रवेश गर्नुलाई कारणको रूपमा हेरिएको छ । 

केयर रेटिङ्स नेपालका अनुसार नेपालभरको इन्टरनेट ब्यान्डविथमा वर्ल्डलिङ्कले मात्रै ४० प्रतिशत हिस्सा ओगट्छ । सन् २०२१ मा फाइबरतर्फ कम्पनीको बजार हिस्सा ३६ प्रतिशत रहेको थियो ।

यो प्रतिवेदनले कम्पनी पाँच अर्ब १९ करोड १५ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि योग्य रहेको जनाएको छ । कर्जा लिने तयारीमा रहेको कम्पनीले केयर रेटिङ्समार्फत त्यसका लागि आफ्नो स्थितिको पुनर्पुष्टि गराएको हो । 

जसमा दुई अर्ब १८ करोड १५ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले एनपी ए रेटिङ पाएको छ भने, अल्पकालीन कर्जाको रूपमा तीन अर्ब एक करोड रुपैयाँका लागि एनपी ए टु प्लस रेटिङ केयर रेटिङ प्राप्त गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४